coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चितवनमा भोलिदेखि मतदान कार्यमा प्रयोग हुने सामान वितरण गरिँदै

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिने मतदान अधिकृतलाई मतदान कार्यमा प्रयोग गरिने सामान भोलिदेखि वितरण गरिने भएको छ।  

जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचन अधिकृतको कार्यालय मार्फत भोलि र पर्सि  मतदान कार्यमा प्रयोग गरिने सामान वितरण गर्न लागेको निर्वाचन अधिकृत भिमसेन कार्कीले जानकारी दिए। जिल्लाका दुर्गम ठाउँमा पुग्ने मतदान अधिकृतले भोलि नै बुझ्न सक्ने कार्कीले जानकारी दिए। पहिलो दिन इच्छाकामना र कालिका क्षेत्रमा खटिने कर्मचारीलाई वितरण गरिने छ। सुगम क्षेत्रका मतदान अधिकृतले पर्सि मतदान सामाग्री बुझ्न सक्ने उनले बताए। उनका अनुसार मतदान अधिकृतले मतपेटिका, मतपत्र सहित ६३ प्रकारका मतदान सामाग्री बुझ्ने छन्।  

चितवनमा ४ सय ६० मतदान केन्द्र छन्। निर्वाचनको कार्यतालिका अनुसार, मंसिर १ गते सबै मतदान केन्द्रमा कर्मचारीहरू पुगिसक्नु पर्छ। कर्मचारीहरूले त्यहाँ पुगेर कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पूर्वाधार तयार गर्ने, मतदाता परिचय पत्र वितरण गर्ने, मतदाता शिक्षाको लागि नमुना मतदान गर्ने लगायतका काम गर्नुपर्ने हुन्छ।

जिल्लामा ४ लाख ८ हजार ३४२ जना मतदाता रहेको छन्। यहाँ ३ हजार ६ सय ८० कर्मचारी निर्वाचनमा खटिँदै छन्।  सुरक्षाकर्मी बाहेक एउटा मतदान केन्द्रमा आठ जना कर्मचारी खटिन लागेको कार्कीले जानकारी दिए। त्यसबाहेक ४ जना स्वयमसेवक हुने छन्।  

जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि दुई स्थानमा मतदान गर्ने व्यवस्था गरेको छ। कार्यालयका अनुसार भरतपुर कारागार र मालपोत चोकमा मतदान गर्ने व्यवस्था गरिएको हो। चितवनमा अस्थायी मतदाता १ हजार ५४४ जना रहेका छन्। अझै थपघट हुन सक्ने निर्वाचन अधिकृत कार्कीले बताए। अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिकमा मत राख्न पाउने छन्।  

प्रकाशित: २९ कार्तिक २०७९ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App