२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

आन्दोलित गोलभेँडा किसानसँग कृषिमन्त्रीले भनिन्- विचौलिया रोक्न कृषि विधेयक ल्याउँदैछौं

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर आन्दोलनरत किसानहरूसँग छलफल गरेकी छन्। प्रदर्शनमा उत्रिएका किसानका प्रतिनिधिहरूलाई मन्त्री चौधरीले मन्त्रालयमै आमन्त्रण गरी उनीहरूका पीडा र मागबारे विस्तृत छलफल गरेकी हुन्।

छलफलका क्रममा मन्त्री चौधरीले भनिन्, ‘किसानले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् भनेर हामीले कडा अनुगमनको व्यवस्था गरेका छौं। यसमा विचौलियाको चलखेल रोक्नका लागि कृषि विधेयक अघि बढाएका छौं।’ नयाँ कृषि ऐन बनेपछि विचौलियाको समस्या दीर्घकालीन रूपमा समाधान हुने उनले दाबी गरिन्।

मन्त्री चौधरीले किसानहरूलाई आफ्नो उत्पादन नजिकैका हाटबजारमा बिक्री-वितरण गर्न आग्रह गर्दै उत्पादित सामग्री बेच्न सबै कालीमाटी बजारमै आइरहनु नपर्ने धारणा राखिन्।

‘हामीले किसानका पीडा बुझेका छौं, समस्या सुनुवाइ र समाधानका लागि म किसानको खेतमै आउन पनि तयार छु,’ उनले भनिन्, ‘आन्दोलन मात्र समाधान होइन, सहजीकरणको बाटोमा आउनुस्। किसानसम्म रासायनिक मल सहज रूपमा पुगोस् भनेर हामीले अनुगमन थालेका छौं।’

मन्त्रालयका अनुसार छलफलका क्रममा किसानका समस्यालाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी व्यावहारिक समाधान खोज्ने प्रतिबद्धता जनाइएको छ।

आफ्नो संवेदनशीलता प्रकट गर्दै मन्त्री चौधरीले भनिन्, ‘म पनि किसानकी छोरी हुँ। किसानले भोग्नुपरेको पीडा र सङ्घर्षलाई मैले नजिकबाट बुझेकी छु। किसानका जायज माग सम्बोधन गर्न मन्त्रालय सधैँ सकारात्मक र प्रतिबद्ध रहनेछ।’

सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले उत्पादन, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्या समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताइन्।

प्रकाशित: ३१ असार २०८३ १८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App