प्रतिनिधिसभाबाट पारित भएर गएको संघीय निजामती विधेयकमाथि राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल चलिरहेको छ। दुई दिनदेखि सुरु भएको विधेयकमाथिको दफावार छलफल आइतबार पनि चलिरहेको छ।
यसै सन्दर्भमा आइतबार विधायन समितिको बैठकको सुरुमै असम्बन्धित व्यक्ति बैठकमा घुसेको विषयमा विवाद भएको छ। बैठकमा संघीय संसद् सचिवालयका कर्मचारी, सांसदको निजी सचिवालयमा कार्यरत कर्मचारी घुसेको भन्दै सामान्य प्रशासन मन्त्रालयका कर्मचारी र सांसदहरूले प्रश्न उठाएका हुन्।
बैठकको सुरुमै सामान्य प्रशासन मन्त्रालयका सहसचिव मीरा आचार्यले समितिबाहिरका व्यक्ति बैठकमा उपस्थित हुँदा छलफलमा अप्ठेरो हुने कुरा उठाएकी थिइन्। उनले प्रसंग उठाएपछि अन्य सांसदहरूले पनि समर्थन जनाएका थिए।
त्यसपछि समितिकी सभापति तुलसाकुमारी दाहालले ‘यसमा के गर्ने हो?’ भन्ने विषयमा सांसदहरूकै राय मागेकी थिइन्। त्यसपछि सांसद बेदुराम भुसालले अपरिभाषित व्यक्ति समिति बैठकमा बस्न नहुने प्रस्ट पारेका थिए।
‘परिभाषित काम हो भने ठिकै छ । अपरिभाषित व्यक्तिलाई समितिमा राख्ने, ठाउँ छैन भनेर संशोधन राखेका सांसदलाई नराख्ने ?,’ उनले भने, ‘अहिले अपरिभाषित व्यक्ति आएर हल भर्ने कुरा राम्रो हुँदैन।’
प्रकाशित: १५ भाद्र २०८२ १७:०६ आइतबार


-600x400.jpg)


