४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

आन्दोलनका महिनाको लेखाजोखाः राजावादी र गणतन्त्रवादीको कति देखियो शक्ति ?

कुन प्रदर्शनमा कति उपस्थिति? कति प्रहरी परिचालन?

पछिल्ला ६ महिना मुलुकको राजनीतिमा राजावादी र गणतन्त्रवादी शक्तिहरू आमने–सामने देखिए। विशेष गरी फागुन ७ को प्रजातन्त्र दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादी शक्ति हौसिएका थिए। 

विशेष गरी वर्तमान राजनीतिक दल र नेताप्रति आमजनतामा बढ्दै गएको निराशा र आक्रोशको आलोकमा राजावादी शक्तिहरूले एक ‘मौका’ देखेका छन्। जसमा पूर्व राजा ज्ञानेन्द्रले पनि आफूले सम्भावित स्पेस देखेरै पोखराबाट फागुन ७ को सम्भवतः त्यो अभिव्यक्ति दिएका थिए।

नभन्दै उनी फागुन २५ गते पोखराबाट काठमाडौं फर्किदा काठमाडौं विमानस्थलमा ठुलो भिड उर्लियो। राजावादी शक्तिहरूले योजनाबद्ध रूपमा त्यो शक्ति उरालेर गणतन्त्रवादी शक्तिहरूको चुनौती प्रस्तुत गरेका थिए। विमानस्थलबाट निर्मल निवाससम्म त्यो भिडले ज्ञानेन्द्रलाई मार्च पास गर्दै पु¥याएर थामियो। 

त्यसपछि सुरु भएको राजावादी–गणतन्त्रवादीको सडक र सामाजिक सञ्जालको शक्ति संघर्षले बितेका ६ महिना तरङ्गित पारेका छन्। राजावादी शक्तिले पनि पटक पटक सडकमा मान्छे उतारेर शक्ति प्रदर्शन गर्न खोज्दा गणतन्त्रवादीहरूले पनि मान्छे उतारेरै शक्ति प्रदर्शनको रणनीति अख्तियार गरेका थिए। 

यस्तो शक्ति प्रदर्शनमा कुन पक्षमा कति मान्छे सडकमा उत्रिए भन्ने विषय पनि यो अवधिमा चर्चाको विषय बन्यो। जसको लेखाजोखा भर्खरै नेपाल प्रहरीले सार्वजनिक गरेको छ। 

काठमाडौंको भिड तथा दङ्गा नियन्त्रणमा अग्र मोर्चामा रहेर भूमिका खेलेको जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरेर पछिल्ला एक वर्षको आफ्नो गतिविधि सार्वजनिक गरेको थियो। त्यही विवरणमा काठमाडौंमा भएका प्रदर्शनको लेखाजोखा र त्यसको सुरक्षा व्यवस्थापनमा प्रहरीले खेलेको भूमिकाबारे उल्लेख गरेको छ। 

यो सामग्रीमा राजावादी र गणतन्त्रवादीका प्रदर्शन, उपस्थित संख्या र प्रदर्शनको  सुरक्षा व्यवस्थापनमा भएका गतिविधिबारे प्रहरी परिसरले सार्वजनिक गरेका विवरण उल्लेख गरेका छौँ। 

पूर्वराजाको स्वागत र्‍याली 

फागुन ७ मा पूर्वराजा ज्ञानेन्द्रले पोखराबाट आफ्नो वक्तव्य दिँदै ‘अब समय आयो’ भन्दै आफूलाई ‘साथ दिन आह्वान’ गरेका थिए। त्यसपछि फागुन २५ गते काठमाडौं आउँदा उनका समर्थक राजावादी शक्तिले पूरा तयारीसहित तामझामपूर्ण स्वागत गरेका थिए। 

एकथरि राजावादी शक्तिले त्यसै दिन ज्ञानेन्द्रलाई विमानस्थलबाट र्‍यालीसहित लगेर नारायणी हिटी दरबारमा भित्र्याउने र राजमुकुट पहिर्‍याउने भनेर हल्ला फैलाएका थिए। 

राजावादीहरूले ठुलै भिड जम्मा गर्ने आकलनपछि त्यो दिन प्रहरी र सुरक्षा संयन्त्र निकै सतर्क बनेको थियो। सुरुमा दुई हजार देखि २५ सय सम्मको भिड आउने आकलन गरेका सुरक्षा निकाय काठमाडौंमा चल्ने ट्याक्सी तथा राइडिङ सेवा प्रदायकका मोटरसाइकल बुक हुनथालेपछि र काठमाडौंबाहिरको भिड पनि भित्रिन थालेपछि ठुलै भिड जम्मा हुने भनेर चिन्तित भएको थियो। 

नभन्दै त्यो दिन राजावादीहरूले ठुलै भिड उतारे। त्यो भिडलाई राजावादीहरूले लाखौँ भनेर प्रचारबाजी गरिरहेका छन्। 

अहिले प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार त्यो दिन १० देखि १२ हजार राजावादीको भिड त्यहाँ जम्मा भएको थियो। जसको सुरक्षा व्यवस्थापनमा दुई हजार ९०० प्रहरी परिचालन भएको परिसरको तथ्यांक छ। 

तीनकुने ताण्डव र समाजवादी मोर्चाको प्रदर्शन 

फागुन २५ गतेको भिड देखेपछि हौसिएका राजावादी शक्तिहरू अर्को शक्ति प्रदर्शनको तयारी गर्दै चैत १५ गतेको साइत मिलाए। विशेष गरी पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति बनाएपछि सोही समितिले चैत १५ गते तीनकुनेमा सभा गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएको थियो। जसको जनकमान्डर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तोकिए। 

उता राजावादी शक्तिहरूको सलबलाहटमा झस्किएका सत्ताबाहिर रहेका गणतन्त्रवादी शक्तिहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीलगायतको समाजवादी मोर्चाले पनि अर्को शक्ति प्रदर्शनका लागि चैत १५ गते नै रोजे। जिल्ला प्रशासनले समाजवादी मोर्चालाई भृकुटीमण्डपको स्थान दियो। 

त्यो दिन फरक दुई ठाउँमा भएका प्रदर्शनको लेखाजोखा पनि काठमाडौं परिसरले सार्वजनिक गरेको छ। जसमा राजावादीले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा ८ देखि १० हजार मानिस उत्रिएको प्रहरी तथ्यांकमा उल्लेख छ। जहाँ दुई जनाको मृत्यु र १०९ जना घाइते भएका थिए। यस्तै ७७ सवारी साधन र ५६ घरमा तोडफोड र आगजनी भएको प्रहरीको तथ्यांक छ। 

यस्तै भृकुटीमण्डपमा समाजवादी मोर्चाको प्रदर्शनमा २० देखि २५ हजार मानिसको उपस्थिति रहेको प्रहरीको तथ्यांक छ। 

त्यो दिन दुवै प्रदर्शनको सुरक्षा व्यवस्थापनमा दुई हजार ९०० प्रहरी परिचालन भएको पनि विवरणमा उल्लेख छ। 

राप्रपाको बल्खु प्रदर्शन 

त्यसपछि राजावादी समर्थक पूर्व पञ्चहरूको पार्टी राप्रपाले चैत २५ गते बल्खुमा प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनमा ६ हजार देखि ७ हजारसम्म मानिस भेला भएको प्रहरीको तथ्यांक छ। त्यो दिन दुई हजार एक सय प्रहरी सुरक्षा व्यवस्थापनमा खटिएका थिए। 

गणतन्त्र दिवस र राजावादी प्रदर्शन 

जेठ १५ गतेको गणतन्त्र दिवसको दिनलाई राजावादी र गणतन्त्रवादी दुवै शक्तिले शक्ति प्रदर्शनको मौकाको रूपमा प्रयोग गरेका थिए। विशेष गरी सत्तारूढ नेकपा एमालेले आफ्ना जन वर्गीय संगठन परिचालन गरेर ‘गणतन्त्र उत्सव’ मनाएको थियो । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेता नै सहभागी भएर सम्बोधन गरेका थिए। 

शान्ति बाटिका, भृकुटीमण्डप, टुँडिखेल हुँदै गरिएको उक्त प्रदर्शनमा पाँचदेखि छ हजार मानिस जम्मा भएको प्रहरीको रेकर्डमा देखिन्छ। 

सोही दिन दिउँसो पछि त्यही स्थानमा राप्रपालगायतका राजावादी शक्तिहरूले पनि प्रदर्शन गरेका थिए। जसमा ८ देखि १० हजार मानिस जम्मा भएको प्रहरीको तथ्यांक छ। 

दुवै प्रदर्शनको सुरक्षामा २१ सय/२१ सय प्रहरी परिचालन भएको परिसरको तथ्यांकले देखाउँछ। 

त्यसयता बर्खा लागेसँगै दुवै पक्षका प्रदर्शन रोकिएका छन्। 

प्रकाशित: ३१ श्रावण २०८२ १५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App