७ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

घर जलेपछि परिवार छुट्टै बस्यौं, मायाको चिनो खरानी भयो: माधव नेपाल

नेकपा सहअध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी भएपछि परिवारका सदस्यहरू लामो समयसम्म छुट्टाछुट्टै स्थानमा बस्नुपरेको बताएका छन्।

आन्दोलनका क्रममा आफ्नो भाइहरूको घरसमेत जलाइएको उल्लेख गर्दै नेपालले घरमा रहेका आफूलाई मन पर्ने बहुमूल्य पुस्तकहरू जलेर नष्ट भएको र विभिन्न ठाउँबाट पाएका मायाका चिनोसमेत लुटिएको बताए।  

घरमा मर्मतसम्भारको काम सकिएपछि बल्ल परिवार पुनः घरमै बस्न थालेको उनको भनाइ छ।

नागरिकसँगको कुराकानीमा नेपालले भने, ‘भदौ २४ गते घर जलाइयो। आन्दोलनको मौकामा जलाइयो, लुटियो। मलाई मन पर्ने धेरै बहुमूल्य किताबहरू खरानी भए। कतिपय ठाउँमा पाएका मायाका चिनोहरू पनि लुटेर लगे।’

उनका अनुसार घरमा भएको क्षतिका कारण परिवारका सदस्यहरू पनि एकै ठाउँमा बस्न सकेनन्। बालबच्चासहित परिवारका सदस्यहरू अलग–अलग स्थानमा बस्नुपरेको र अहिले घर मर्मत गरेर पुनः बस्न थालेको उनले बताए।

नेपालले आफू राजनीतिमा सक्रिय रहेकाले आफ्नो अधिकांश समय राजनीतिक भेटघाट, छलफल र देश तथा जनताको हितबारे चिन्तनमै बित्ने गरेको बताए। ‘राजनीतिमा होमिएको मान्छेको ध्यान राजनीतिमै हुन्छ। पारिवारिक काम गर्नेको ध्यान परिवारमा र कर्मचारीको ध्यान कार्यालयमा हुन्छ,’ उनले भने।

मिडियासँग आफ्नो नियमित घुलमिल नरहेको पनि नेपालले स्पष्ट पारे। उनका अनुसार बाटोघाटोमा भेटिने सञ्चारकर्मीले कहिलेकाहीँ अनावश्यक प्रश्न सोध्ने भएकाले त्यस्तो भेटघाटबाट आफू पन्छिने गरेका छन्। तर अन्तर्वार्ताका क्रममा भने सञ्चारमाध्यमसँग आफ्नो कुराकानी हुने गरेको उनले बताए।

 

प्रकाशित: ७ आश्विन २०८३ २०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App