संघीय संसद्को अधिवेशन सुरु हुनुअघि संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि उक्त बैठक आयोजना गर्न लागिएको हो।
संसद् सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्नेछ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारका अधिकारी तथा संसद् सचिवालयका पदाधिकारीहरूको सहभागिता रहनेछ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजे बस्ने तय भएको छ। उक्त बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउनेछ। साथै, दलहरूको सहमतिमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सम्भावना पनि रहेको छ।
नयाँ प्रतिनिधिसभामा ६ दलले राष्ट्रिय मान्यता पाएका छन् भने एक स्वतन्त्र सांसद निर्वाचित भएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्। श्रम संस्कृति पार्टी पहिलोपटक संसद्मा प्रवेश गर्दै पाँचौं दल बनेको छ।
प्रकाशित: १७ चैत्र २०८२ ११:२१ मंगलबार





