१७ माघ २०७९ मंगलबार
राजनीति

जहाँ अजेन्डा बिक्छ, विकास हार्छ

बागलुङ भकुन्डेका बलबहादुर थापाले झन्डै तीन दशकअघि बुटबलमा गाडी देखेका हुन्। त्यसबखत भारतीय सेनामा भर्ती भएका उनलाई आफ्नो जिल्लामा सडक तथा अन्य पूर्वाधार पुगे पनि त्यसपछि अरू विकास नभएको देख्दा चिन्ता लाग्थ्यो। ३१ वर्षअघि नै बागलुङ सडक सञ्जालसँग जोडिएको हो। त्यसपछि पनि पूर्वाधार निरन्तर थपिएका छन्। तर गतिलो ढंगले विकास हुन सकेको छैन।

राजनीतिक नेतृत्व र यहाँबाट प्रतिनिधित्व गर्नेहरूले विकासका सवालमा अगुवाइ नगर्नु र जिल्लाको विकासमा स्थानीयको सामूहिक भावना नहुनुले पोखरादेखि साढे ७१ किलोमिटर मात्रैको दुरीमा रहेको बागलुङले विकासको लय समात्न सकेको छैन। संघीयता कार्यान्वयनमा आउनुअघि बागलुङ धौलागिरि अञ्चलको सदरमुकाम थियो।  

पञ्चायतकालदेखि विकासका संरचना बने पनि आफैंमा प्राकृतिक वैभव रहेको जिल्ला पछि पर्नुमा विकासमा अगुवाइ गर्नेको अभाव नै भएको स्थानीय बताउँछन्। बाटो बनेपछि जिल्लामा आयआर्जन, रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा जिल्लाले गतिलो काम गर्न सकेन। राजनीतिक नेतृत्वले यसलाई ध्यान दिएनन्। युवा पलायनले त बागलुङको विकासमा समस्या सिर्जना गरेको छ। सचेत व्यक्तिहरू जनप्रतिनिधि र अहिलेका उम्मेदवारप्रति गुनासो गर्छन्। बागलुङ नगरपालिका–३ का सुमन श्रेष्ठ भन्छन्, ‘नेताबाट पटकपटक स्थानीयका समस्या समाधान गर्ने र विकास अगाडि बढाउने वचन सुनिन्छ तर उही विषय अर्काे निर्वाचनमा अजेन्डा बनेर आउँछ। जनता निराश बनिरहेका छन्। विगतदेखि यहाँबाट जितेर जानेले केही नगर्दा यस्तो हालत भएको हो।’  

चित्रबहादुर केसीले यो क्षेत्रबाट धेरैपटक संसद्को प्रतिनिधित्व गरिसकेका छन्। विकासका मुद्दामा उनले अगुवाइ गर्न नसकेको यहाँका बासिन्दाको गुनासो छ। केसीले २०५६, २०६४ र २०७० सालमा यहाँबाट निर्वाचन जितेका थिए। दुईवटा निर्वाचन क्षेत्र रहेको यहाँको अर्काे क्षेत्रबाट माओवादीका देवेन्द्र पौडेल दुईपटकसम्म सांसद बनिसकेका छन्। यी दुवै अहिले फरकफरक क्षेत्रका उम्मेदवार हुन्। पटकपटक कम्युनिस्टले जितेको यो क्षेत्रमा स्थानीयको मन जित्न भने उम्मेदवारले नसकेको गुनासो छ। विकासमा जिल्लाले नेतृत्व नपाएको अनुभव यो क्षेत्रका बासिन्दाको छ। ‘राजनीतिक अजेन्डाले जित्यो विकासको अजेन्डाले हार खायो। जिल्ला पछि पर्‍यो,’ नागरिक समाजका प्रतिनिधि काजी गाउँलेले भने।

केसी भने आफैंले यो क्षेत्रमा पूर्वाधारको विकास गरेको दाबी गर्छन्। बागलुङ जिल्लालाई संघीयता कार्यान्वयनका सिलसिलामा जिल्लै टुक्र्याएर रुकुममा मिलाउन खोजिएको र आफ्नो स्पष्ट अडानले रोकिएको उनको दाबी छ। मध्यपहाडी राजमार्गलाई बागलुङसँग जोड्ने, कालिगण्डकी करिडोरको सञ्जालले बागलुङ जोड्ने विषयमा काम गरेको उनको भनाइ छ। विकासभन्दा उनको अजेन्डा र राजनीतिक छविले यहाँ जित्न सजिलो बनेको उनीनिकटहरू बताउँछन्। राजनीतिमा इमानदार र जनताको सुखदुःख बुझ्ने र विकास बुझेको व्यक्ति जिल्लाको विकासको नेतृत्वका लागि आवश्यक रहेको स्थानीय दीपेन्द्र हमालले बताए।

गणतन्त्र र लोकतन्त्र रक्षा गर्न उम्मेदवारी दिएको बताउने केसीचाहिँ अहिले स्थानीय अजेन्डा पनि साथै उठाएका छन्। स्वास्थ्य, यातायात, खानेपानी, व्यक्तिको दैनिकी र रोजगारीजस्ता समग्र बागलुङको विकासमा नीति निर्माणदेखि विकासको नेतृत्व गरेर अगाडि बढाउने बताए। मेडिकल कलेज स्थापना, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर व्यवस्थित गर्नेजस्ता योजना उनको छ। युवाहरूलाई जिल्लामै रोजगारीका अवसर वृद्धि गर्ने उनका चुनावी अजेन्डा छन्।

विकास आवश्यक परेकाले राजनीतिभन्दा स्रोतसाधन ल्याउन सक्ने मान्छे जनताले खोजिरहेकाले आफू त्यसको नेतृत्व गर्न सक्ने केसीका प्रतिस्पर्धी सूर्यप्रसाद पाठकको दाबी छ। निर्वाचनका बेला यहाँ विकासका अजेन्डाले राम्रै प्राथमिकता पाए पनि वास्तवमा ती अजेन्डाका आधारमा काम कहिल्यै पनि नभएको धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्यय बताउँछन्। २०४८ सालमा पोखरादेखि बागलुङ सडक सञ्जालले जोड्यो। त्यसपछि त विकास पूर्वाधार र संरचनामा केही भए पनि उत्पादन र जनशक्तिले यो जिल्ला पछाडि पर्दै गयो। ‘हिजो जिल्ला आफैंमा आत्मनिर्भर थियो। कृषि फाँटमा टन्न अन्न उब्जाउ हुन्थ्यो। अहिले होटलमा स्थानीय चामलको भात खान पाउन कठिन पर्छ। निकै कम मात्रै उब्जाउ हुने भएकाले स्थानीय उत्पादनलाई बेच्न सक्ने अवस्थै छैन,’ बागलुङका नागरिक समाजका प्रतिनिधि काजी गाउँलेले भने। गाउँहरू रित्तै बन्दैछन्। सहरमा बसाइँसराइँले अनेक समस्या ल्याउँदैछ। रोजगारी र आयआर्जनको भरपर्दाे र दिगो सिर्जना गर्र्ने काम हुन सकेको छैन।

माओवादी जनयुद्धपछि बागलुङ बजारले अरू ठुलो आकार लियो। गाउँका व्यक्तिहरू असुरक्षाका कारण देखाउँदै सहर केन्द्रित बने। बजार विस्तार भए पनि व्यवस्थित हुन सकेको छैन। बागलुङ बजारभित्रै व्यवस्थित ढलको प्रबन्ध छैन। सोझै नदी र खोलामा ढल मिसाइएको छ। खानेपानीको पनि राम्रो छैन। बर्खामा लेदो र धमिलो पानी बाग्लुङ नगरवासीको घरका धारासम्मै पुग्छ। दुईपटक स्थानीय तहको निर्वाचन भयो तर निर्वाचित जनप्रतिनिधिले यसलाई व्यवस्थित सहर बनाउने आवश्यक सोच र रणनीति अगाडि बढाएको देखिन्न।

जिल्लामा एयरपोर्ट पनि बनेको छ। बलेवा एयरपोर्ट सञ्चालन ल्याउन अझ पनि पहल भएको छैन। हवाई यातायातले जिल्लालाई सुगम र सहज बनाउन सकिने र पर्यटक आवगमन बढ्न सक्ने भए पनि विमानस्थल सञ्चालनका लागि बाटो र अन्य कुराको अभाव छ। अहिले यो जिल्लामा विदेशी पर्यटक देख्न कठिन पर्छ। यही जिल्ला हुँदै पर्यटक बेनी र मुस्ताङ पुगिरहेका छन्।  

बाग्लुङ बजारमा पर्यटक कहिलेकाही आक्कलझुक्कल मात्रै देख्न सकिने स्थानीय मुस्ताङ थकाली मार्फा होटलकी सञ्चालक मनमाया थकाली बताउँछिन्। अधिकांश होटल पनि पाहुनाको पर्खाइमै देखिन्छन्। स्थानीय कृषिजन्य र जडीबुटीको ब्रान्डिङ गर्ने प्राकृतिक वस्तुको उपयोग गर्नेजस्ता विषय कसैको चासोमा नपरेको स्थानीय व्यवसायी दीपेन्द्र हमालले बताए। केही वर्षअगाडिसम्म स्थानीय उत्पादनको बजारीकरण गर्न यहाँ चैते दसैंमा एक साता मेला नै लाग्यो। आजकल ती सबै बन्द हुँदै गएका छन्। स्थानीय उत्पादन कृषकको उपयोगका लागि मात्रै सीमित बनेको छ।

यो जिल्लामा खाडी जापान, कोरिया र अमेरिका जाने व्यक्ति घरघरै भेटिन्छन्। तीन दशक भारतीय सेनामा काम गरी गाउँ फर्केका कुलानन्द शर्माचाहिँ युवा पलायन भएको देख्दा चिन्तित छन्। स्थानीयस्तरमै रोजगारी सिर्जना कसरी गर्ने र विकासमा सामूहिक भावना कसरी जागृत गराउने भन्ने विषयमा कसैले नसोचेको उनले बताए। ‘युवा र जनशक्ति पलायनबाट व्यक्तिको जीविकोपार्जन सहज बने पनि जिल्लाले केही पाएका छैनन्। झन् परनिर्भर बन्दै विकासमा पछि परिरहेको छ,’ उनले भने।

शिक्षा र स्वास्थ्यको अवस्था झनै बिजोग छ। सरकारी अस्पतालमा दरबन्दी भए पनि डाक्टर बस्न मान्दैनन्। निजी अस्पतालले विश्वास जित्न सकेका छैनन्। ‘बिरामी हुँदा दुई घन्टा टाढा सडक यातायातकै भरमा पोखरा पुग्नुपर्ने हुन्छ। सम्पन्न व्यक्तिहरू भने उपचारकै लागि काठमाडांै पुग्छन्। स्वास्थ्यको अवस्था निकै दयनीय छ,’ स्थानीय हरि सुवेदीले भने।

बागलुङ नेपालभित्रको नेपाल भनेर चिनिने जिल्ला हो। प्राकृतिक स्रोतले सम्पन्न मात्रै होइन, नेपालमा रेमिट्यान्स धेरै भित्र्याउने जिल्लाका रूपमा पनि बागलुङको पहिचान बनेको छ। लघु जलविद्युत् आयोजनाको सम्भावना र पुँजीले पनि यो जिल्ला धनी मानिन्छ। बागलुङेहरू आफ्नै अग्रसरताले सम्पन्न बन्दै गएका छन् तर सामूहिकताको भावना नहुँदा जिल्लाको विकास पछि परेको छ। प्राकृतिक स्रोतसाधन प्रशस्त भए पनि उपयोगमा ल्याउन नसक्नु र जिल्लामै आयआर्जनका अवसर सिर्जना नगरिनु अर्काे समस्या बनिरहेको छ। बुटवलदेखि पाल्पा हुँदै भरिया लगाएर भारतीय सेनाको जागिरका लागि उतिबेला घरमा आउजाउ गर्ने बलबहादुर थापा भन्छन्, ‘विकासमा सामूहिक चिन्ता र चासो कसैले लिएन। व्यक्तिवादी प्रवृत्ति गाउँसम्म हाबी भइरहेको छ। त्यसले व्यक्ति सम्पन्न बने पनि जिल्ला विकासमा थप पछि पर्दैछ।’  

विदेशमा दुःख पाएर आएकाहरू गाउँमै केही गरौं भन्ने भावनाले साना उद्यममा संलग्न छन्। स्थानीय उत्पादन र प्राकृतिक स्रोत खानी तथा कृषिलगायत अन्य स्रोतको उपयोग हुन सकेको छैन। जिल्लामा महत्वपूर्ण जडीबुटी पाइन्छन्। अकासे बाली, चिराइतो, जटामसी, यार्चागुम्बा, तालिसपत्र, सतुवा, अमला, विषम, पदमचाल, चुल्ठे, गोकुलधुपजस्ता जडीबुटी पहिचान भएको छ। तामा, फलाम, सिसा, सुन र अभ्रखजस्ता खानीसमेत रहेको अध्ययनले देखाएको छ। पहिले नेपाली हाते कागज, राडीपाखी, स्लेट ढुंगा उत्पादन यहाँ हुन्थ्यो। अहिले ती वस्तु पाउन सकिन्न। विदेशी पर्यटक कसरी भित्र्याउने भन्नेमा पनि सोच देखिएको छैन। भएका प्राकृतिक र मनोरम ठाउँहरूको विकासका लागि प्रचार र पूर्वाधारको अभाव देखिएको छ।  

राजनीतिक नेतृत्व कमजोर देखिएको र उनीहरूलाई झकझक्याउने नागरिक समाज पनि कमजोर हुँदा विकासमा बागलुङ पछि परेको ठम्याइ धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायको छ। विकासका नाममा गाउँमा बाटो पुगे पनि उपयोगिता देखिएको छैन। भएका स्रोतसाधनको उपयोग गर्न नसक्दा आयआर्जनको बाटो छैन। ‘नेतृत्व नहुँदा विकास दिगो भएन। लक्ष्यविहीन विकासे गतिविधिले जनतालाई लामो समय लाभ दिन सकेको छैन। विकासमा राजनीतिक नेतृत्व कमजोर देखियो। विकासमा नेतृत्व कसैबाट नहुँदा यहाँबाट जनशक्ति पलायन भइरहेको छ,’ क्याक्पस प्रमुख उपाध्यायले नागरिकसँग भने।

२०६४ साल उता यो जिल्लामा चित्रबहादुर केसीको एकल वर्चस्व थियो। माओवादी द्वन्द्वपछि जनमोर्चाको वचस्र्व यो जिल्लामा कम बन्दै गएको छ। जिल्लाका मतदाताहरू अपेक्षा गरेअनुरूप केही नपाए पनि व्यक्तित्व र पार्टीको राजनीतिक अजेन्डाका कारण यसपालि पनि केसी बलशाली बनिरहेको छ। ‘अरूजस्तो लोभलालचमा फस्ने र देश बिगार्ने विकासका नाममा कमिसन खानेजस्ता काममा नरमाएका कारण पाका व्यक्तिहरू उनलाई अझ पनि खोज्छन्,’ बाग्लुङ नगरपालिका–३ का कुलानन्द शर्माले भने, ‘उनी तीनपटक यहाँबाट जितेपछि जे जति काम गर्न सक्थे नगरेकै हुन्।’  

यो क्षेत्रमा जित्नुको कारण पार्टीको राजनीति नै भएको चित्रबहादुर स्वयं स्वीकार गर्छन्। ‘मैले कसैसँग सम्झौता गरिनँ। राजनीतिको व्यापार पनि गरिनँ। पार्टीका नीति देश बिगार्ने खालका छैनन्। सार्वभौमिकता र अखण्डता रक्षाको पक्षमा संसद् र बाहिर सडकमा पनि अग्रपंक्तिमा बसेकैले जनताले ममाथि विश्वास गरेका हुन्,’ उनले भने। आफ्नो जित्ने क्षमताभन्दा यी कुरा जिताउन बलिया अस्त्र बनेको उनी बताउँछन्। इमान, प्रस्ट र जनताको बोली बोल्ने नेता केसी अहिलेसम्म विवादमा नपरेका निष्कलंक राजनीतिक व्यक्ति हुन्। स्थानीय विकासको अजेन्डाभन्दा राष्ट्रिय राजनीतिको अजेन्डामा केन्द्रित बनेको यहाँका मतदाताको गुनासो छ। ‘विकासका लागि केन्द्रसम्मको उनको पहुँच र प्रभाव नपुगेको र अपिल गर्न नसक्दा पनि यस्तो भएको हो। व्यक्तिको निष्ठा र इमानदारीलाई जनताले सहानुभूति दिएकाले केसीले जित्दै आएका हुन्,’ वरिष्ठ अधिवक्ता काजी गाउँलेले भने। निर्वाचन जिते पनि हारे पनि केसी जिल्लामा वर्षको एक दुईपटक आइरहन्छन्।

प्रकाशित: २७ कार्तिक २०७९ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App