१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सदनमा दाहालको सम्बोधन : सरकारको कामको समीक्षा कम, ओलीको आलोचना बढी

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयपछि सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारको कामको समीक्षाभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा बढी समय खर्चेका छन्।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गर्दै दाहालले ‘जहाँ सरकार त्यहाँ भ्रष्टाचार’ को स्थिति रहेको बताए। भ्रष्टाचारका सन्दर्भमा चित्रगुप्तलाई समेत बयान दिने ठाउँ नभएको बताउँदै दाहालले प्रधानमन्त्री ओलीको खोइरो खन्नमै धेरै समय खर्चेका हुन्।

‘म उहाँ (प्रधानमन्त्री ओली) ले भ्रष्टाचारबारे भनेको एउटा कुरा स्मरण गर्छु, उहाँले चित्रगुप्तलाई बयान दिन तयार छु भन्नुभएको थियो। चित्रगुप्तलाई बयान दिने यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीजीले स्मरण गर्नुभएको होला। अहिले त जहाँ सरकार त्यहाँ भ्रष्टाचार, अब चित्रगुप्तालाई प्रधानमन्त्रीजीले के बयान दिने होला?’ दाहालले भने। ‘कुनै तयारी र काम नहुँदै जस लिइहाल्नुपर्ने’ गजबको बानी प्रधानमन्त्रीको रहेको पनि उनले बताए। ‘आयोजना सुरु नहुँदै उद्‌घाटन गरिहाल्नुपर्ने, ताम्रपत्र–शिलापत्रमा नाम कुँदाइहाल्नुपर्ने, काम नभए पनि प्रचार गरिहाल्नुपर्ने,’ उनले भने, ‘तर राष्ट्रिय गौरवका आयोजनामा यो एक वर्षमा भएको प्रगति हेर्नुभएको छ? हेर्नुहोला अनि बल्ल भन्नुहोला, जस पाउने काम कति गर्नुभएको छ। सुशासनका मानकहरूसँग पनि तुलना गर्नुहोला।’

उनले प्रधानमन्त्रीमाथि प्रश्नमाथि प्रश्न तेर्स्याउँदै भने, ‘यो एक वर्षमा तीनवटै तहका सरकारबिच के–कति समन्वय गर्नुभयो? विकास परिषद्देखि अन्य संरचनाहरूको बैठक र विगतका के–कति निर्णय कार्यान्वयन गर्नुभयो? कार्य–विस्तृतीकरण प्रतिवेदन कहाँ राख्नुभएको छ? त्रिभुवन विश्वविद्यालयबाट सुरु भएको मेरिटोक्रेसी कहाँ पुर्‍याउनुभयो? हामीले भनेअनुसार बालुवाटारको साटो मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकेर राष्ट्रिय हितका पक्षमा कति निर्णय गर्नुभयो?’

प्रधानमन्त्री ओलीले पनि सोमबार नै सामाजिक सञ्जालबाट दाहाललाई केही जवाफ फर्काएका छन्। कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको विषयमा दाहालले सदनमा सवाल उठाएका थिए। त्यसै सवालमा केन्द्रित रहेर प्रधानमन्त्री ओलीले रंगशालामा प्यारापिट र फ्लडलाइट जडानको काम भइरहेकाले ‘काम हेर्न जान’ आग्रह गरे। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज (सोमबार) प्रश्न सोध्नुभएछ– कीर्तिपुरको मैदानमा खोइ फ्लडलाइट? खोइ प्यारापिट? मेरो उहाँलाई आग्रह छ– बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’ प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा समयसीमा तोकेर काम गरेको तर दाहालले त्यसो नगरेको भन्दै आलोचनासमेत गरे। 

उनले लेखेका छन्, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें। तपाईंले जर्जर छाडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो? तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’ संसद्मा बोल्दै दाहालले सरकारले तीन सय दिनभित्र कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माण गर्ने घोषणा गरे पनि एक वर्ष बितिसक्दा पनि काम पूरा नभएको भन्दै आलोचना गरेका थिए।

दाहालले प्रधानमन्त्री ओली जहाँजहाँ पुग्छन्, त्यहाँत्यहाँबाट केही न केही बेथितिगत खबर आउने गरेको पनि बताए। ‘अहिले स्पेनबाट पनि त्यही आएको छ। म योभन्दा बढी त भन्न चाहन्छ। गत साल अमेरिका जाँदा के भएको थियो, सम्झिनुभएकै होला। मेरो आरोप होइन तर तपाईंले टेकेको ठाउँबाट विवाद आउने गरेकोबारे ध्यान दिनुभएकै होला। सरकारका मन्त्रीहरूमाथि एकपछि अर्को भ्रष्टाचारका आरोप लागिरहँदा पनि सरकार सुशासनकै पक्षमा छ जस्तो लाग्छ?’ दाहालले प्रश्न गरे।

दाहालले विद्यालय शिक्षा विधेयकलगायत अन्य विधेयकमा भएका चलखेलमाथि अवाञ्छित चलखेलले नेपाली जनतालाई लज्जित बनाएको बताए। दुई ठुला दल मिलेर जे गरे पनि हुन्छ भनेजसरी संसद्को हुर्मत लिनु दुर्भाग्य र खेदजनक रहेको माओवादी अध्यक्ष दाहालको भनाइ थियो। वर्तमान सरकार बन्ने बेलामा आफूले ‘सुशासनको डरले बनेको’ भनी टिप्पणी गर्दा ‘सत्ता छोड्नुपर्दाको पीडा र छटपटी’ भनिएको स्मरण गर्दै दाहालले एक वर्ष पुग्दा सरकार बिचौलियाको स्वार्थमा पुगेको दाबी गरे।

‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर सत्तारूढ दलकै नेता–कार्यकर्ताले भनिरहनुभएको छ,’ उनले भने, ‘सरकार संख्याका भरमा टिकेको त छ तर जनताको भरोसा समाप्त भएको छ।’ अहिले आएर एकपछि अर्को गरी हालसम्म सुशासन कायम गर्न सक्षम देखिएका नियामक संस्थालाई पनि बिचौलियाहरूकै तजबिजमा भ्रष्टीकरणतिर लगेको देखिएको उनले बताए। त्यस्ता संस्थाहरूको प्रमुख नियुक्तिमा भएको चलखेल, हाकाहाकी भएको कमिसन डिल र बिचौलियाहरूकै इसारामा अघि बढाइएका कार्यहरूबाट सरकारको उद्देश्य र चरित्र अझ प्रस्ट भएको दाहालको जिकिर थियो।

‘धितोपत्र बोर्डदेखि जग्गा काण्डहरू, भुटानी शरणार्थी काण्डदेखि मेरिटोक्रेसी भत्काउनेसम्म, विद्युत् बक्यौता नतिर्नेहरूलाई चोख्याउनेदेखि भूमाफियाहरूलाई कानुनी संरक्षण गर्नेसम्म, सरुवा र नियुक्तिमा मन्त्रीहरूबाटै लाखौंका डिल भएका विषय सार्वजनिक हुँदासम्म र दलालहरूको स्वार्थपूर्ति गर्ने गरी बजेट ल्याइँदासम्मका दर्जनौं तथ्यहरूले मैले भनेकै कुरा प्रमाणित गरेको छ,’ दाहालले भने। उनले नयाँ स्टक एक्सचेन्जका लागि निकै ठुलो चलखेल भइरहेको भन्दै सरकारमाथि प्रश्न उठाए।

यसैगरी विगतमा प्रधानमन्त्रीकै पार्टीले सडकमा आन्दोलन गरेर रोकेको सुरक्षा निकायको हतियार किन्ने प्रक्रिया अहिले आएर कसको स्वार्थमा अघि बढाउन खोजिएको भन्दै दाहालले हतियार खरिदको विषयमा पनि विरोध जनाए। उनले सरकारको जताततै विरोध भइरहेको बताए। ‘राज्यको स्रोत र साधन दोहन गर्न पाइरहेका सीमित दलाल पुँजीपति र बिचौलियाबाहेक तपाईंहरूसँग को खुसी छ? पचासौं हजार शिक्षक सडकमा उत्रिए, हजारौं निजामती राष्ट्रसेवकहरूले कार्यालय ठप्प पार्ने चेतावनी दिइरहेका छन्। चिकित्सकहरू बारम्बार सडकमा आउने अवस्था बनेको छ। सहकारी पीडितको आक्रोश र पीडा उस्तै छ। मीटरब्याजपीडित झनै पीडित भइरहेका छन्। भ्रष्टाचारीहरूलाई चोख्याइँदै छ।

नागरिक संस्था र समूहमा आक्रोश र असन्तुष्टि छ। जनतामा झन् निराशा बढाउने काम हुँदै छ। यो सबै तपाईंहरूकै कारणले हो,’ दाहालले भने, ‘यो एक वर्षमा कसको विश्वास जित्नुभयो त प्रधानमन्त्रीज्यू?’ उनले थपे, ‘कुनचाहिँ वर्गका मानिस खुसी छन्? सरकारका गतिविधिले कसले पाउँदै छ लाभ? जनताको कुरै छाडौं, सरकारका गतिविधि र नेतृत्वको प्रवृत्तिले तपाईंहरूकै कार्यकर्तासमेत सरकारसँग सन्तुष्ट हुन सकिरहेका छैनन्।’

प्रकाशित: ३१ असार २०८२ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App