१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा निर्वाचनको तयारी अन्तिम चरणमा

मंसिर १ गते साझसम्म कर्मचारीहरु मतदान केन्द्र पुग्ने

जिल्लामा मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। ईन्सेकद्वारा आयोजित निर्वाचनको तयारी विषयमा सरोकारवलासंगको छलफल कार्यक्रममा प्रजिअ धर्मेन्द्रकुमार मिश्रले सो जानकारी गराएका हुन्।

जिल्लाको ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। यस्तै मतदान अधिकृत र सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुलाई नियुक्ति दिई सकेको छ। निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको उनले बताए।  

निर्वाचनलाई लक्षित गरी निर्वाचन विशेष सुरक्षा रणनीति तयार गरी अघि बढेको उनले बताए। ‘ सुरक्षाकर्मीलाई निर्वाचनका लागि सम्बन्धित स्थानमा परिचालन गरी सकेका छौ’ उनले भने। निर्वाचनमा म्यादी, नेपाल सशस्त्र प्रहरी नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटिने छन्। जिल्लामा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।  

जिल्लामा २ सय ३५ मतदान स्थालमा ४ सय ७३ मतदान केन्द्र कायम गरिएको छ। सुरक्षा स्थितीलाई हेरेर २४ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील बाँकी सामान्यमा बर्गीकरण गरी सुरक्षा ब्यवस्था मिलाइएको प्रजिअ मिश्रले बताए। निर्वाचनको दिन ४४ वटा भन्दा बढी सुरक्षा मोबाइल गस्ती परिचालन हुने छन्। यस्तै सहायक प्रजिअ अनिल पौडेलको नेतृत्वमा सुरक्षा अनुमगन टोली समेत परिचालन गरिनेछ।  

जिल्लामा कायम गरिएको ४ सय ७३ वटै मतदान केन्द्रलाई नेपाली सेनाको प्राविधिक टोलीको सहयोगमा गुगल म्यापमा राखिएको छ। ‘हरेक मतदान केन्द्रमा १० मिनेट मै सुरक्षाकर्मीको टोली पुग्ने गरी प्रबन्ध गरिएको छ’ प्रजिअ मिश्रले भने। निर्वाचन बहिस्कार गर्ने टोलीमाथी विशेष निग्रानी गरिएको उनले बताए। शान्तिपुर्व र निर्वाचनलाई कुनै असर नपुग्ने गरी आफनो गतिविधी गर्न पाउने सबैलाई अधिकार रहेको भन्दै उनले शान्ति सुरक्षामा खलन पुग्ने गतिविधि गरिए कानुन अनुसार कारबाही गरिने उनले बताए।  

प्रतिनिधिसभाको ३ र प्रदेशसभाको ६ सिट रहेको कपिलवस्तुमा ३ हजार ५८० कर्मचारी परिचालन गरिएका छन्। जिल्लामा २ सय ३४ स्थायी र कारागारमा १ स्थल गरी २ सय ३५ मतदान स्थल छन। यस्तै ४ सय ७३ मतदान केन्द्र छन्। प्रत्येक केन्द्रमा १ मतदान अधिकृत एक सहायक मतदान अधिकृत ५ सहायक कर्मचारी र एक सहयोगी कर्मचारी हुने छन्।  

यस्तै प्रत्येक केन्द्रमा ३ जनाका दरले स्वयमसेवक कर्मचारी समेत राखिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थीले बताए। उता मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिने अभिमुखीकरण कार्यक्रम समेत दिइएको क्षेत्र नम्बर २ को सहायक निर्वाचन अधिकृत सुमन पाण्डेयले बताए। बदर मत कम गर्न र मतदान गर्ने तरिका बारे सिकाउन कपिलवस्तुमा १० वटै पालिकाले महिला स्वयमसेविकालाई मतदाता शिक्षाका लागि खटाएको छ। कार्तिक १८ देखि मंसिर १ गतेसम्म उनीहरुले घर घरमा गई मतदाता शिक्षा दिइरहेका छन्।

उता जिल्लामा पहिलो पटक कारागारलाई अस्थायी मतदान केन्द्र कायम गरिएको छ। कारागारमा रहेका ५७ जना कैदीबन्दीले मतदान गर्ने छन्। कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने छन्। कारागरामा रहेका ४ सय ७० मध्ये ५७ जनाले समानुपाति तर्फ मतदान गर्ने जेलर मनोज सैनीले बताए। उता निर्वाचनलाई लक्षित गरी कपिलवस्तुका सिमा नाका निर्वाचनको ७२ घन्टा अगावै बन्द गरिने छ। यस्तै निर्वाचन अवधिभर मदिराको बिक्री वितरण र सेवनमा रोक लगाइएको छ।  

७२ प्रकार निर्वाचन सामग्री पठाइदै

मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने  ७२ प्रकारका चुनावी सामाग्रीसहित केन्द्रमा पठाइदै छ। ती सबै सामाग्रीहरु मतदान केन्द्र अधिकृत र सहायक मतदान अधिकृतmलाई बिहीबार बिहान ३ वटै निर्वाचन अधिकृत कार्यालय मार्फत उपलब्ध गराइने जिल्ला निर्वाचन अधिकारी राजीव पन्थीले बताए। ५७ प्रकार सामाग्री निर्वाचन आयोग र १५ प्रकारका निर्वाचन कार्यालयले ब्यवस्था गरेको उनले बताए।  

मतपत्र, मतपेटिका स्वस्तिक छाप, रंगिन र सादा मतदाता नामावाली, सुरक्षा सिल, पर्मानेन्ट मार्कर लगायतका सामाग्री पठाइने छ। सियो, धागो, सुतली (डोरी) खापसियो, सलाई, मैनबत्ती, लाह, स्ट्याम्प, स्टिज,पिन, फोटोकपी पेपर, नेपाली कागज,छेकाबार, रबर म्याट, सुतली लगायत सामाग्री समेत पठाइने छ। त्यस्तै सेतो कपडाको बोरा, भित्र, बाहिर, महिला, पुरुष जनाउने कार्ड, कर्मचारी परिचयपत्र, उम्मेदवार प्रतिनिधि परिचयपत्र, उम्मेदवार र स्वयम्सेवक परिचयपत्र, विभिन्न अनुसूची लगायत पनि ७७ प्रकारका निर्वाचन सामाग्री समेत पठाइने पन्थीले बताए। चार प्रकारका मतपत्र प्रयोगमा आउने छन्। आयोगले प्रत्यक्ष र समानुपातिकका फरक–फरक रंगमा पत्रपत्र प्रयोगमा ल्याइँदै छ।  

प्रकाशित: ३० कार्तिक २०७९ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App