४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

आशिका भन्छिन्- सभापतिदेखि सदस्यसम्म पुरुष नै पुरुष, महिला उठ्दा किन अङ्कुश ?

सामाजिक अभियन्ता आशिका तामाङले आफ्नो उम्मेदवारी घोषणापछि आएका आलोचनाहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले समाजले महिलाको नेतृत्व स्वीकार गर्न नसकेको र अङ्कुश लगाउन खोजेको टिप्पणी गरेकी हुन्।

काठमाडौं क्षेत्र नम्बर-२ बाट आगामी संसदीय निर्वाचन लड्ने सङ्केत गरेसँगै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको सन्दर्भमा तामाङको यो भनाइ सार्वजनिक भएको हो।

तामाङले सामाजिक सञ्जालमा नेपाली समाज र राजनीतिमा व्याप्त पितृसत्तात्मक सोच भन्दै प्रश्न उठाएकी छिन्।

उनले जतिसुकै दुःख, कष्ट र त्याग गरे पनि समाजले महिलालाई स्वतन्त्र नेतृत्वका रूपमा भन्दा पनि पुरुषको सहयोगीका रूपमा मात्र हेर्न रुचाएको गुनासो गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘यो समाजले सधैंभरि नारीहरूलाई पुरुषको वरिपरि आरती बोकेर घुमेको मात्र हेर्न चाहन्छ। अन्तिममा पुज्ने भनेको हप्ता दिनमा एकपल्ट उठेर हाइ काट्ने पुरुषलाई नै हो।’

राजनीतिक दलका प्रमुख पदहरूमा पुरुषहरूकै हालिमुहाली रहेको उल्लेख गर्दै उनले थपेकी छिन्, ‘सभापति पुरुष, उपसभापति पुरुष, केन्द्रीय सदस्य पुरुष, पदाधिकारी पुरुष, अध्यक्ष पुरुष, उपाध्यक्ष पुरुष; अनि एउटा महिला नेपालभरिको मुद्दा बोकेर सांसदमा आवाज उठाउँछु भन्दा किन लगाउन खोज्ने अङ्कुश ?’

शुक्रबार मात्रै तामाङले काठमाडौं क्षेत्र नम्बर-२ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

सोही क्षेत्रबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उठ्ने सम्भावना छ। बालेन उठ्ने चर्चासँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आशिकाको आलोचना सुरु गरेका थिए।

बालेनका समर्थकहरूले उनलाई भोट काट्न खोजेको आरोप लगाउँदै कमेन्ट गरेपछि उनले सो आक्रोश व्यक्त गरेको बुझिएको छ।

यसअघि शुक्रबार उनले लामो आत्ममन्थन र विशेष गरी जेन-जीसँगको छलफलपछि दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको बताएकी थिइन्।

उनले भनेकी थिइन्, ‘विशेष गरी जेन-जीका भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेको हुँ।’

आफ्नो उम्मेदवारी व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई जवाफदेही राजनीति, पारदर्शिता र भ्रष्टाचारविरुद्धको लडाइँका लागि भएको उनको दाबी छ।

प्रकाशित: २६ पुस २०८२ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App