१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

उत्तरी ताप्लेजुङका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउन आयोग समक्ष सिफारिस

ताप्लेजुङको उत्तरी क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने व्यवस्थाका लागि जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्वाचन आयोगमा सिफारिस गरेको छ।  

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस निर्मला योङ्याको उपस्थितिमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने व्यवस्थाका लागि आयोग समक्ष सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए।  

उनका अनुसार फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ र वडा नं ७ का चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत व्यवस्थाका लागि आयोग समक्ष सिफारिस गरिएको छ। खनालका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ७ को ओलाङचुङगोला तथा याङ्मा तथा वडा नं ६ लेलेपको घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ६ स्थित घुन्सा आधारभूत विद्यालय मतदान केन्द्रमा १ सय ६९ जना र ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ६७ जना मतदाता रहेका छन्। यस्तै वडा नं ७ ओलाङचुङगोलास्थित वडा कार्यालय मतदान केन्द्रमा २ सय ८४ जना र याङ्मा आधारभूत बिद्यालय मतदान केन्द्रमा ६१ जना मतदाता रहेका छन्।  

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको क्रममा समेत यीनै चार केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउनका लागि निर्वाचन आयोग समक्ष सिफारिस भएर निर्वाचन आयोगबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आयोगबाट सकारात्मक संकेत आएपनि अन्तिम समयमा हेलिकोप्टर नआएपछि अन्तिम समयमा बोकेर पालिकाको केन्द्र तापेथोक सम्म ल्याइएको थियो।  

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका मतपेटिका सदरमुकाम फुङलिङसम्मै ल्याउनुपर्ने हुन्छ। त्यसोगर्दा हेलिकोप्टर अनिवार्य झैं देखिएको जिल्ला निर्वाचन व्यवस्थापन समितिले ठम्याएको छ। २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भने उक्त क्षेत्रका मतपेटिका हेलिकोप्टरमार्फत फुङलिङ ल्याइएको थियो। 

प्रकाशित: २७ कार्तिक २०७९ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App