नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई नै सिध्याउने गरी भदौ २३ र २४ गते प्रतिगामी षड्यन्त्र भएको दाबी गरेका छन्।
मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त षड्यन्त्रले वैधानिक सरकारलाई असंवैधानिक ढंगले विस्थापित गरेको आरोप लगाए।
लोकतान्त्रिक सरकारलाई बलजफ्ती विस्थापित गर्ने भदौ २३ र २४ गतेको आन्दोलन वा कदम कुनै पनि अर्थमा लोकतान्त्रिक हुनै नसक्ने ओलीको तर्क छ। उनले भने, ‘अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन, समग्र लोकतन्त्रलाई नै निसाना बनाएर त्यसलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षड्यन्त्र भयो। त्यो षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्यो, यो लोकतन्त्र हुनै सक्दैन।’
सरकार बनाउने, अपदस्थ गर्ने र फेर्ने सम्पूर्ण वैधानिक अधिकार संसद्सँग मात्र सुरक्षित हुने अध्यक्ष ओलीले स्पष्ट पारे। तर, बलजफ्ती संसद्लाई भंग वा निष्क्रिय बनाएर वैधानिक सरकार ढाल्ने र अवैधानिक ढंगले नयाँ सरकार गठन गर्ने खेल खेलिएको उनले बताए। सार्वभौम संसद्को अधिकार खोसेर गैरकानुनी बाटो रोज्नु नै प्रतिगमन भएको उनको भनाइ थियो।
यस्ता असंवैधानिक र अलोकतान्त्रिक कदमहरूले जननेता मदन भण्डारीले अघिसारेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) को खिल्ली उडाएको ओलीले उल्लेख गरे। विधिको शासन, संसद्को सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यतालाई सिध्याउन प्रतिगामी तत्वहरूले अध्यादेशमार्फत शासन चलाउने कुचेष्टा गरिरहेको भन्दै उनले आलोचना गरे।
प्रकाशित: १४ असार २०८३ १७:२४ आइतबार





