सरकार र जेनजी आन्दोलनकारीबीच हस्ताक्षर गर्ने एक पूर्व उपसचिव मेलम्ची खानेपानी आयोजनको भ्रष्टचार प्रकरणमा जोडिएको पाइएको छ ।
मेलम्ची खानेपानी आयोजना भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाई दिएका खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर , रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेल, जेनजी आन्दोलनकारीको तर्फबाट हस्ताक्षर गर्ने भोजविक्रम थापा लगायत १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुनरावेदनमा गएपछि यो तथ्य बाहिर आएको हो ।
फैसला पुनरावलोकनका लागि आइतबार सर्वोच्चमा गरिएको पुनरावेदनमा हालैमात्र जेनजी शहिद परिवारको तर्फबाट सरकार तथा जेनजी आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेका थापालाई पनि विपक्षी बनाइएको छ । उनी आफैले आफैलाई जेनजीको तर्फबाट खानेपानी मन्त्रीको रुपमा समेत प्रस्तुत गर्दै आएका थिए ।
उनी मेलम्ची भ्रष्टाचार प्रकरणमा जोडिएका तत्कालीन उपसचिव हुन् । उनको परिवारका सदस्य जेनजी आन्दोलनमा कोही परेका थिएनन् । तर उनी शहीद परिवारको प्रतिनिधिका रूपमा प्रधानमन्त्रीसँग हस्ताक्षरकर्ता बनेका थिए ।
जेन–जी आन्दोलनका क्रममा २३ भदौमा नयाँ बानेश्वरमा प्रहरीको गोलीबाट मारिएका ईश्वतबहादुर अधिकारीको थापाको आफन्त भएको दावी गरिएको छ। उनले ईश्वत आफ्नै संरक्षणमा रहेको बताउदै आएका थिए । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनामा ईश्वतको पुख्र्यौली घर तनहुँको भानु र पछिल्लो ठेगाना काठमाडौं–११ उल्लेख गरिएको छ। मेलम्ची आयोजना भ्रष्टाचारमा अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पौने ७ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ ९५ पैसा बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो। विशेषले सफाइ दिएपछि आइतबार अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
प्रकाशित: २८ मंसिर २०८२ २०:२८ आइतबार





