३० कार्तिक २०८२ आइतबार
image/svg+xml ८:३८ पूर्वाह्न
राजनीति

आफू भाषण गर्दा कोही उठेर नहिँडेपछि ओलीले भने- ‘सत्संग जस्तै भयो’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक कार्यक्रमहरूमा नेताहरूले भाषण गर्दा कार्यकर्ताहरू बीचमै उठेर हिँड्ने र हो-हल्ला गर्ने प्रवृत्तिप्रति व्यंग्य गरेका छन्।

उनले आफू बोलिरहँदा सहभागीहरू शान्त र अनुशासित भएर बसेकोमा खुसी व्यक्त गर्दै यस्तो दृश्य आजकल दुर्लभ हुँदै गएको सुनाए।

सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने, ‘मलाई खुसी लागेको छ, कोही पनि उठेर हिँड्नुभएको छैन बीचैमा।’

उनले नेपालका राजनीतिक कार्यक्रमहरूमा देखिने अनुशासनहीनताको तुलना धार्मिक कथाहरूसँग गरे। ‘श्रीमद्भागवत कथामा त कथा वाचन भइन्जेलसम्म यस्तो गरेर (हात जोडेर) बस्या हुन्छन्,’ उनले भने, ‘तर यहाँ त बोल्नेले बोलिराख्या हुन्छ, कोही बाहिर निस्किराख्या हुन्छ, उता एउटा झुण्ड गफ गरिराख्या हुन्छ।’

कार्यक्रम सञ्चालकले ‘कमरेडहरू बसिदिनुस् न प्लिज, एकछिन’ भन्दै बारम्बार आग्रह गर्नुपर्ने अवस्था रहेको समेत उनले बताए।

‘हाम्रो त चलन कस्तो छ भने मन लाग्यो बस्यो, मन लाग्यो उठ्यो र हिँड्यो,’ उनले पार्टी कार्यकर्ताहरूमा हुनुपर्ने धैर्य र अनुशासनको कमीतर्फ संकेत गर्दै भने।

आफ्नो लामो भाषण धैर्यपूर्वक सुनेकोमा सहभागीहरूलाई धन्यवाद दिँदै उनले यो कार्यक्रम एउटा ‘सत्संग’ जस्तै भएको र यहाँको अनुशासनले आफूलाई उत्साहित बनाएको बताए।

प्रकाशित: २६ श्रावण २०८२ १६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App