८ वैशाख २०८१ शनिबार
राजनीति

गठबन्धन सरकार भारतीय ठेकेदारविरुद्ध बोल्न लुगलुग काम्छ: नेम्वाङ

फाइल तस्बिर।

नेकपा (एमाले) उपाध्यक्ष तसभामुख सुवासचन्द्र नेम्वाङले वर्षमान सत्ता गठबन्धन सरकार र त्यसका नेता भारतीय ठेकेदारसँग लुगलुग काम्नेगरेको आरोप लगाएका छन्।

विकास निर्माणका काम अलपत्र पार्दा पनि गठबन्धन सरकारले भारतीय ठेकेदाविरुद्ध कुनै कारबाही चलाउन नसकेकामा नेम्वाङले आक्रोस पोखे। इलामसहित धनकुटा, मोरङ, सुनसरी, पाँचथर र ताप्लेजुङलगायत जिल्ला प्रत्यक्ष प्रभावित हुने भेडेटार–रवि–राँके सडक ठेकेदारले अलपत्र पार्दा पनि सरकार ‘चुँ’ बोल्न नसकेको नेम्वाङको आरोप छ।

चुनावी अभियानक्रममा इलाम नगरपालिका–८, मसारमा आयोजित कार्यक्रममा नेम्वाङले ठेक्काको म्याद गुज्रिएर थप म्यादमा समेत त्यो सडकको प्रगति सन्तोषजनक नभएको भन्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका हुन्। ६ अर्ब रूपैयाँ विनियोजित यो सडक कालोपत्रेका लागि ३ अर्ब ६८ करोड रूपैयाँमा ठेक्का लागेको थियो। तर, सडकको निर्माण अवधि गतवर्षको डिसेम्बरमै सकिएको छ। निर्माणको काम भने १९ प्रतिशतमात्र भएको छ।

‘त्यत्रो महमत्त्वपूर्ण सडकका लागि मेरै पहलमा ६ अर्ब रूपैयाँ छुट्टिएको थियो तर एक भारतीय ठेकेदारले काम अलपत्र पारेका छन्,’ नेम्वाङले भने, ‘कारबाही गर्नुपर्ने ठेकेदारलाई यो गठबन्धन सरकार कारबाही गर्नै सक्दैन, किनभने भारतीय ठेकेकारविरुद्ध अहिलेको सरकार चुँ बोल्न सक्दैन, भारतीय ठेकेदार भनेपछि गठबन्धन सरकार लुगलुग काम्छ।’

नेम्वाङले आफूहरूले गत साउन १५ मै यो ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्न सरकारलाई लिखित आग्रह गरे पनि वास्तै नगरेको गुनासो गरे। ‘यो सडकको ठेक्का तोडेर अर्काे प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मेरै नेतृत्वमा चारै जिल्लाका सांसदहरूले माग गरेका थियौं,’ नेम्वाङले भने, ‘तर, देउवा र गठबन्धनका नेता न ठेक्का तोड्न सक्छन्, न भारतीयविरुद्ध चुँ बोल्न नै सक्छन्। त्यही भएर अहिले महŒवपूर्ण आयोजना अलपत्र परिरहेको छ।’

भारतीय कम्पनी इन्फेयर्च प्रालिले निर्माण ठेक्का लिएको यो सडकको निर्माण अवधि पोहोर डिसेम्बरमै सकिएपछि आउँदो डिसेम्बर २१ सम्मलाई थपिएको छ। ठेकेदारले १५ प्रतिशत पेस्की लिइसकेका छन्। तर, कामको प्रगति अझै अघि नबढेपछि इलामस्थित डिभिजन सडक कार्यालयले पनि प्रत्येक साता ताकिता गरिरहेको जनाएको छ।

‘हामीले सातौपिच्छे ताकिता गरिरहेका छौं,’ डिभिजन प्रमुख विदुर पोखरेलले नागरिकसँग भने, ‘कोभिड, निर्माण क्षेत्रमा पर्ने रुख–बिरुवा, खानेपानीलगायत समस्या देखाएर ठेकेदारले काममा ढिलाइ गरेका छन्।’

प्रकाशित: २८ कार्तिक २०७९ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App