सुदूरपश्चिम प्रदेशमा आज नेकपा एमाले र नेकपा बिचको समीकरणमा नयाँ सरकार बन्ने भएको छ।
प्रदेश प्रमुख नजिर मियाँले दिएको शुक्रबार ११ बजेको समयसीमाभित्रै नेकपाका संसदीय दलका नेता खगराज भट्टले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्। प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेर शुक्रबार नै भट्टलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुख कार्यालय श्रोतले बताएको छ।
मुख्यमन्त्री सपथ सँगै केही मन्त्रीलाई नियुक्त गरेर सानो मन्त्रिमण्डल बनाउने तयारी गरिएको छ। नेकपा र नेकपा एमालेबिच मन्त्रालयमा नेकपाले चार तथा नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भइसकेको बताइएको छ।
बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका थिए। राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख मियाँले शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका थिए।
यसअघि, नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन बजेटको विवाद उत्कर्षमा पुगेर टुटेको थियो। गत असार ३१ गते मुख्यमन्त्रीले नेकपा एमालेका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए। भने त्यही दिन नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
५३ सदस्यीय प्रदेश सभामा नेकपाका २२, नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का एक जना सदस्य छन्। उनीहरूमध्ये पूर्वमुख्यमन्त्री समेत रहेका नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन् भने कांग्रेसका प्रकाशबहादुर देउवा लामो समयदेखि अमेरिका रहेका छन्। डडेल्धुराबाट स्वतन्त्रबाट निर्वाचित डा.तारा जोशीले राजीनामा दिएकाले एक सिट रिक्त रहेको छ।
प्रदेश सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ। नेकपा र एमालेसँग अहिले ३२ जना (निलम्बित बाहेक) सांसद रहेकाले सुविधाजनक बहुमत रहेको छ।
प्रकाशित: २९ श्रावण २०८३ ०९:०७ शुक्रबार





