३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

अनि महावीरले भने- यो कुरा सुधार्नुस्, मैले तपाईंहरुलाई दिएको सराप फिर्ता लिन्छु

स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान र प्रविधिलाई उपेक्षा गरेको भन्दै आक्रोश पोखेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पुनले विज्ञान र अनुसन्धानका क्षेत्रमा बजेट र प्राथमिकता नबढाइए आफूले दिएको ‘सराप’ कायम रहने चेतावनी दिएका हुन्।

सांसद पुनले ४६ पृष्ठ लामो सरकारको नीति तथा कार्यक्रममा विज्ञान भन्ने शब्द कतै पनि उल्लेख नभएकोमा आश्चर्य व्यक्त गरे।

उनले भने, ‘मैले हिजो बेलुका आवेशमा आएर फेसबुकमा सबै नेताहरूलाई सराप दिएको थिएँ। कसैको पनि दिमागमा विज्ञान र अनुसन्धान भन्ने कुरा नपसोस् भनेर त्यो रिस व्यक्त गरेको हुँ। तर यदि सरकारले यसलाई सुधार्छ भने म आफ्नो सराप फिर्ता लिन तयार छु।’

सम्बोधनका क्रममा उनले नयाँ र युवा नेतृत्वबाट धेरै अपेक्षा गरिए पनि विज्ञान र प्रविधिका क्षेत्रमा भने पुरानै प्रवृत्तिको निरन्तरता देखिएको सुनाए।

उनले भने, ‘पुराना नेताहरूको त उमेरका कारण दिमागले भेटेन होला, तर अहिलेको युवा नेतृत्वले पनि विज्ञानको महत्व नबुझ्नु विडम्बना हो। विज्ञानबिना कुनै पनि देशको अर्थतन्त्र बलियो हुन सक्दैन भन्ने कुरा संसारले पुष्टि गरिसकेको छ।’

सांसद पुनले अनुसन्धान र नवप्रवर्तनका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा १ प्रतिशत बजेट छुट्याउनुपर्ने माग गरे। जीडीपीको नभए पनि कम्तीमा पूँजीगत खर्चको १ प्रतिशत बजेट यसपटकको बजेटमा अनिवार्य रूपमा आउनुपर्ने उनको अडान थियो।

‘नवप्रवर्तनका लागि कोष बनाउने अध्यादेश मैले मन्त्री हुँदा नै ल्याउन खोजेको थिएँ, तर अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन।’

सरकारले विज्ञान प्रविधि मन्त्रालयको साटो ‘प्राधिकरण’ बनाएर काम चलाउन खोजेकोमा उनले आपत्ति जनाए। खर्च बढ्ने बहानामा मन्त्रालय नखोलिनु गलत भएको तर्क गर्दै उनले भने,  ‘दुई-चार अर्ब खर्च हुने डरले प्राधिकरण बनाउने होइन, एउटा छुट्टै र शक्तिशाली विज्ञान प्रविधि मन्त्रालय नै चाहिन्छ। इन्जिन विनाको चिल्लो गाडीले गन्तव्यमा पुर्‍याउन सक्दैन, विज्ञान नै देशको विकासको इन्जिन हो।’

संसदमा स्वतन्त्र सांसदहरूलाई बोल्नका लागि कम समय दिइएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘म एक्लो सांसद हुँला, तर मेरो साथमा सारा नेपाली जनता छन्। दलका सांसदहरूलाई ३० मिनेट दिँदा मलाई ५ मिनेट मात्रै दिइनु न्यायसंगत छैन। मेरो समर्थकहरू कति छन् भन्ने कुरा बुझ्न मन छ भने बाहिर गएर जनमत लिए हुन्छ।’

सांसद पुनले सुकुम्वासी बस्ती हटाउने क्रममा डोजर आतंक मच्चाइएको भन्दै सरकारको आलोचना गरे। मानवीय संवेदनालाई कुल्चिएर गरिने विकासले शान्ति सुरक्षा कायम गर्न नसक्ने उनको भनाइ थियो।

उनले भने, ‘हरेक प्राणीलाई बासस्थान प्यारो हुन्छ। बासस्थानको उचित व्यवस्थापन नगरी डोजर चलाउनु मानवता विरुद्धको कार्य हो।’

उनले आफ्नो कार्यकालमा हरेक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गर्न खोजेको तर बजेटको अभाव देखाइएकोमा पनि गुनासो गरे।

उनले छिमेकी मुलुकहरू विकासमा धेरै अगाडि पुगिसक्दा पनि नेपाल पुरानै ढर्रामा अल्झिरहनु दुखद भएको बताउँदै इमानदारिताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘हामी इमानदार बनौं, मौकामा चौका हान्ने प्रवृत्ति त्यागौं। बजेटमा विज्ञान र अनुसन्धानलाई समेट्नुस्, मेरो समर्थन रहन्छ।’

प्रकाशित: २९ वैशाख २०८३ १६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App