नेपालको राजनीतिमा १० वर्षयता युवा पुस्ताको आकर्षण कम हुँदै गएको थियो। हरेक राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा ४० वर्ष उमेर कटेका मानिसको मात्रै उपस्थिति हुन्थ्यो। राजनीतिमा कुनै समय युवा पुस्ताको दबदबा थियो। मुलुकबाट युवा पलायनसँगै राजनीतिमा पनि उनीहरूको उपस्थिति पातलिएको थियो। यसैकारण युवा पुस्ताको उपस्थिति राजनीतिक क्षेत्रमा मात्र होइन, सामाजिक कार्यमा पनि कम हुँदै गएको थियो।
मुलुकमा लोकतन्त्र ल्याउन लामो समयसम्म लडेको र जेलनेल भोगेको अघिल्लो पुस्ताले शासनसत्तामा हालिमुहाली जमाएका कारण युवा पुस्ता दिक्क थियो। राजनीतिमा अपेक्षित सुधार आउन नसकेपछि फोहोरी खेल भन्दै युवा पुस्ता बिदेसिन थालेको थियो। स्वदेशमै भएका युवा पनि विकृत राजनीति देखेर निराश थिए। अघिल्लो एउटा पुस्ता करिब ३२ वर्षसम्म निरन्तर शासनसत्तामा रहँदा युवा पुस्ता राजनीतिबाट दिक्क र अलग थियो। लोकतन्त्र, मानव अधिकार र मौलिक हकका लागि लडेका नेताहरुले युवा पुस्ताको नेतृत्वलाई अस्वीकार गर्दै अएका कारण यस्तो अवस्था उत्पन्न भएको थियो।
तर अहिले त्यही पुस्ता जबरजस्त राजनीतिमा आएको छ। नेपालको सन्दर्भमा एउटा विषय लामो समयदेखि उठान हुँदै आएको छ। त्यो हो - वैदेशिक रोजगारीमा युवा पुस्ताको आकर्षण बढ्नु। यसबाट नेपालमा रोजगारी छैन, कुनै पनि सम्भावना छैन, आर्थिक प्रगति हुँदैन, रेमिटेयान्सले देश धानिरहेको छ वा कुनै पनि प्रकारले यो देशमा बस्न सकिँदैन भन्ने भाष्य निर्माण हुँदै गयो। यसैकारण युवा बिदेसिएका हुन्। मुलुकी राजनीतिमा भ्रष्टाचार हाबी हुँदै गयो। सञ्चार माध्यममा भ्रष्टाचारीमाथि कारबाही नहुनु, भ्रष्टाचारीलाई राजनीतिक दलको संरक्षण हुनु जस्ता विषयले प्राथमिकता पाइरहे।
सुशासन नहुँदा युवा पुस्तामा चरम निराशा उत्पन्न हुन थाल्यो। राजनीतिक दलका प्रमुख नेताहरुले आफ्नो विकल्प नभएको भाषण दिन थाले। उमेरले ७० वर्ष कटिसक्दा र तीन, चार, पाँच पटक प्रधानमन्त्री भएर देश हाँकिसक्दा पनि उनीहरूले राजनीतिबाट विश्राम लिन चाहेनन्। उनीहरुले राज्यसत्ता र पार्टी दुवैमा कब्जा जमाइरहे।
आलोचनात्मक चेतलाई मूलधारका पार्टीहरूले नरुचाएको आभास सर्वत्र हुन थाल्यो। परिणाम युवा पुस्ता राजनीतिबाट टाढिने क्रम बढ्यो। राजनीति फोहोर भयो, किनारमा बसी औंला ठड्याएर मात्र युवाको दायित्व पूरा होला भनेर नागरिक समाजले प्रश्न गरिरहँदा पनि मौन बसेको युवा पुस्ता फेरि राजनीतिमा आएको छ, जसलाई सकारात्मक मान्नुपर्छ।
नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहास हेर्ने हो भने युवाको भूमिका अग्रपंक्तिमा छ। आन्दोलनको मोर्चा सम्हाल्नेदखि सत्ता सञ्चालनको तहसम्म पनि युवाको भूीमकालाई कम आक्न सकिँदैन।
नेपाली राजनीतिमा अहिले पनि राजनीतिक परिपक्वतालाई कपाल फुलेको, सक्रिय जीवन पार गरेको र जेलनेल भोगेको व्यक्ति हुनुपर्ने आमधारणा छ। यो धारणामा हुर्किएको अघिल्लो पुस्ताले युवालाई राजनीतिमा अवसर र अर्थपूर्ण सहभागिता गराउन आनाकानी गरिरहेको थियो। तर सोमबार र मंगलबार (भदौ २३ र २४) मा भएको जेन–जी आन्दोलनले यो धारणालाई खण्डित गरिदिएको छ र राजनीतिमा युवाको जबरजस्त प्रवेश गराएको छ।
आफ्नो स्वार्थका लागि अरुको भविष्यलाई खाडलमा पार्ने, आफू सत्तामा पुग्न भ्रातृ संगठनको विकास गर्ने, राजनीतिलाई आपराधीकरण गर्ने, गालीगलौजको सस्ंकृतिको विकास गर्ने, क्षणिक स्वार्थका लागि युवालाई परिचालन गर्ने र बिचैमा छाड्दिने प्रवृत्तिले वाक्क जेन–जी पुस्ता आज बलियो सत्ता ढालेर नयाँ सत्ता निर्माणको क्षणमा छ।
हालको राजनीति गुन्डागर्दी, आपराधीकरण, भ्रष्टाचारमा लिप्त भएकाले यसप्रति आमनागरिकको दृष्टिकोण त्यति राम्रो छैन। राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न युवा पुस्ता लागिपरेको छ। युवा अर्थात् जेन–जी (सन् १९९७ देखि २०१२ सम्म जन्मिएको) पुस्ताले यो अभियानमा उन्मुख छ।
यो पुस्ता यसअघि राजनीतिमा कहिल्यै देखिएन, राजनीतिका अग्रभागमा पनि उभिएनन्। यो पुस्ता जतिबेला राजनीतिको पहिलो लहरमा उभियो, राजनीति सुधारमा लाग्यो त्यतिबेला करिब दुई तिहाइको सत्ता ढल्यो। देशको कार्यकारी नेतृत्व बदलेर देशको मुहार बदल्ने अभिभारा यो पुस्ताले पाएको छ।
भ्रष्टाचार, विशेषाधिकार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडकमा उत्रिएको जेन–जी पुस्ता एकै पटक सत्ता सम्हाल्ने अवस्थामा आइपुगेको छ। अवसरको न्यायोचित बाँडफाँट र क्षमतावान्हरुको बिचमा स्वस्थ प्रतिस्पर्धा गराएर राज्य सञ्चालनमा यो पुस्ता सक्षम भयो भने देशले मुहार फेर्नेछ। युवा नेतृत्वमा विभिन्न देशले काँचुली फेरिरहेका प्रशस्त उदाहरण छन्।
राजनीति दिगो परिवर्तनसहित विशेष उद्देश्य प्राप्तिका लागि गरिने सेवा हो। कतिपय अवस्थामा नीति उत्कृष्ट हुँदाहुँदै पनि राजनीति अस्वस्थ र छलकपटपूर्ण भइदिन्छ। राजनीति एउटा समाज विज्ञान पनि हो। जसरी व्याख्या गरे पनि अन्ततः राजनीति राज्यसत्ता प्राप्तिको माध्यम हो। तर राज्यसत्ता सहज ढंगले प्राप्त गर्न सकिँदैन। यसका लागि बदिदान नै चाहिन्छ भनिन्छ। जेन–जी आन्दोलनमा एकैदिन १९ जना ज्यान गयो। यही आन्दोलनको बलमा करिब दुई तिहाइको सत्ता ढल्यो।
भ्रष्ट राजनीतिले लाखौं युवाको भविष्य अन्धकार बनाउँदै लगेका बेला राज्यसत्तामा भएको जेन–जीको यो हस्तक्षेपकारी भूमिकाले नैतिकवान् नेता जन्माउन सघाउने छ। राज्यसत्ताको सही सदुपयोगमा जेन–जी आन्दोलन मार्गदर्शक बन्न सक्छ।
प्रकाशित: २८ भाद्र २०८२ ०७:२० शनिबार





