सर्लाही क्षेत्र नम्बर-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। केहीबेरअघि सम्पन्न मतगणनाअनुसार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भारी मतान्तरले पराजित गरेका हुन्।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८ सय ३१ मतमा चित्त बुझाएका छन्। उनीहरूबीच १२ हजार ८ सय ५७ मतको फराकिलो अन्तर कायम भएको छ।
यो जितसँगै अमरेशकुमार सिंहले संसदीय निर्वाचनमा ‘ह्याट्रिक’ पूरा गरेका छन्। यता, कांग्रेस सभापति थापाको भने यो पहिलो संसदीय हार हो। २०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले यसअघि काठमाडौं क्षेत्र नम्बर-४ बाट लगातार तीन पटक जित निकालेर ह्याट्रिक गरेका थिए। यसपटक मधेस झरेर चुनाव लडेका थापाले पराजय भोग्नुपरेको छ।
यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादव ८ हजार ६ सय ५४ मतसहित तेस्रो स्थानमा रहेका छन्। त्यस्तै, जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार ३ सय ६५ र नेपाल कम्युनिस्ट पार्टीका रजनीश रायले १ हजार २ सय ५९ मत प्राप्त गरेका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ ०५:१० आइतबार




-600x400.jpg)
