१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

चुनाव सफल पार्न सबै दलले सरकारलाई सहयोग गर्नुपर्छ: पुन

नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्।

उनले निर्वाचन सम्पन्न गराउन आफ्नो पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अन्य दलहरूलाई पनि चुनावको पक्षमा उभिन आग्रह गर‍े।

मंगलबार भक्तपुरमा आयोजित एक चियापान कार्यक्रममा बोल्दै नेता पुनले भने, “संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन। हामी चुनावका लागि प्रतिबद्ध छौँ र अरू दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौँ।”

उनले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा आफूहरूले माओवादी पार्टी निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेको जानकारी दिए।

“प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा पनि हामी यही कुरा राख्छौँ,” उनले भने।

नेता पुनले जेन-जी आन्दोलन सही भएको तर त्यसपछिको विध्वंश घुसपैठिया समूहले गराएको आरोप लगाए। उनले शान्तिपूर्ण आन्दोलन र हिंसात्मक गतिविधि दुवैमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे।

विघटित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको पूर्ववर्ती सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएकाले जनतामा निराशा छाएको र त्यही आक्रोश जेन-जी आन्दोलनमार्फत विस्फोट भएको उनको भनाइ थियो।

पुनले सुशासनको मामिलामा माओवादी अन्य दलभन्दा फरक रहेको दाबी गर्दै विगतका सबै भ्रष्टाचार प्रकरणको छानबिनमा सघाउन आफ्नो दल तयार रहेको प्रतिबद्धत जनाए।

प्रकाशित: ४ कार्तिक २०८२ १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App