१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

‘संसद् र दलमा खुला मञ्च चाहिन्छ’

नेपाली कांग्रेसका सभापति गगन थापाले संसद् र राजनीतिक दलभित्रै पनि खुलामञ्च आवश्यक रहेको बताएका छन्। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प, सम्मुन्नत नेपालीका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित काठमाडौंको खुला मञ्चमा आइतबार सुरु नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति नभएसम्म संसद् वास्तविक अर्थमा खुला हुन नसक्ने टिप्पणी गरे।

‘पहिलो खुलामञ्च संसद्भित्र चाहिएको छ। संसद् खुला छैन, बन्द छ,’ थापाले भने, ‘जुन सांसदले प्रधानमन्त्री बनाए, आफूलाई बनाउने र नबनाउने सांसदका अगाडि संसद्को गरिमा, व्यवस्था र जनताको सम्मानका लागि प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति नरहेको दिनसम्म संसद् खुला भएको मानिँदैन।’

उनले दलहरूभित्रको लोकतन्त्र कमजोर बन्दै गएको चर्चा गर्दै प्रश्न गर्न पाउने खुला वातावरणको चाहिएको बताए। उनले भने, ‘आफ्ना नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुलामञ्च पार्टीभित्र पनि चाहिएको छ।’

खुलामञ्चलाई नेपालको राजनीतिक स्मृतिको सार्वजनिक अभिलेखका रूपमा व्याख्या गर्दै थापाले बिपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाका ऐतिहासिक संकल्पहरू यही थलोसँग जोडिएको बताए।

२०४७ सालमा गणेशमान सिंहले यहीँबाट जनताले दिएको अधिकारको सम्मान गर्न नसके जनताले नै डाँडा कटाइदिन्छन् भनी दिएको चेतावनी स्मरण गर्दै उनले भने, ‘कांग्रेसको योगदानबिना नेपालको इतिहास अधुरो रहने छ।’

सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखे पनि देउवा सहभागी नभएको बताए। ‘केही साथीहरू रिसाउनुभएको छ। आजको कार्यक्रममा आउनुभएको छैन। तपाईंहरूलाई यहाँबाट फर्केर गइसकेपछि सोध्यो भने भन्दिनुहोला,’ उनले भने, ‘हामीले आज शेरबहादुर देउवा दाइका लागि कुर्सी खाली राखेका थियौं। उहाँले महाधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने आशा राखेका थियौं? तर आउनुभएन र अब कुनै गुनासो पनि छैन।’

महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सडक आन्दोलन वा आँधीबेहरीको धम्की दिएर सरकार ढाल्ने बाटो बन्द गर्न दलहरूलाई सुझाव दिए। ‘सरकार ढल्दैन। ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्ने छन्,’ उनले भने।

सरकार फेर्ने वैधानिक माध्यम भनेको आवधिक निर्वाचन मात्र भएको उनले बताए। पाँच वर्षमा रास्वपाले परिणाम दिन नसके डाँडा कटाइदिन बाटो खुला रहेको पनि उनले बताए। लोकतन्त्रमाथि संकट आइपरे त्यसलाई जोगाउने तागत जनतासँग मात्र रहेको लामिछानेको भनाइ थियो।

लोकतन्त्रका नाममा अनावश्यक दुहाई नदिन पनि उनले आग्रह गरे। ‘लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन् र जनताले नै जोगाउँछन्,’ उनले भने।

निर्वाचन परिणामलाई नस्विकार्ने, सुरक्षा निकाय तथा नेपाली सेनाको निष्पक्षतामाथि प्रश्न उठाउने र विदेशी चलखेलको आरोप लगाउने प्रवृत्ति अन्त्य हुने बताए।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगन थापासँग नेतृत्व गर्ने क्षमता रहेको बताएका छन्।

थापा अब पार्टीको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्नेमा उनले जोड दिए। त्यसमा आफ्नो पनि साथ र सहयोग रहने उनको भनाइ थियो। थापालाई बधाई दिँदै उनको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताए।

उनले आफूले प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए। ‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुहोला, हामी साथ दिन तयार छौं,’ दाहालले भने, ‘गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ। आज त्यही देखिरहेको छु।’

विषम राजनीतिक परिस्थितिका बिचमा थापा कांग्रेसको नेतृत्वमा आउनु आफैंमा ‘क्रमभंग’ भएको दाहालले बताए। ‘यो क्रमभंग हो। निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ,’ दाहालले भने, ‘कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेत जोडेर अघि बढ्नुहोस्।’

मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए।

यस्तै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार बने पनि जनताको असन्तुष्टि र आक्रोश उस्तै रहेको बताए। निर्वाचन भएर नयाँ उत्साहसहित सरकार बने पनि जनताको आवेगलाई विश्वासमा बदल्न नसकिएको उनको भनाइ थियो। ‘अझै पनि सामाजिक सञ्जालमा हामी एकले अर्कोलाई प्रहार गर्ने कुरामा बढी आनन्दित छौं। किन हरेक मान्छे रिसाएको छ, असन्तुष्ट छ र आक्रोशित छ ?’ उनले भने।

संविधानको परिकल्पनाअनुसार १० वर्षको अभ्यासको मूल्यांकन गर्दै संशोधन प्रक्रिया अघि बढाइए कांग्रेसले सरकारलाई साथ दिने उनको भनाइ थियो। जेनजी युवाहरूले उठाएका माग सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।

मधेस आन्दोलन २०६२/६३ को जनआन्दोलन र थरुहट आन्दोलनले उठाएका विषयलाई समेत सम्बोधन गर्नुपर्ने शर्माको भनाइ थियो। शर्माले संसदीय व्यवस्थामा सबै राजनीतिक दल र शक्तिका लागि साझा बाटो भएको बताउँदै संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको संविधान साझा दस्ताबेज र विश्वासको प्रतीक बन्दै गएको बताए।

यसैगरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादको बाटोमा अघि बढिरहेको बताएका छन्। उनले अहिलेको सरकार राजनीतिक दल, संसद् र नागरिक कसैसँग पनि संवाद गर्न तयार नरहेको दाबी गरे। ‘रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा दलहरूलाई एक ठाउँमा ल्याउन कोसिस गरिरहनुभएको छ तर सरकार भने राजनीतिक दल, संसद् र नागरिक कसैसँग पनि संवाद गर्दैन,’ कांग्रेस महाधिवेशनमा बोल्दै उनले भने।

विद्यमान चुनौतीको सामना गर्न सरकार संकल्पसमेत गर्दैन भन्दै उनले चिन्ता व्यक्त गरे। जनताको विश्वासबाट निर्वाचित प्रधानमन्त्रीले नै नागरिकका आवाज नसुन्ने स्थिति पैदा हुनु लोकतन्त्रका लागि खतरा भएको उनको भनाइ थियो।

विगतको इतिहास स्मरण गराउँदै उनले निरंकुशताविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर संघर्ष गरेको बताए। ‘हिजो जसरी वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिएर राणाशासन, पञ्चायत र राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लडेका थियौं,’ उनले भने, ‘त्यसरी नै अहिले फेरि लोकतन्त्रको भविष्य जोगाउन कांग्रेससहित सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर अघि बढ्नुपर्ने समय आएको छ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै देशलाई निकास दिन राजादेखि नयाँ पुस्तासम्म अटाउने नयाँ राष्ट्रिय समझदारी निर्माण गर्न दलहरूसँग प्रस्ताव राखेका छन्। उनले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय प्रतिस्पर्धा, २०६२/६३ को समावेशिता–समानुपातिकता तथा पछिल्लो समय जेनजीको विद्रोहको चाहनालाई एकै ठाउँमा समेटेर राजा, राजनीतिक दल र युवाहरूबिच नयाँ राजनीतिक सम्झौता हुनुपर्ने बताए।

मुलुकको समस्या व्यक्ति वा सरकार परिवर्तनले मात्र समाधान नहुने भन्दै दलहरूले उत्कृष्ट भनेको व्यवस्था र संविधानमै त्रुटिका चाङ रहेको दाबी गरे। ‘संविधान गीता, बाइबल वा कुरान होइन, यो छुनै नहुने वा चलाउनै नहुने चिज होइन,’ उनले भने, ‘हिजो तपाईंहरूले राम्रै सोचेर बनाउनुभएको होला तर आज यसमा त्रुटि नै त्रुटिका चाङहरू देखिएका छन्।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने बताए। ‘अब पाठ सिकौं। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ उनले भने।

राजनीतिक दलहरूले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पुर्‍याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताए। उनले देश विकासका लागि साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबिच प्रतिस्पर्धा हुनुपर्ने बताए। ‘त्यसको एउटा योजना बनाऔं। त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौं। त्यसो गरे मात्रै देश बन्छ,’ भट्टराईले भने।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भूराजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए। उनले वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबिच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै नयाँ पुस्ताका नेतृत्वले पनि देश बनाउने कुनै छनक नदेखाएको टिप्पणी गरेका छन्।

उनले भने, ‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे। अहिल पुरै कपाल काला भएकाले पनि देश बनाउने कुनै छनक देखाएका छैनन्।’

उनले पुराना र नयाँ दुवै अतिवादबाट देश बन्न नसक्ने भन्दै अबको आशा मध्यम पुस्तामाथि रहेको बताए। ‘अब आधाआधी कपाल फुलेका, गगनजीजस्ता १०–२० वटा दाह्री र ५०–६० वटा कपाल फुलेका नेताले देश पक्कै बनाउँछन् भन्ने मलाई विश्वास छ,’ उनले भने।

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेस लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताए। नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने, ‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौं र हे¥यौं, नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन।’

कांग्रेसका धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान दिएको उनको भनाइ थियो। राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले सहकारी ठगी र संकटग्रस्त अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरे। उनले देश एकातिर आर्थिक संकटमा परेको र अर्कातिर जलवायु परिवर्तनको सिकार भएको बताए।

भोटेकोसीका कारण १५ सयभन्दा बढी नागरिकको मृत्यु, पाँच हजारभन्दा बढी बेपत्ता तथा खर्बौंको सम्पत्ति क्षति भएकाले सबै दलहरू एकजुट हुनुपर्ने बताए। लडेर ल्याएको गणतन्त्रमाथि समेत गम्भीर खतरा पैदा भइरहेको उल्लेख गर्दै उनले त्रिचन्द्र क्याम्पसमा आफूहरूले गगन थापा र विश्वप्रकाश शर्माहरूसँग मिलेर गरेको संयुक्त आन्दोलनको स्मरण गरे।

प्रकाशित: १९ आश्विन २०८३ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App