२७ वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण तयारी भइरहेकै हो त?

नयाँ सरकार बनेको एक महिना पनि पूरा भएको छैन। सरकारले मुलुकभित्र गर्नुपर्ने धेरै काम छन्। सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सरकारी संयन्त्रहरूको परिचालनमा ध्यान केन्द्रित भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण कुन देशबाट होला भन्ने कौतूहलतासँगै केही चर्चा पनि हुन थालेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएपछि यस्तो चचा भइरहेको हो।

नेपाल सरकारले भने भ्रमणबारे औपचारिक जानकारी दिइसकेको छैन। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिइसकेको र प्रधानमन्त्री शाहले त्यो स्वीकार गरिसकेको अवस्थामा भ्रमणको चर्चा हुनु पनि स्वाभाविक हो।

नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आएको बताएका थिए। भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ थियो। ‘अहिले कुन मितिमा जाने, कहिले जाने, कसरी जाने भन्ने तय भएको अवस्था होइन । निम्तो आएको हो। दुई देशबिच उच्चस्तरीय राजनीतिक भ्रमणहरू हुनु अत्यन्त स्वाभाविक हो,’ परराष्ट्रमन्त्री खनालले विमानस्थलमा भनेका थिए।

उनको यस्तो भनाइसँगै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गरिरहेको आकलन गरिएको हो तर भारत भ्रमणको मिति तय भइनसकेको र भारतबाट विदेश सचिव नेपाल भ्रमणमा नआएको अवस्थामा अहिले नै भ्रमण भइहाल्ने चर्चामा विश्वास गर्ने आधार भने छैन। प्रधानमन्त्री शाहको सचिवालय वा प्रधानमन्त्री कार्यालयबाट पनि कुनै धारणा बाहिर आएको छैन।

विमानस्थलमा मन्त्री खनालले भारतीय विदेशमन्त्रीसँग भएको संवादबारे जानकारी दिँदै उनले उच्चस्तरीय भ्रमणका लागि सरकारले पहिले आफ्नो प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका थिए। त्यसका लागि अहिले नेपाल र भारतबिच रहेका संयन्त्रहरूले सक्रियताका साथ काम गरिरहेको उनले जानकारी दिएका थिए।

भारतसँग ४० वटाभन्दा बढी संयन्त्र रहेको र ती संयन्त्रहरू सक्रिय हुनुपर्ने उनको धारणा थियो तर ती संयन्त्र के–के हुन् भन्ने विषयमा परराष्ट्रमन्त्रीले केही खुलाएनन्। परराष्ट्रमन्त्री खनालले मौरिससमै गत शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। त्यतिबेला प्रधानमन्त्रीको भारत भ्रमण र आपसी हितको विषयमा कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणका लागि निम्तो आए पनि परराष्ट्र मन्त्रालयले भने सो विषयमा केही जानकारी गराएको छैन। मन्त्रालयले प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि कुनै तयारी पनि नगरेको स्रोतको दाबी छ। यो विषयमा जानकारी लिन खोज्दा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीसँग सम्पर्क हुन सकेन। परराष्ट्र स्रोतका अनुसार अहिलेसम्म दुई देशका संयन्त्रहरू सक्रिय भइसकेका छैनन्। ‘प्रधानमन्त्रीको भ्रमण हुन दुई देशका सरकारी संयन्त्रहरू सक्रिय हुनुपर्छ। अजेन्डाहरूको विषयमा छलफल हुनुपर्छ। त्यसपछि मात्रै आन्तरिक तयारीहरू हुन्छन्,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले निम्तो मात्र आएको हो। यसका संयन्त्रहरू सक्रिय भएका छैनन्।’

केही वर्षयता नेपालका प्रधानमन्त्रीले भारतको भ्रमण गरेका छैनन्। तीन वर्षअघि पुष्पकमल दाहालले भारत भ्रमण गरेका थिए। दाहालले २०८० जेठ १७ देखि २० गतेसम्म चार दिने भारत भ्रमण गरेका थिए। त्यसपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओली भारत भ्रमणमा नगई सत्ताच्यूत भए। ओलीको २०८२ भदौ ३१ देखि भारत भ्रमणको मिति तय भइसकेको अवस्थामा सरकार ढलेको थियो। त्यसपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरेकी सुशीला कार्की भारत भ्रमण नगरी बिदा भएकी थिइन्।

प्रकाशित: २ वैशाख २०८३ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App