१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेशलाई सबल बनाउन स्वतन्त्र उम्मेदवारी

राजधानीलगायतका मुलुकका विभिन्न स्थानका युवाहरूले संघिय सांसदमा बढी चासो देखाइरहेको समयमा कतिपयले भने प्रदेश सांसदमा बढ्ता चासो देखाएका छन्। संघीयतामा प्रदेशको जुन महत्व हुनुपर्ने त्यो नभएर प्रदेश उपेक्षित हुँदै गएको भन्दै स्वतन्त्र युवाहरूले यसतर्फ चासो देखाएका हुन्।  

‘संघीयतामा प्रदेशको महत्व बढ्नुपर्नेमा यो झनै उपेक्षित हुँदै गयो,’ काठमाडौ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ लामिछानेले भने, ‘स्थानीय तहलाई सशक्त बनाउने प्रदेशलाई सबल बनाउन पनि मेरो स्वतन्त्र उम्मेदवारी परेको हो।’  

राजधानीलगायतका मुलुकका विभिन्न भागमा हुने सुधारका आन्दोलनमा सक्रिय रहँदै आएका लामिछाने संसद्मा पुगेर नागरिकको जीवनस्तर सुधारमा लागिपर्ने बताउँछन्। ‘नेताहरूको कमजोरीका कारण सम्भावना बोकेको प्रदेश ओझेलमा परेको छ,’ उनले भने, ‘प्रदेशका जनताका मुहारमा उज्यालो ल्याउने अभियानमा लाग्नेछु।’  

उनले अव्यवस्थित सहरको निकास, दिगो सहरी विकास भन्ने आफ्नो प्रतिबद्धता जारी गरेका छन। अव्यस्थित सहरी विकास अहिले हामी सबैका लागि तनाव र रोगको घर बनेको उनको बुझाइ छ। सहरमा हरियाली र खुला ठाउँको अभाव, सार्वजनिक सवारीसाधनबाट यात्रा गर्न असहज रहेको उनी बताउँछन्।  

‘काठमाडौं जस्तो देशको राजधानीमा सडक बत्तीहरू छैनन्। सहरको सांस्कृतिक पहिचान मासिँदै छन्,’ उनी भन्छन्, ‘त्यसैले सहरी विकासलाइ दिगो र मानवमैत्री बनाउन, स्तरीय यातायातको सञ्जाल विस्तार गर्न, खुला तथा हरियाली स्थान व्यवस्थित गर्न आवश्यक छ। सभ्यता र संस्कृतिको संरक्षण गर्न, सहरलाई उज्यालो र चौबीसै घण्टा सुरक्षित तवरले यात्रा गर्न सकिने बनाउन प्रदेशसभामा आफ्नो भूमिका खोज्ने उनले सुनाए।  

नेतालाई गालि गरेर मात्र समाज अगाडि नबढ्ने भन्दै उनीहरूले राजनीतिमा फोहोर छ भने युवाहरूले आफैं सफा गर्नु पर्ने सुझाउँछन। ‘सधै नेतालाई गाली गरेर मात्र बस्न सकिन्न,’ उनले भने, ‘मुलुक विकास निर्माणमा जो कोही पनि लाग्न सक्छ।’  

उनको जस्तै सोच राख्छन्। काठमाडौं क्षेत्र नम्बर २ प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका अशोक खड्का पनि। छल्नेलाई भन्दा बदल्नेलाई खोजौं भन्दै उनी आफू राजनीतिमा होमिएको सुनाउँछन्। सामाजिक अभियन्ता एवं तेक्वान्दो खेलमा नाम कमाएका खड्काले मुुलुक असफल भयो भने व्यक्तिगत सफलताले मात्र केही नगर्ने बताउँछन्।  

‘खेल खेल्ने र खेलाउने क्रममा विभिन्न मुलुकमा घुमेको छु,’ उनले भने, ‘त्यहाँ मेरो सफलताले भन्दा पनि मेरो मुलुकको असफलताले चिमोट्ने गरेको छ।’ 

प्रकाशित: २७ कार्तिक २०७९ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App