सरकारले षडयन्त्रपूर्वक आफ्ना नेताहरुलाई कार्यक्रममा सहभागी हुन नदिएको भन्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ। अनेरास्ववियुले बिहीबार साँझ नयाँबानेश्वरमा जुलुस निकालेको हो।
आफ्नो माउपार्टी एमालेका नेतालाई पूर्वघोषित कार्यक्रममा सहभागी हुन नदिन विभिन्न षडयन्त्र गरेकाले विरोधमा मसाल जुलुस निकालेको अनेरास्ववियु अध्यक्ष दीपक धामीले जानकारी दिए।
मधेसमा हुने कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितका नेताहरु बारा जान लाग्दा जेनजी युवाहरुले विमानस्थलमा नै प्रदर्शन गरेपछि दुईदिनयता सिमरा तनावपूर्ण छ।
सरकार असंवैधानिक भएको बताउँदै अध्यक्ष धामीले संविधानले कल्पना गरेको दलीय व्यवस्था माथि नै प्रहार भएको दाबी गरेका छन्। हस्तक्षेपकारी नीति सरकारले तत्काल अन्त्य नगरे आन्दोलनका थप कार्यक्रम ल्याउने उनको चेतावनी छ।
प्रकाशित: ४ मंसिर २०८२ १९:०५ बिहीबार





