प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय सेवा दल विधेयकमाथि छलफलका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सरकारले देशलाई उत्तर कोरियाको पथमा लैजान खोजेको आरोप लगाएका छन्।
बिहीबार समितिको बैठकमा बोल्दै सांसद सिंहले सरकार सैनिक शासनतर्फ अग्रसर भएको र समाजलाई अति-सैनिकीकरण गर्न खोजेको दाबी गरे। उनले प्रधानमन्त्री बालेन्द्र शाहमाथि पूर्वराजा महेन्द्रको पञ्चायती पथ पछ्याएको आरोप समेत लगाए।
‘खाडीमा युवा पठाएर राष्ट्रियताको नारा लगाउने ? महेन्द्रकालीन सोच लिएर अघि बढ्दै हुनुहुन्छ, यसरी देश अघि बढ्न सक्दैन,’ सिंहले भने, ‘सरकारी नियुक्ति मेरिटोक्रेसीमा छैन। यसको कभर लगाएर मधेसी, दलित र अल्पसङ्ख्यक समुदायलाई उपेक्षित गर्ने काम भइरहेको छ। नेपाललाई पाकिस्तान होइन, नर्थ कोरिया बनाउन खोजिँदैछ।’
उनले शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई सुदृढ गर्नुको साटो सेनाको प्रभाव बढाउन खोजिएको भन्दै विधेयकको नियतमाथि शङ्का गरे।
‘मधेसका जनताले अधिकार र सम्मानका लागि बलिदानी दिएका हुन्। तर सरकारमा मधेसी र विपन्न समुदायप्रतिको सम्वेदना नै छैन,’ सिंहले थपे, ‘युवाहरूलाई विदेश जान रोक्न र रोजगारी दिन छोडेर ५० हजारलाई ज्याकेट, बुट र पोसाक लगाइदिँदैमा राष्ट्रियता आउँदैन। यो सरकारको नियतमा नै खोट छ।’
बैठकमा अन्य सत्तापक्ष तथा प्रतिपक्षी दलका सांसदहरूले पनि विधेयक ल्याउनुको नियतमाथि प्रश्न उठाएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक भीष्मराज आङदेम्बे, नेकपा एमालेकी पद्माकुमारी अर्याल र नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल लगायतले कानुन बनाएर विद्यार्थीहरूलाई सैन्य प्रकृतिको तालिम दिन खोज्नुका पछाडि आशङ्का रहेको बताउँदै विधेयकमाथि व्यापक पुनर्विचार हुनुपर्ने माग गरे।
प्रकाशित: २१ श्रावण २०८३ १६:१३ बिहीबार





