नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताएका छन्।
समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ? राष्ट्रिय बहस !’ विषयक कार्यक्रममा महासचिव पोखरेलले जनमत आफूहरूबाट टाढिनुको कारण पहिचान गरी त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन्। उनले कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार हुँदाहुँदै पनि सरकारबाट अपदस्थ हुनुपरेको यथार्थलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा राखे।
‘कम्युनिष्ट पार्टीकै नेतृत्व रहेको बेला सरकारबाट अपदस्थ हुनुपरेको छ, यो यथार्थलाई गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्न सम्भव छैन’, उनले भने।
महासचिव पोखरेलले नेपालमा वामपन्थी आन्दोलनले लामो समयदेखि राजनीतिक नेतृत्व गर्दै आए पनि पछिल्लो समय कमजोर हुँदै जानु सामान्य विषय नभएको बताए। उनका अनुसार नेपालमा वामपन्थी आन्दोलनले छ प्रधानमन्त्री र २१ मुख्यमन्त्री जन्माइसकेको छ। यस्तो राजनीतिक प्रभाव भएको आन्दोलन कमजोर हुनुको कारण खोजी गर्नुपर्ने उनको भनाइ रहेको छ।
‘नेपालको कम्युनिष्ट आन्दोलन सामान्य थिएन’, महासचिव पोखरेलले भनेका छन्। उनले विगतका राजनीतिक अभ्यास, जनतासँगको सम्बन्ध तथा जनमतमा आएको परिवर्तनको वस्तुनिष्ठ समीक्षा गरेर मात्रै वामपन्थी आन्दोलनलाई नयाँ आधारमा पुनर्गठन गर्न सकिने बताएका छन्।
कार्यक्रममा नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल, नेकपाका नेता शक्तिबहादुर बस्नेत, एमाले नेता कर्ण थापा, राष्ट्रियसभाका सदस्य गणेश विकलगायत नेताहरूको सहभागिता रहेको छ।
प्रकाशित: ३१ श्रावण २०८३ २०:४४ आइतबार


-600x400.jpg)


