१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दाङ १ मा थारु उम्मेदवारबीच प्रतिस्पर्धा

दाङ १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेकी शान्ता चौधरीसँगको भेटमा हामीले प्रश्न सोध्यौं–आफ्नो प्रतिस्पर्धी कसलाई देख्नुभएको छ ? शान्ता केही गम्भीर देखिइन्। त्यसपछि उनले भनिन्, ‘ढकिया (नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न) रफ्तारमा छ। केही भन्न सकिने अवस्था छैन।’

यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट पनि हेबिवेट उम्मेदवार छन्। गठबन्धनको सहयोगमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले यहाँ सहरी विकासमन्त्री मेटमणि चौधरीलाई उठाएको छ। उनी अघिल्लो पटक पनि यही क्षेत्रबाट निर्वाचित सांसद हुन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट लडेका मेटमणि ३७ हजार ९ सय ८ मतसहित विजयी हुँदा नेपाली कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन्।

यही क्षेत्रबाट एमालेकी गंगा चौधरी पनि पार्टीबाट टिकट नपाएर विद्रोह गर्दै हाम्रो नेपाली पार्टी (लौरो अभियान) की उम्मेदवार बनेकी छिन्। यसरी बहालवाला मन्त्री र आफ्नै पार्टीबाट विद्रोह गरेकी निवर्तमान सांसद गंगा चौधरीसँग लडिरहेकी एमाले उम्मेदवार शान्ता भने रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग डराएकी छन्। उक्त पार्टीबाट सुरेन्द्र चौधरी उम्मेदवार छन्।

‘सोझासिधा थारु समुदायलाई भड्काएर जातीय सेन्टिमेन्ट तान्ने कोसिस हुँदै छ। अरु दललाई थारुविरोधी भनेर भित्रभित्रै भावनामा बगाइँदै छ,’ शान्ताले भनिन्, ‘उनीहरूले यसरी भड्काउँदै लगे, हामीले सम्झाउन नसके प्रतिस्पर्धाको स्वरुप भन्न सकिन्नँ।’

त्यसपछि हामी थारु आसपासका थारु बाहुल्य गाउँमा पस्यौं। जहाँ पस्दा भित्रभित्रै नागरिक उन्मुक्ति पार्टीका लागि समुदायले धारणा बनाउँदै लगेको जानकारी पाइयो। ‘यसपटक हामी आफ्नै थारुको पार्टीलाई मत दिन्छौं। हाम्रा हकअधिकारका विषयमा अरूले खासै सुनेनन्,’ लमही नगरपालिका–६ का जितुवा चौधरीले भने, ‘त्यसैले यस पटक नयाँ पार्टीलाई भोट दिन्छौं।’ उनको जस्तै धारणा थारु बस्तीमा बाक्लै देखियो।

अहिले थारु बाहुल्य अधिकांश गाउँमा नागरिक उन्मुक्ति पार्टी कार्यकर्ता दिनहुँ गइरहेका छन्। उनीहरू भोटसँगसँगै संगठनसमेत विस्तार गरिरहेका छन्। सँगै टीकापुर घटनापछि राज्यले थारुमाथि दमन गरेको, रेशम चौधरीलाई जेल हालेकोलगायत सेन्टिमेन्ट भजाउने कोसिस उक्त पार्टीको देखिन्छ। जसको प्रभाव सोझासिधा जनतासम्म परेको छ।

‘अधिकार माग्दा रेशमलाई जेल हाल्यो भन्छन्। हामी अझै विभेदमा छौं। त्यही भएर ढकियामा भोट हाल्न भनिरहेका छन्,’ लमही–७ हस्नापुरकी गुलिया चौधरी भन्छिन्, ‘सबै त्यही भन्छन्। अरूले भनेको मान्नैपर्छ।’

यही देउखुरी क्षेत्रमा लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिका पनि पर्छन्। यी चारवटै पालिका दाङ क्षेत्र नम्बर १ मा कायम छन्। यही क्षेत्रमा घोराही उपमहानगरपालिका–१, २, ३ र ५ गरी चार वडा पनि समावेश छन्। जहाँ पनि घना थारु बस्ती नै छ। उसो त जातीय आधार जिल्लामै सर्वाधिक २९.५१ प्रतिशत थारु छन््। यसमा पनि क्षेत्र नम्बर १ मा मात्रै झन्डै ४८ प्रतिशत बासिन्दा थारु रहेको नागरिक उन्मुक्ति पार्टीले तथ्यांक राखेको छ। त्यसपछि दोस्रोमा खसआर्य २१ प्रतिशत र चौथोमा मगर समुदाय १० प्रतिशत छन्।

उन्मुक्तिले प्रमुख दलका कमजोरीको फाइदा उठाउने रणनीति बनाएको छ। केही हदसम्म फाइदा उठाइरहेको पनि देखिन्छ। केन्द्रीय सदस्य मनोनीत नगरेको भन्दै कांग्रेसबाट राजीनामा दिएकी पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य पार्वती डिसी चौधरी नै नागरिक उन्मुक्तिमा प्रवेश गरेकी छिन्। उनको समानुपातिक सूचीमा नाम छ।

यस्तै यहाँको ठूलो दल कांग्रेसको उम्मेदवार नहुनु र त्यसभित्रको अन्तर्विरोधमा खेल्न खोजिरहेको छ। गत स्थानीय तह निर्वाचनअनुसार यहाँ कांग्रेसका वडाध्यक्षको मत २९ हजार ७ सय ५७, एमालेको २७ हजार २५, माओवादी केन्द्रको १९ हजार २ सय ७६, राप्रपाको २ हजार ३ सय ५०, नेकपा एसको २ हजार ३ सय ४१ र जसपाको ८ सय ७ मत छ। सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार छैन। यस्तै सत्ता गठबन्धनका उम्मेदवार सहरी विकासमन्त्री मेटमणि चौधरीले विगतका निर्वाचनमा ठूलो आश्वासन बाँडेका तर काम नगरेका, जितेपछि जनताको सम्पर्कमा नबसेको आरोप उनीहरूले लगाउँदै आएका छन्।

एमालेभित्र पनि उस्तै असन्तुष्टि छ। उम्मेदवार शान्ता चौधरी संविधानसभा सदस्य र अघिल्लो पटक समानुपातिक सांसद रहेकी पात्र हुन्। एमालेले शान्तालाई टिकट दिएपछि निवर्तमान सांसद गंगा चौधरीले विद्रोह नै गरेकी छन्। एमालेभित्र पनि अधिकांश नेता असन्तुष्ट छन्। जसको मत सुरेन्द्रले तान्न सक्ने देखिन्छ।

थारु उम्मेदवार नै आमनेसामने यसरी रोचक बनेको थारु बाहुल्य मैदानमा प्रस्तुत भएर मुख्य प्रतिस्पर्धी देखिएका सबै उम्मेदवार थारु समुदायकै छन्। सत्ता गठबन्धनबाट मेटमणि, एमालेबाट शान्ता, नागरिक उन्मुक्तिबाट सुरेन्द्र चौधरी र एमालेबाट विद्रोह गरेर लौरो अभियान समातेकी गंगा सबै थारु हुन् र उनीहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।

थारु मतलाई प्रभावित पार्न मुख्य दलहरुले थारु उम्मेदवार खडा गर्दा थरुटहकै अजेन्डा उठाउँदै आएको पार्टीको प्रवेशले यहाँको नतिजा रोचक बनाएको छ। तर सबै आ–आफ्नै जित्नको दाबी गरिरहेका छन्।

प्रकाशित: १ मंसिर २०७९ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App