शिक्षा ऐन तत्काल जारी गर्न सरकारलाई दबाब दिने उद्देश्यले अखिल (क्रान्तिकारी) र अखिल नेपाल शिक्षक संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै साउन २ गते (शुक्रबार) देशव्यापी शैक्षिक हड्तालको आह्वान गरेका छन्।
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा ४८ वर्ष पुरानो पञ्चायती शिक्षा ऐनले देशको शिक्षा प्रणाली चलिरहेको भन्दै यसले शिक्षाको व्यापारीकरणलाई बढावा दिएको र आम नागरिकलाई निःशुल्क, समान र वैज्ञानिक शिक्षाको पहुँचबाट वञ्चित गरेको आरोप लगाइएको छ।
संगठनले संविधानले प्रत्याभूत गरेको मौलिक हक कार्यान्वयन गरी जनपक्षीय शिक्षा ऐन जारी गर्न माग गर्दै साउन २ गते देशभरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, विश्वविद्यालय, प्रतिष्ठान, सिटिइभिटी, ट्युसन सेन्टर तथा कन्सल्टेन्सीहरू बन्द गर्न आह्वान गरेको हो।
त्यस्तै, अखिल नेपाल शिक्षक संगठनले पनि सरकारले नयाँ शिक्षा ऐन जारी गर्ने क्रममा आफूहरूसँग भएको सहमतिलाई लत्याएको र शिक्षा क्षेत्रलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा समर्थन जनाएको छ।
संगठनका अध्यक्ष लछुराम शर्मा ढकाल र महासचिव मदनराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसअघि २९ दिनसम्म चलेको अनिश्चितकालीन सडक आन्दोलन र त्यसका उपलब्धिहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ।
आन्दोलनरत संगठनहरूले निःशुल्क शिक्षासम्बन्धी हकको कार्यान्वयन, शिक्षामा हुने र नहुनेबीचको विभेदको अन्त्य, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण, शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान, र शिक्षा क्षेत्रमा व्याप्त दलालीकरण, माफियाकरण र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग राखेका छन्।
संगठनहरूले शैक्षिक हड्तालको अवज्ञाबाट उत्पन्न हुन सक्ने परिस्थितिका लागि सम्बन्धित पक्ष नै जिम्मेवार हुने चेतावनीसमेत दिएका छन्।

प्रकाशित: १ श्रावण २०८२ २२:१३ बिहीबार





