२१ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मैले विगतदेखि उठाउँदै आएका मुद्दाहरूमा सरकारले कारबाही सुरु गरेकामा खुसी छु : सांसद सिंह

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य डा. अमरेसकुमार सिंहले सरकारको सुशासन र भ्रष्टाचारविरुद्धको कामकारबाहीप्रति समर्थन जनाएका छन्।

उनले प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएसँगै सुरु भएको भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनको अभ्यास आमजनताले महसुस गर्न थालेको बताउँदै समर्थन जनाएका हुन्। विगत केही वर्षदेखि आफूले उठाउँदै आएका मुद्दाहरूमा पनि अहिले सरकारले काम अघि बढाएकोमा उनले खुसी व्यक्त गरेका छन्।

डा. सिंहले उक्त अभियानलाई निरन्तरता दिन सरकारलाई आफ्नो पूर्ण साथ र समर्थन रहने स्पष्ट पारेका छन्। 'सरकार गठन भएसँगै समाननीय प्रधानमन्त्रीज्युको नेतृत्वमा सुरु भएको भ्रस्टाचारविरुद्धको कामकारबाही र सुशासनको अभ्यास आमजनतामा पनि पक्कै महसुस भएको छ,' उनले सामाजिक सञ्जालमा लेखे, 'मैले विगत केही वर्षदेखि उठाउँदै आएका मुद्दाहरूमा सरकार बनेसँगै कारबाही सुरु भएकोमा खुसी छु र यो अभियान निरन्तर अगाडि बढाउन सरकारलाई मेरो साथ र पूर्ण समर्थन निरन्तर रहनेछ।'

परिवर्तनका लागि सरकारले मात्र चाहेर नहुने बताउँदै उनले आम नागरिकले पनि परिवर्तनको साथ दिनु अत्ति नै आवश्यक रहेको जिकिर गरे। उनले वर्तमान समय सरकार र नेतृत्वलाई सहयोग गरेर सकारात्मक ऊर्जा प्रदान गर्ने समय भएको उल्लेख गर्दै सबैलाई यो अभियान सफल बनाउन एकजुट हुन आह्वान गरेका छन्।

'सरकारले मात्र परिवर्तन चाहेर हुँदैन, आम नागरिकले पनि परिवर्तनको साथ दिनु अत्ति नै आवश्यक छ। यो समयमा सरकार र प्रधानमन्त्रीज्युको साथमा रही यो अभियान सफल पार्न हामी सबै नेपाली लाग्नुपर्छ। यो समय नेतृत्वलाई साथ र सहयोग गरेर अगाडि बढ्न सहयोग गरौ। राम्रो कामको पक्षमा सकारात्मक ऊर्जा प्रदान गरौँ,' उनले भने।

प्रकाशित: २१ चैत्र २०८२ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App