सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसियाली विकास बैङ्क (एडिबी) का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल सरकार र एडिबीबीच ‘डिजिटल’ रूपान्तरणका क्षेत्रमा सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको हो।
सो भेटवार्ताका क्रममा विशेषगरी ‘नेपालः डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरणका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
एडिबीका नेपाल निर्देशक कोस्वाले परियोजनाको सफल कार्यान्वयनका लागि सरकारी निकायबीच समन्वय, नीतिगत स्पष्टता र प्रक्रियागत सरलता अपरिहार्य रहेको उल्लेख गर्दै सरकारसँग थप सक्रिय सहकार्यको अपेक्षा व्यक्त गरे।
उनले एडिबीको प्राथमिकतामा निजी क्षेत्रको व्यावसायिक वातावरण सुधार, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन तथा रोजगारी सिर्जना जस्ता क्षेत्रहरू रहेका स्पष्ट पारे।
डिजिटल अर्थतन्त्र विस्तार गर्न नेपालले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण तयार गर्नुपर्नेमा कोस्वाले जोड दिए।
नेपालमा प्रविधिमा आधारित उद्योगहरूको विकासले आर्थिक वृद्धिमा मात्र नभई युवाहरूलाई रोजगारी सिर्जनामा पनि ठूलो योगदान पुर्याउन सक्ने उनले धारणा राखे।
उक्त भेटवार्ताका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले एडिबीले नेपाललाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले विकास आयोजनाहरूलाई छिटो, प्रभावकारी र नतिजामुखी रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए।
उनले विगतमा सूचना प्रविधि पूर्वाधार विकासमा देखिएका समस्याहरूलाई स्वीकार्दै अब सरकारले विगतभन्दा फरक ढङ्गले काम गर्ने सुनाए।
प्रकाशित: ३ वैशाख २०८३ १७:२३ बिहीबार





