१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपन्देही क्षेत्र नं. ५: यसअघिका प्रतिद्वन्द्वीनै चुनावी सारथी हुँदा शाहलाई सजिलो,एमालेका घिमिरेलाई टुरिष्टको ट्याग

भनिन्छः राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन। यो भनाइ अहिले रुपन्देही क्षेत्र नंं ५ को निर्वाचनमा चरितार्थ भएको छ। यो निर्वाचन क्षेत्रमा २०७४ का मुख्य प्रतिद्वन्द्वी  नेताहरु नै  यसपाली चुनावी सारथी भएर प्रचारमा खटिएका छन्।  पाँच दलिय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार नेपाली काँँग्रेसका भरतकुमार शाह छन्। तीनै शाहका पूर्व प्रतिद्वन्द्वी अहिले उनको चुनावी सारथी छन्। भने शाहका अहिलेका प्रतिस्पधी छन एमालेका बाशुदेव घिमिरे।

यो क्षेत्रमा ५ दलिय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका भरतकुमार शाह उम्मेदवार छन्। ५(१) माओवादीका विनोद पहाडी र ५(२) मा कांग्रेसका फकरुद्दीन खान उम्मेदवार छन्। तीन दलिय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बासुदेव घिमिरे उम्मेदवार छन भने प्रदेशसभा ५(१)मा एमालेबाट भुमिश्वर ढकाल र ५(२)बाट रामचन्द्र यादव उम्मेदवार छन्।  

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा शाहका मुख्य प्रतिद्वन्द्वी माओवादीका डिलाराम आचार्य थिए। तत्कालिन समयमा एमाले माओवादी गठबन्धनबाट उठेका आर्चायलाइ शाहले १३ हजार बढी मतले हराएका थिए। त्यती बेला तेश्रो स्थानमा जनता समाजबादी पार्टीका मोहम्मद वकिल मुसलमान थिए। तर यसपाली भने पाँच दलिय गठबन्धनकै कारण उनीहरु एक ठाँउमा छन्।  आचार्य र मुसलमानले काँग्रेसका शाहसंगै प्रदेशसभाका उम्मेदवारहरुलाई पनि भारी मतले जिताउन आग्रह गर्दै घरघरमा मत माग्दै हिँडेका छन्।  

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी वनाउन काँधमा काँध मिलाएर अघि बढेको र  भारी मतले शाहले जित्ने दाबी गरे। पाँच नम्बर क्षेत्रमा गठबन्धन दलहरुको बलियो जनाधार हुनु र गठबन्धन दलहरुबीच कसीलो र विश्वासीलो सम्बन्ध हुनु नै जितको मुख्य आधार भएको आर्चायको दाबी छ।  

जसपाका तत्कालिन नेता रहेका माओवादीका मोहम्मद वकिल मुसलमानले पनि यो निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले ३० हजारको फराकिलो मतले विजयी हुने दाबी गरे।  

नेता शाहले आफनो निर्वाचन क्षेत्रको विकासमा खेलेको भुमिकाका कारण मतदाताले यसपाली पनि उनैलाइ भोट दिएर जिताउने दाबी मुसलमानको छ। ‘उहाँले विकासका आयोजनाहरु ल्याउदा यो क्षेत्रमा सबै जाती समुदायलाइ समेटेर योजना ल्याउनुहुन्छ। यहाँको जनताले मेरो गाँउमा यो काम गरीदिनुस भन्यो भने त्यो काम गरीदिनुहुन्छ, त्यही भएर यहाँका मतदाताले उहाँलाइ सम्झन्छन र भोट पनि दिन्छन’ जसपाका नेता  मोहम्मद वकिलले।  

नेता शाहले पनि यसअघिको निर्वाचनमा तीनजनाबीचको  प्रतिस्पर्धामा १३ हजार फरक मतले जितेको स्मरण गर्दै उनले अबको निर्वाचनमा जितको अन्तर दोब्बर बनाउने दाबी गरे। यसअघिका निर्वाचन जितेपछि पनि जनतासंग कहिल्यै टाढा नभएको र आफुले सुरु गरेका र सम्पन्न हुने अवस्थामा रहेका विकासका आयोजनाहरुलाइ अवको कार्यकालमा पुरा गर्ने र थप नयाँ योजनाहरु ल्याउने प्रतिबद्धता शाहले गरेका छन्।  

शाहले कञ्चन सिचाई,विभिन्न नदिहरुमा तटबन्धन,सालझण्डी लगायतका क्षेत्रमा खानेपानी आयोजनाहरु, रुद्रपुरमा–फायरलाइन सडक,स्यालो टयुवेल, डिप ट्युवेल जस्ता ठूला साना आयोजनाहरु मार्फत क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन्। उनले दानव नदीमा १६ वटा पुल  निमार्ण गर्दा धेरैलाई राहत भएको रुद्रपुरको लुडिया चोकका श्याम शङ्कर लोधले बताए। लुम्बिनी सांस्कृतिक नगरपालिका भित्र पनि थुप्रै सडक,पुल,स्यालो टुयुवेल डिप टयुवेल जस्ता आयोजनाहरु नेता शाहले ल्याएको मधुवनीको किसान नसुद्धिन खाँले बताए। गाँउको डुवान समस्या  समाधान गर्न शाह र प्रदेश सांसद फकरुद्धिन खानले केन्द्र र प्रदेशबाट योजना ल्याएको ती योजना सम्पन्न गर्न यसपटक पनि तीनै नेतालाइ भोट दिने खाँको भनाइ थियो।

नेता शाहले आफूले जिते यसअघि आफैले ल्याएका सिचाइ,सडक,खानेपानी ढल निकास,जस्ता आयोजनाहरुलाई पूरा गर्ने र स्वास्थ्यका लािग निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने,स्वास्थ्य चौकीको स्तरोन्नती, स्कुलहरुको भौतिक तथा शैक्षिक सुधारका लागि महत्वपुर्ण योजना ल्याउने। प्राविधिक कलेज स्थापना, किसानको समस्या समाधान गर्न चिसाइ मल  र वीउको उचित प्रवन्ध गर्ने,नाकाको व्यवस्थापन, अन्तराष्टिय बुद्ध जन्मस्थल लुम्बिनीलाइ स्थानीय बस्ती र समुदायसग जोडेर सास्कृतिक पर्यटन प्रबद्धन गरी रोजगारी सिजर्ना महिला युवा लक्षित स्वरोजगार मुलक तालिम संचालन लगायतका योजना सहित मतदाताको घरदैलोमा पुगेका छन्।  

पुर्व अर्थराज्य मन्त्री समेत रहेको शाह प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको पुर्व सभापति समेत हुन्। शाहले यही क्षेत्रबाट २०५६,२०७० र २०७४ मा तीन पटक निर्वाचन जितेका छन्। २०६४ को निर्वाचनमा उनी  एमालेका रामनाथ ढकालसंग पारजित भएका थिए। उनै शाहसंग अहिले एमालेका बाशुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा छन्।

स्थानीय तहको मेयर हुँदा तिलोत्तमा नगरलाइ कार्यसम्पादनमा उत्कृष्ट नगर बनाएको भनेर चर्चा पाएपनि घिमिरेको यो पहिलो संसदीय चुनाव हो। त्यसका अलावा यो क्षेत्रको टिकट वितरणमा एमालेभित्र भएको भाडभैलोको प्रभाव अहिलेसम्म पनि देखिएको छ। जसको असर घिमिरेलाइ पर्ने देखिन्छ। एमाले फुटदा विज्ञप्ति नै जारी गरी माधवकुमार नेपाललाइ समर्थन गर्नेमा घिमिरे सबैभन्दा पहिलो जनप्रतिनिधि थिए। तर उनी आफनो अडानमा टिक्न सकेनन्। नेता बिष्णु पौडेलले उनलाई केही दिनमै ओली तिरै फर्काउन सफल भएका थिए। संसदीय निर्वाचनमा टिकट दिलाइदिने नेता पौडेलको सर्तमा घिमिरेले आफनै निर्णय उल्ट्याएको चर्चा त्यतीबेलै एमाले बृत्तमा खुव चर्चा भएको थियो। त्यसको पुष्टि गर्दै घिमिरेले आफनो क्षेत्रमा नपाए पनि एमाले नेता खिमलाल भट्टराइको क्षेत्र रहेको रुपन्देही ५ मा प्रतिनिधिसभाकै टिकट पाए।  

एमाले उपाध्यक्ष पौडेल मार्फत रुपन्देही क्षेत्र नं. ५ मा घिमिरेले टिकट ल्याएका थिए भने  पार्टीका महासचिव शंकर पोखरेल मार्फत सोही क्षेत्रबाट राजनीति गर्दै आएका एमाले पोलिटब्यूरो सदस्य समेत रहेका भट्टराईले पनि टिकट ल्याएका थिए।  

तर भट्टराइ काठमाडौंबाट आउन ढिला गरे। घिमिरेले उनलाइ जितेर पहिले नाम दर्ता गराए। भटटराईले पनि उम्मेदवारी दर्ता गराए। सोही दिन साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्रमा घिमिरेलाई भुलबस टिकट दिइएको भन्दै भट्टराइ नै आधिकारिक उम्मेदवार भएको प्रष्ट पारीयो।  

तर निर्वाचन आयोगले कानुन सम्बत घिमिरे नै आधिकारिक भएको निर्णय सुनायो। त्यसपछि चर्केको अन्तर विरोधलाई साम्य पार्न भट्टराईलाई नै घिमिरेको चुनावी कमाण्डर बनाइयो र व्यापक प्रचार प्रसार पनि गरीयो। भट्टराइलाइ अन्यत्र सेट गर्ने गरी पार्टीले सम्बोधन गरेकाले विवाद नभएको एमालेका जिल्ला नेताहरुले बताउने गरेका छन्।  

तर स्थानीय स्तरमा भने घिमिरे टुरिष्ट उम्मेदवार भएको र भट्टराइ माथि नै घात गरेको भनेर एमाले भित्रै उनको आलोचना हुने  गरेको पाइन्छ। २०७४ मा समेत चुनावी तालमेलकै कारण भन्दै भट्टराईलाई टिकटबाट बञ्चित गराइएको चर्चा हुने गरेको पाइन्छ। आन्तरिक गुटबन्दिको प्रभाव, विपक्षी गठबन्धनका दलहरुले यसअघिको निर्वाचनमा ल्याएको मतपरिणाम जस्ता विषयले घिमिरेलाई यो निर्वाचनमा बढी संघर्ष गर्नु पर्ने देखिन्छ। तर एमालेका जिल्ला तहका नेताहरु भने भट्टराइका नाममा कुनै घात नहुँने दाबी गर्छन।  

घिमिरेले पनि पार्टीका नेता कार्यकर्ता सबैले एकजुट भएर आफूलाई सहयोग गरेको बताउँछन। विपक्षी आतीएर गलत हल्लाहरु चलाएको भन्दै उनले जनताले आफूलाई विकासका लागि जसरी पनि जिताउने विश्वास व्यक्त गरे। ‘मैले तिलोत्तमा नगरपालिकालाई जसरी नमुना बनाए त्यस्तै यो क्षेत्रलाइ पनि पाँच वर्षमा विकासको नमुना क्षेत्र बनाउने छु,  मेरो यो अभियानमा यहाँका जनताले साथ दिनुहुनेछ भन्ने विश्वास छ’ घिमिरेले भने।  

उनले आफूले जिते सबैभन्दा पहिले स्तरीय र सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, शिक्षा,स्वास्थ्य खानेपानीकालागि दिर्घकालिन महत्वका आयोजनाहरु ल्याउने,किसानका समस्यालाइ सम्बोधन गर्दै मल,बिउ,सिंचाईको प्रवन्ध गर्ने,रोजगारी सिर्जनाका लागि सिपमुलक र आयमुलक कार्यक्रमका योजना ल्याउने,गुणस्तरीय शिक्षाकालागि सरकारी विद्यालयको भौतिक तथा शैक्षिक पुर्वाधार विकास गर्ने जस्ता योजनाहरु अगाडी सारेका छन। स्थानीय तहमा गरेका विकासका नमुनाहरुलाइ ठुलो क्षेत्रमा विस्तार गर्दै  जनताको सेवा गर्नका लागि आफूले यो क्षेत्रबाट उम्मेदवारी दिएको भन्दै उनले मत दिएर एक पटक परिक्षण हुने मौका दिन आग्रह पनि गरे।  

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाइ हेर्दा एमालेको २७ हजार १४५,काँग्रेसको २६ हजार ८८८,जसपाको ९हजार ३३७,जनमत पार्टीको ५ हजार ६५६,माओवादी केन्द्रको ४ हजार ६२५,लोसपाको ३ हजार ५५६,राप्रपाको २ हजार ८१३,र नेकपा एसको ११६ मत छ। यो मतलाइ आधार मान्ने हो भने एमाले नेतृत्वको तीन दलिय गठबन्धन झिनो मतले अगाडी देखिन्छ। तर त्यसका बावजुद टिकट वितरणमै देखिएको एमाले भित्रको गुटगत राजनीतिको प्रभाव त्यती सजिलै मेटिने देखिदैन। एकातिर पार्टीको गुटगत राजनीति अर्कोतिर उम्मेदवारलाई टुरिष्ट उम्मेदवारको टयाग लागेकाले घिमिरे कमजोर देखिएको विश्लेषण गरीएको छ।  

प्रकाशित: १ मंसिर २०७९ ०९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App