प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको सँघारमा नेताहरूले दिने द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) लाई सरकारले गम्भीरतापूर्वक लिने र त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी छन्।
बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक संस्कार र अनुशासन कायम राख्न दलका नेताहरूलाई सचेत गराएकी हुन्।
केही नेताहरूका अभिव्यक्तिले समाजमा द्वन्द्व निम्त्याउन खोजेको तर्फ सङ्केत गर्दै प्रधानमन्त्रीले भनिन्, ‘केही नेताहरूले प्रयोग गर्नुभएका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएका छन्। यस्ता कार्यलाई आचारसंहिताको गम्भीर उल्लङ्घन मानिनेछ।’
प्रधानमन्त्री कार्कीले ‘हेट स्पीच’ र द्वेषपूर्ण अभिव्यक्ति दिने उम्मेदवार वा नेताविरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
‘हामीले हाम्रा शब्दहरूको मर्यादा कायम गर्नुपर्छ, किनकि राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य छ,’ उनले भनिन्।
प्रधानमन्त्रीले अभिव्यक्तिमा मात्र नभई चुनावी खर्च र प्रचार शैलीमा पनि कडाइ गरिने स्पष्ट पारिन्। विगतका निर्वाचनमा देखिएको भड्किलोपन र राज्य शक्तिको दुरुपयोग रोक्न सरकार कठोर रूपमा प्रस्तुत हुने उनको भनाइ छ।
उनले भनिन्, ‘प्रचार-प्रसारको अवधि २१ दिनभन्दा बढी नदिने व्यवस्था मिलाई हामी निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन प्रतिबद्ध छौँ। यो नेपाली नागरिकको करको पैसा हो, यसलाई दुरुपयोग हुन दिइने छैन।’
प्रधानमन्त्रीले निर्वाचन आयोगको सबलीकरण सरकारको प्राथमिकतामा रहेको बताउँदै आयोगले ल्याउने कार्ययोजनालाई सरकारले पूर्ण सहयोग गर्ने विश्वास समेत दिलाइन्।
प्रकाशित: ३ मंसिर २०८२ १८:३१ बुधबार





