१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्: धेरै आशा बोकेर बिदा लिदैछु

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै देशभरका नागरिकलाई विश्वास र आश्वासन दिएकी छन्। उनले भदौं २७ गते मनमा डर र अनिश्चय बोकेर निर्वाचन सम्पन्न गर्न लागेका क्षणलाई स्मरण गर्दै उक्त चुनौती पार गर्न सफल भएको बताइन्। 

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन मार्फत परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको बताइन्। उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले बहुमत प्राप्त गर्न नसक्ने भनिएको भाष्यलाई गलत सावित गरेको पनि उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगसँग निरन्तर छलफल गर्दै दलहरूसँग बारम्बार संवाद गरेकाले निर्वाचन ऐतिहासिक रूपमा सफल भएको बताइन्। उनले सुरक्षा र शान्ति कायम राख्न खटिएका सेनाका जवान, प्रहरी, सशस्त्र र कर्मचारीलाई विशेष धन्यवाद दिइन्। साथै मतदाता र राष्ट्रपतिको मार्गदर्शनको स्मरण गर्दै सबैको योगदानको कदर गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “संकटका बेला हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन। हाम्रो समस्या हामी आफैं सुल्झाउन सक्छौं। अब देशमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा नतिजामुखी काम हुनेछ।”

उनले आगामी दिनमा निर्वाचनले सिकाएको पाठ, सुरक्षा, स्वच्छता र मितव्ययिताका मानकहरू कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीले युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षा अनुसार काम गर्ने विश्वास लिएको बताए।

साथै, उनले जेनजीसँग भएको सम्झौता पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्दै निर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना दिइन्। निर्वाचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि राष्ट्रसामू राखिएको जानकारी दिइन्।

प्रकाशित: १२ चैत्र २०८२ २०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App