१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

दाङ ३: दोस्रो जीत निकाल्ने दाउमा गिरी, पहिलो जितको खोजीमा ओली

पछिल्लो संविधानसभा निर्वाचन २०७० मा नेपाली कांग्रेसका दीपक गिरी तत्कालीन दाङ — ५ बाट निर्वाचित भए। पश्चिम दाङको यो क्षेत्रमा लामो समय देखि आफ्नो प्रभाव राख्न सफल गिरी गत प्रतिनिधिसभा निर्वाचनमा फेरी उम्मेदवार बने। त्यो बेला यो क्षेत्र दाङको ३ नम्बर थियो र अहिले पनि यो क्षेत्र ३ नम्बर नै छ।

अघिल्लो निर्वाचनमा गिरीका लागि कांग्रेसको एकल जनमत जीतका लागि पर्याप्त बनेन। बामगठबन्धनका सामु जुधेका गिरी त्यो बेला प्रतिनिधिसभा सदस्य बन्ने दौडबाट चुके।

अघिल्लो निर्वाचनमा भोग्नु परेको पराजयलाई जीतमा बदल्ने योजना मुताबिक कांग्रेस केन्द्रीय सदस्य गिरी फेरी अहिले सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार चुनिएका छन्। सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका गिरी कांग्रेसको जनमतसंगै गठबन्धनमा आवद्ध दलको मतलाई सुरक्षित राखेर प्रतिनिधिसभामा प्रवेश गर्ने तयारीमा छन्। उनीसंग एमालेकी कोमल ओली प्रतिष्पर्धामा छिन्।

यसर्थ गिरी अहिले दोस्रो जीत निकाल्ने दाउमा छन् भने ओली पहिलो जीतका खोजीमा छिन्। तथापी गिरीका लागि ओलीको चुनौती त्यति पेचिलो बन्ने देखिन्न। गत स्थानीय तहको मतलाई आधार मान्ने हो भने पनि गिरीको जीत सहज आँकलन गर्न सकिन्छ।

उनको क्षेत्रमा रहेका तुलसीपुर उपमहानगरपालिका बाहेक अन्य तीन वटा गाउँपालिकामा कांग्रेसले एकल रुपमा जीत हात पारेको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जीत निकालेका दंगिशरण गाउँपालिका, बबई गाउँपालिकामा कांग्रेसले एमालेको बिरासत् खोसिदिएको छ। यसैगरि अघिल्लो स्थानीय तहको निर्वाचनमा आफूले जीत निकालेको शान्तिनगर गाउँपालिकाको जनमतलाई कांग्रेसले स्थानीय तहको निर्वाचनमा गुम्न दिएन।

यससंगै गिरीको व्यक्तिगत प्रभावलाई उनको सहज जीतको अर्को बलियो आधार कांग्रेसीहरुले मानेका छन्।

‘उहाँ (गिरी) सिँचाई मन्त्री हुँदा वा सांसद हुँदा यो क्षेत्रमा गरेका कामहरुको राम्रो प्रभाव मतदाताहरुमा छ ,’ कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य सुबास डाँगीले भने ‘आम मतदाताहरुको रोजाईमा गिरी पर्नुभएको छ।’

त्यसोत, आफ्नो क्षेत्रमा देखिएको चुनावी माहोलले आफ्नो जीत सुनश्चित भएको दाबी गिरी स्वयं गर्छन्। ‘मतदाताहरुले बिकास निर्माणलाई प्रमुख रुपमा हेर्ने कुरा हुन्छ,जुन नतिजा मैले दिलाएको छु,’ गिरी भन्छन् ‘यसर्थ मतदाताहरुमा परेको म प्रतिको सकारात्मक प्रभावले मैले आफ्नो बिजयलाई सुनिश्चित देखेको छु।’

यससंगै कांग्रेस भित्रको मजबुत एकताले पनि गिरीलाई झनै आशाबादी बनाएको छ। यो क्षेत्रमा यसअघि दिपक गिरी र गेहेन्द्र गिरी दाजुभाईको बीचमा हुने प्रतिष्पर्धाले कांग्रेसको नतिजा कांग्रेस अनुकुल नहुने गरेका चर्चाहरु चल्थे। तर अहिले गिरी दाजुभाईको सम्बन्धमा चिसोपना छैन। ‘अहिले दुई दाजु भाईको मिलाप मजबुत बनेको छ,अरुले सोचे जस्तो असहयोगको वातावरण बन्ने कुनै सम्भावनै छैन,’ क्षेत्रीय सदस्य डाँगी भन्छन् ‘कांग्रेस र गठबन्धनलाई कसरी निर्वाचित बनाउने भन्ने मै चिन्तन छ।’ गिरी दाजु भाईको मिलापले ओलीलाई त्रस्त पारेको छ। उनीहरु बीचको मिलापले आफूलाई अप्ठ्यारो पर्ने खतरा देखेकी ओलीले केहि दिन अघि नागरिकसंग भनेकी थिईन् ‘कांग्रेसीहरु खर्लप्पै मिलिसके,अप्ठ्यारो स्थिती बन्यो।’

यता एमालेबाट प्रतिष्पर्धामा रहेकी ओलीलाई गिरीले बलियो प्रतिष्पर्धीका रुपमा देखेका छैनन्। राप्रपा परित्याग गरेर एमाले प्रवेश गरेकी ओली राष्ट्रियसभा सदस्य बनिन्। पार्टीमा लामो समय सम्म योगदान नगरेकै व्यक्तिाई उम्मेदवार बनाईएको भन्दै एमाले भित्रकै अगुवा नेताहरु त्यति सन्तुष्ट छैनन्। त्यसो त, ओली अघिल्लो प्रतिनिधिसभा सदस्यको निर्वाचनमै उम्मेदवार बन्ने दौडमा थिईन्। तर उनलाई पार्टीले टिकट दिएन। अनि स्वतन्त्र उम्मेदवारी दिएकी थिईन्। तर पछि उनलाई राष्ट्रियसभा सदस्य बनाउने आश्वासन पार्टीले दियो र उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिईन्। अनि उनी राष्ट्रियसभा सदस्यको उम्मेदवार बनिन् निर्वाचित पनि भईन्। उनको यो भूमिकालाई पनि एमाले भित्र आलोचना भएको थियो।

पुनः अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी ओली मूलतः महिलाको मत तान्ने दौडमा छिन्। महिलाको प्रतिनिधित्व गरेर संसद प्रवेश गर्ने उनको चुनावी एजेण्डाले नै उनलाई महिला मतले पल्लाभारी बनाउने बिश्वासमा रहेको पुष्टि गर्छ।

अंकगणितीय हिसाबले हेर्ने हो भने यो क्षेत्रमा एमालेको जनमत कमजोर छ। फलतः कांग्रेसी मतको प्राप्ती बिना एमालेले आफ्नो जीत सहज देखेको छैन। अनि कांग्रेसको मतलाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने योजनामा एमाले छ। ‘कांग्रेसको मतलाई आफू तिर तान्न सके मात्रै सहज जीत हुन्छ भन्ने यथार्थताबाट एमाले टाढा छैन,’ कांग्रेस क्षेत्रीय सदस्य डाँगीले भने ‘तर एमालेले सोचे जस्तो कांग्रेसको मत एमालेको पक्षमा जाँदैन, किनकी अहिले कांग्रेसको जीत कांग्रेसीहरुका लागि अनिवार्य छ।’ यो निर्वाचनमा कांग्रेसले जीत हाँसिल गर्न नसके बर्षौँ सम्म कांग्रेसको संगठन कमजोर बन्ने र जिल्लामा एकछत्र एमाले हाबी हुने खतरा देखि कांग्रेसीहरु सजग बनेका छन्।

त्यसोत, कांग्रेसले पनि आफ्ना कार्यकर्ताहरुलाई यसको सञ्चार गरिरहेको छ। ‘यदि अहिले कांग्रेसले जितेन भने एमालेले बर्षौँ सम्म कांग्रेसलाई मिचेर राख्छ भन्ने खतरा देखि कांग्रेस कार्यकर्ता साथीहरु सजग भैसक्नु भएको छ,’ डाँगी भन्छन् ‘यसर्थ कांग्रेसको मत सुरक्षित रहन्छ।’

कांग्रेसका गिरी र एमालेकी ओली बिचको प्रतिष्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी यो क्षेत्रमा चुनौती बन्ने देखिन्छ पनि। यो पार्टीले यो क्षेत्रको मत काट्न सक्ने सम्भावना देखि गिरी र ओली स्वयं सचेत छन्। तर यो पार्टीले यो क्षेत्रमा जीतको ल्याकत भने राख्न सक्दैन। ‘घण्टिले कसको मत काट्छ भन्ने प्रमुख कुरा हो,’ एक कांग्रेसीले भने ‘तर त्यसको फाईदा कांग्रेसलाई नै हुन्छ।’ उनका अनुसार कांग्रेसकै मत काटेको अवस्थामा पनि त्यो मत एमालेमा जान बाट जोगिएको मत हुने छ। ‘कांग्रेसी मत घण्टिमा गएन भने सूर्यमा जान सक्ने खतरा रहन्थ्यो,’ उनले भने ‘यसो हुँदा एमालेको मत बढ्न जान्थ्यो, तर अब घण्टिले एमालेमा जान बाट रोक्छ यो फाईदाको कुरा हो।’ तर घण्टिले युवा मतलाई तान्न सक्ने भएकाले कुनै एक पार्टीको मात्रै मतलाई प्रभाव नपार्ने बिश्लेषण भैरहेको छ।

‘युवाहरुको मत त्यता जाने हो, फलतः कुनै एउटा पार्टीको युवा मत मात्रै त्यता जाने हैन,’ ति कांग्रेसीले भने ‘एमालेबाट पनि घण्टिमा मत जान्छ।’

प्रकाशित: १ मंसिर २०७९ १५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App