पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका युवा अभियन्ता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ नयाँहरूको जित भएको बताएका छन्।
बिहीबार उच्च अदालत बुटवलले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ढकालले प्रतिशोधको राजनीति लामो समय नटिक्ने बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘आफैं कल्पना गर्नुस्, नयाँहरूको जित भएको छ। प्रतिशोधको राजनीति टिक्दैन। रविजीलाई खुला आकाशमा स्वागत छ। अब सबै मिलेर देश बनाउन हामी सबै हजुरहरूको घर आँगनमा आउँछौँ।’
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत बुटवलले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतले लामिछानेसँग २ करोड ६८ लाख रुपैयाँ धरौटी माग गरेको छ।
लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिरै बसी मुद्दा लड्न पाउँ भनी निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त धरौटी रकम बुझाएमा उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
प्रकाशित: ३ पुस २०८२ १७:२८ बिहीबार





