११ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

बाढीपहिरोपछि सर्वदलीय बैठक : उद्धारदेखि पुनर्स्थापनासम्म एकजुट भएर अघि बढ्ने प्रतिबद्धता

बुधबार आएको  विनाशकारी बाढी तथा पहिरोपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले विपद् व्यवस्थापन, उद्धार, राहत र पुनर्स्थापनाका लागि राजनीतिक दलहरूबीच सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा नेताहरूले तत्काल उद्धार तथा राहतसँगै आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन्। विपद्को विषय केही दिनपछि ओझेलमा पर्न सक्ने भन्दै यसलाई निरन्तर राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने धारणा पनि बैठकमा उठेको छ।

कांग्रेस सभापति गगन थापाले जलवायु परिवर्तन, हिमताल विस्फोट र हिमाली क्षेत्रका जोखिमलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले राजनीतिक दलहरूलाई आफ्ना संयन्त्रमार्फत राहत तथा सहयोग रकम संकलन गर्न अनुमति दिनुपर्ने धारणा राखे।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विपद्को समयमा सबै राजनीतिक दल एकजुट रहेको सन्देश जनतामाझ पुर्‍याउनुपर्ने बताए। उनले जलवायु न्यायका विषयमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सशक्त आवाज उठाउनुपर्ने र पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिए।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धारलाई थप तीव्र र समन्वित बनाउनुपर्ने तथा बेपत्ता र मृत्यु भएका व्यक्तिको पहिचान र शव खोजीका लागि विशेष कार्यदल गठन गर्नुपर्ने बताए। खानेपानी, विद्युत्, सडकलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार तत्काल पुनःस्थापना गर्नुपर्ने उनको धारणा थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्धार तथा पुननिर्माणमा हुने राजनीतिकरण अन्त्य गरी राहत, उद्धार र सहयोग वितरणमा एकद्वार प्रणाली लागू गर्नुपर्ने बताए। प्रभावित तथा विस्थापित नागरिकका लागि अस्थायी पुनर्स्थापना र पुनर्वासको काम तत्काल थाल्नुपर्नेमा पनि उनले जोड दिएका थिए।

बैठकमा सञ्चार तथा आवागमन अवरुद्ध भएका क्षेत्रमा सेवा पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने, नागढुंगा क्षेत्रमा देखिएको आवागमन समस्या समाधान गर्नुपर्ने तथा स्वयंसेवक परिचालनका लागि सरकारले औपचारिक आह्वान गर्नुपर्ने सुझावसमेत दिइएको छ।

बैठकमा सरकारका तर्फबाट बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण संकलनमा चुनौती रहेको जानकारी दिइएको थियो।  

पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता आएको जानकारी दिँदै तत्काल आर्थिक प्याकेज घोषणा तथा कार्यान्वयन गर्ने तयारीबारे पनि बैठकमा जानकारी गराइएको थियो। चीनसँगको व्यापार तथा आवागमन सहज बनाउन वैकल्पिक सीमा नाका सञ्चालनको तयारीसमेत भइरहेको बताइएको छ।

बैठकको अन्त्यमा रवि लामिछानेले विपद्को गम्भीरतालाई आत्मसात् गर्दै सहकार्यका लागि तयार सबै राजनीतिक दललाई धन्यवाद दिएका छन्। उनले विपद्सँग जुध्न साझा धारणा र प्रतिबद्धता समेटिएको संयुक्त वक्तव्य जारी गरिने जानकारी दिएका छन्।

प्रकाशित: ११ भाद्र २०८३ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App