१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालेनसँग अङ्कमालपछि हर्कले भने- काम त राम्रै गर्न खोज्नुभएको छ, तर...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटघाट भएको छ।

सामाजिक सञ्जालमा एकअर्काको आलोचना गर्दै आएका यी दुई नेता बिहीबार प्रतिनिधि सभाको बैठकपछि अङ्कमाल गर्दै सँगै देखिएका हुन्।

यसअघि प्रधानमन्त्री शाहले बोलाएको बैठकलाई कोठे बैठक भन्दै हर्क उपस्थित भएका थिएनन्। अहिले भने छलफलका लागि ढोका खुलेको उनले सुनाए।

संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू राज्य व्यवस्थाकै हिस्सा भएकाले नभेट्ने भन्ने कुरा नहुने बताए। भेटका क्रममा उनीहरूले कुराकानी गर्दै मोबाइल नम्बर समेत साटासाट गरेका थिए।

रास्वपा नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने विषयमा अध्यक्ष साम्पाङले सकारात्मक धारणा राखे। सरकारले राम्रो काम गरेमा आफ्नो दलले पूर्ण समर्थन गर्ने उनले बताए।

यद्यपि, सुशासनका नाममा पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गर्ने लगायतका कदममा सरकारले निकै हतार गरिरहेको उनले औंल्याए।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘काम त राम्रै गर्न खोज्नुभएको छ, तर धेरै हतार भइरहेको छ। अलि स्पिडमा हुनुहुन्छ, ब्रेक लगाउनुपर्छ।’ अनियन्त्रित भएर अघि बढेमा सरकार दुर्घटनामा पर्ने र त्यसले सबैलाई दुःख दिने उनले चेतावनी दिए।

यसैगरी, संविधान संशोधनका लागि प्रधानमन्त्री आफैंले तयार गरेको बहस पत्र र समितिको विषयमा पनि साम्पाङले प्रश्न उठाएका छन्। संशोधन कहाँ र किन आवश्यक छ भन्ने कुरा सरकारले पहिले बुझाउनुपर्ने उनले बताए।

यदि संविधान संशोधन गर्ने नै हो भने श्रम संस्कृति पार्टीको मुख्य एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने उनले प्रष्ट पारे।

पहिलोपटक संसदमा सम्बोधन गरेका अध्यक्ष साम्पाङले आफूलाई बोल्न दिइएको समयप्रति भने असन्तुष्टि व्यक्त गरे। ठूला दलले धेरै र साना दलले थोरै समय पाउने संसदीय चलन भत्काउनुपर्ने उनले जोड दिए।

‘सदनमा पहिलोचोटी बोल्दा अलि फरक महसुस भयो,’ सधैं खुला रूपमा बोल्ने बानी परेका साम्पाङले भने, ‘मलाई समय पुगेन, थोरै मात्र समय दिने चलन भत्काउनुपर्छ।’

प्रकाशित: १९ चैत्र २०८२ १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App