१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘चुनावी नारा बन्छ, कालोपत्रे हुँदैन लोकमार्ग’

मध्यपहाडी लोकमार्ग।

बागलुङ-बुर्तिबाङ सडक खण्डको ट्र्याक खोल्ने काम सुरु भएको २४ वर्ष भएको छ। सुरुमा एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको हो। पछि मध्यपहाडी लोकमार्गको अवधारणा बनेपछि यही सडक लोकमार्गमा परिणत भयो। मध्यपहाडी लोकमार्गले सबैभन्दा धेरै भूभाग चर्चेको जिल्ला बागलुङ हो। लोकमार्गको अवधारणाअनुसार काम अगाडि बढेपछि बागलुङमा खण्ड–खण्ड छुट्ट्याएर निर्माण कार्य अगाडि बढ्यो। लोकमार्गका लागि नयाँ ट्र्याक खोलिएका ठाउँ कालोपत्रे भइसकेर पनि पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्।

पुरानै ट्र्याकमा काम थालिएको बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको २५ किलोमिटर सडक भने अझै पनि कालोपत्र हुन सकेको छैन। कालोपत्र हुन त परैको कुरा, सडकमा भएका खाल्डाखुल्डी र हिलो धुलोका कारण यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ। यो खण्डमा सडक चक्ल्याउने र नाली बनाउने काम पनि अधुरै छन्। हरेकपटक निर्वाचनमा विकास निर्माणका चर्का भाषण गरेर उम्मेदवारहरू फेरि गाउँगाउँमा भोट फकाउन व्यस्त छन्।

बागलुङका उम्मेदवार र दलहरूले विगतमा जस्तै लोकमार्गको यो खण्ड निर्माण गर्ने कामलाई मुख्य एजेन्डा बनाएका छन्। अघिल्लो पटक निर्वाचनमा पनि विषय चुनावी मुद्दा थियो। यसपटक पनि चुनावी मुद्दाकै रूपमा रहेको छ। बागलुङलाई पूर्वबाट चिरेर पश्चिमसम्म पुग्ने सडक भएका कारण दुईवटै क्षेत्रका उम्मेदवारको प्राथमिकतामा यो सडक परेको छ। नेकपा एमाले बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी मन्जु शर्मा चालिसेले आफू निर्वाचित भएपछि नयाँ ठेक्का लगाएर भए पनि एक वर्षभित्र कालोपत्र गराउने प्रचार थालेकी छन्।

‘मध्यपहाडी लोकमार्गको बागलुङ—घोडाबाँधे खण्ड ठेकेदारको लापरबाहीका कारण निर्धारित समयमा कालोपत्र हुन नसकेको, म निर्वाचित भएपछि यो प्रक्रिया रद्द गरी पुनः नयाँ टेन्डर गरी एक वर्षभित्र कालोपत्रे गर्ने प्रतिबद्धता गर्छु’, उनले चुनावी क्याम्पेन गर्दै भनेकी छन्। विगतको अनुभवले लोकमार्ग निर्माण पूरा गर्ने कुरा चुनावमा भोट रिझाउने माध्यम मात्रै हो भन्ने देखाउँछ। उम्मेदवारले मिठासपूर्ण शब्दमा लोकमार्ग निर्माणका कुरा गरे पनि यहाँका मतदाताले भने उनीहरूका कुरा पत्याएका छैनन्। लोकमार्गमा यात्रा गर्दैरहेका अमन रत्नलाई यो सडक बनाउने उम्मेदवारको भनाइमा पटक्कै विश्वास छैन।

‘बाटो देखेर दिग्दार त लाग्छ नै, शरीर पनि दुख्छ’, उनले भने, ‘बाटो बनाउँछम् सबैले भन्छन् तर कसैले गर्दैनन्।’ काठेखोला-५ उपल्लो बिहुँका कर्णबहादुर विकले २० वर्षयता यो सडकको यस्तै हाल भोगिरहेका छन्। ‘बीसौं वर्ष भयो, यो बाटो यस्तै छ। हामीले दुःख र सास्ती धेरै व्यहोरिसकेका छौं’, उनी भन्छन्, ‘चुनाव आउँदा सबैले बनाउँछु भन्छन्, त्यसपछि कहिले ठेकदार भाग्यो र कहिले के भयो रे भन्दै टार्छन्।’ काठेखोला गाउँपालिका— १ पाला खहरेकी देवीकुमारी केसीले लोकमार्गछेउमै सानो पसल राखेकी छन्। लोकमार्गमा यात्रा गर्ने यात्रुलाई जस्तै उनलाई पनि हिउँदमा धुलो र बर्खामा हिलोले हैरान पारेको छ।

‘धेरै वर्ष भयो, हामी त हिलो र धुलो खाँदै बस्ने हो’, उनी भन्छिन्, ‘बर्खामा पानी परेपछि यो सडक वारपार गर्न सकिन्न। हिउँदमा धुलोले हैरान पार्छ।’ यही बाटो सांसद र मन्त्रीहरू झन्डा हल्लाउँदै हिँड्छन् तर कसैले हाम्रो समस्या देखिदिएनन्’, उनले गुनासो गरिन्। काठेखोला खहरेकी चन्द्रकला केसी ७२ वर्षकी भइन्। धेरै चुनाव छिचोलिसकेकी उनलाई चुनावको बेला यसो गर्छौं उसो गर्छौं भन्दै आउने गरेको अनुभव छ तर काम भने गर्दै गर्दैनन्। धुलोको हैरानीले घरै छाडेर हिँड्नुजस्तो भएको उनी बताउँछिन्। कहिलेकाहीं त सबै मिलेर सडक नै अवरुद्ध गरौं जस्तो लाग्ने उनको भनाइ छ।

बागलुङ क्षेत्र नं १ मा दोहोरिएर उम्मेदवार बनेका सूर्य पाठकले धेरै प्रयास गर्दा पनि काम पूरा गर्न नसकिएको बताए। ‘निर्धारित समयमा काम पूरा नभएपछि यो ठेक्का रद्द गरौं भनेर मैले तत्कालीन प्रोजेक्ट म्यानेजरलाई भनेको थिएँ’, पाठकले भने, ‘खै किन हो उनले सिफारिस गर्न मानेनन्। मैले आग्रह मात्र गर्न सक्थें।’ सार्वजनिक खरिद ऐनमा भएको समस्याले अप्ठ्यारो परेको उनको कथन छ। ‘मैले आफैं गर्न मिल्ने भए तत्कालै ठेक्का रद्द गर्दिन्थें, सार्वजनिक खरिद ऐनले पनि अप्ठ्यारो पारेको छ’, पाठकले भने।

बागलुङ क्षेत्र नं २ बाट उम्मेदवार दोहोरिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले लोकमार्गको धेरै काम सकिएको दाबी गरे। ‘लोकमार्गका धेरै काम भएको छ, बिहुँ खण्डलाई मात्र देखाएर लोकमार्गको कामै भएको छैन भनेर प्रचार गरिनु गलत हुन्छ’, पौडेलले भने, ‘ठेकेदारको लाहरबाहीले काम भएको छैन। हामी पहल गरिरहेका छौं।’ गत आम निर्वाचनमा निर्वाचित भएलगत्तै एक कार्यक्रममा पौडेलले यो सडक खण्डको काम ६ महिनाभित्र पूरा नगरे ठेकेदारलाई जेल हाल्ने बताएका थिए। यसबीचमा पटकपटक म्याद थपिँदा पनि निरीह देखिएका छन्। ‘सार्वजनिक खरिद ऐनले अदालत गएर पनि म्याद थप्ने अवस्था देखिएकाले अप्ठ्यारो भएको हो’, पौडेल भन्छन्।

लोकमार्गको उपल्लो चौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ-घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेका थिए। तर सडकको दुरवस्था उस्तै छ। फेरि २०८० को असार मसान्तसम्मको म्याद थपिएको छ। पाँचथर चिवा भञ्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला पार गर्दै सुदूरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुंगिन्छ। लोकमार्गले मध्यपहाडीका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्छ। लोकमार्गको एक हजार ७ सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी बागलुङ खण्डमै १ सय ३४ किलोमिटर पर्छ।

प्रकाशित: २७ कार्तिक २०७९ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App