३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

राजनीतिले निकास नदिँदा कलाकार र खेलाडी राजनीतिमा आउन बाध्य भए: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिले निकास दिन नसक्दा र देशमा निराशा छाएपछि कलाकार, पत्रकार र खेलाडी राजनीतिमा आउन बाध्य भएको बताएका छन्।

मंगलबार काठमाडौंको बिग मुभिजमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले यस्तो बताएका हुन्।

रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकारहरूलाई प्राथमिकता दिएको विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले राजनीति गर्नेहरूले देशको भविष्यमाथि खेलबाड गरेकाले अन्य क्षेत्रका मानिसहरू राजनीतिमा होमिनुपरेको तर्क गरे।

सभापति लामिछानेले भने, ‘जब राजनीतिले निकास दिन सक्दैन, जब राजनीति गर्छु भनेर वर्षौं बिताएकाहरूले देशमा निराशा मात्र फैलाउँछन्, तब कलाकार, पत्रकार र खेलाडी सबै राजनीतिमा आउँछन्। नेपाल अहिले त्यही मोडमा छ।’

उनले थपे, ‘हामीले विश्वास गरेर आफ्नो सम्पूर्ण भविष्य सुम्पेका थियौं, तर उनीहरूले हाम्रो भविष्यमाथि खेलबाड गरे। त्यो खेलबाड सहन नसकेर नै कलाकारहरू राजनीतिमा आएका हुन्। उनीहरूलाई राजनीतिमा रहर लागेको होइन, तर मुलुकप्रतिको उत्तरदायित्व पूरा गर्न यो चरणमा प्रवेश गरेका हुन्।’

उनले चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को सन्देश वर्तमान राजनीतिक परिवेशसँग मेल खाने भन्दै सबैलाई हेर्न समेत सिफारिस गरे।

प्रकाशित: १५ पुस २०८२ १८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App