कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीमा नवीन सुधार आवश्यक रहेको बताएका छन्।
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतस्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवं शैक्षिक भवन निर्माणको आज शिलान्यास कार्यक्रममा मुख्यमन्त्री कँडेलले समयअनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको बताए।
उनले भने, ‘हामी अझै पनि परम्परागत शिक्षण पद्धतिमा अडिएका छौँ जहाँ विद्यार्थीले केवल किताब पढ्ने र परीक्षा पास गर्ने लक्ष्य राख्छन्। अहिलेको युगअनुसारको शिक्षाले मात्र विद्यार्थीलाई प्रतिस्पर्धी, सक्षम र उत्पादनशील बनाउन सकिन्छ।’
मुख्यमन्त्री कँडेलले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्ने सुझाउँदै व्यावहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए। शिक्षालाई जीवनोपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री कँडेलले भने, ‘शिक्षामा रुपान्तरण ल्याउन नीतिगत सुधार, स्रोत व्यवस्थापन, सक्षम शिक्षक र पूर्वाधारको भूमिका महत्त्वपूर्ण हुन्छ। प्रदेश सरकारको तर्फबाट कर्णालीका विद्यालयमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्थामा विशेष ध्यान दिन्छौँ। कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशको शिक्षाको विकासबाट दीर्घकालीन विकास सम्भव हुन्छ।’
श्रीमान कन्स्ट्रक्सन हेटौँडा उपमहानगरपालिका–६ मकवानपुरले विसं २०८३ पुस १५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरिएको ३३ कोठे उक्त शैक्षिक भवनका लागि कर्णाली प्रदेश सरकारको रु पाँच करोड ८९ लाख २४ हजार आठ सय ३४ बजेट विनियोजन गरिएको जनाइएको छ।
प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा सामाजिक परिवर्तनको साधन हुनुपर्ने धारणा राख्दै त्यसका लागि हामी सबै एकजुट हुनुपर्नेमा जोड दिए।
त्यस अवसरमा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दिपा हमाललगायतको सहभागिता थियो। रासस
प्रकाशित: १० श्रावण २०८२ १५:१६ शनिबार


-600x400.jpg)


