२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं १०: त्रिपक्षीय प्रतिस्पर्धा

अन्जना विशंखे,राजेन्द्रकुमार केसी र हिमेश केसी।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता पक्षीय पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी (राजन) ले उम्मेदवारी दिएका छन् भने गठबन्धनकै एक घटक माओवादी केन्द्रबाट अन्जना विशंखे पनि प्रतिस्पर्धामा छिन्। एमाले नेता हिमेश केसीसहित यस क्षेत्रमा १८ जना प्रतिस्पर्धामा छन्। तर मुख्यतः राजन, हिमेश र अन्जनाबीच नै मुख्य प्रतिस्पर्धा हुने बताइन्छ। अत्यधिक मतले तेस्रो जित हासिल गर्ने लक्ष्यका साथ अघि बढेका राजनका लागि हिमेश र अन्जना चुनौती बनेका छन्। ती दुई प्रतिस्पर्धीले केसीले विगतमा गरेका कामको विरोध गर्दै प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन्।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा (राजमो) सम्मिलित गठबन्धन कायम रहेको अवस्थामा कांग्रेस र माओवादी केन्द्र आपसमै प्रतिस्पर्धा गरे पनि आफूलाई कुनै अप्ठेरो नपरेको राजन बताउँछन्। दोस्रो संविधानसभा (२०७० साल) मा राजनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गर्दै चर्चा कमाएका थिए। २०७४ को निर्वाचनमा पनि उनी माओवादी केन्द्रका हितमान शाक्यलाई पराजित गर्दै निर्वाचित भएका थिए।  

राजन तेस्रोपटक संघीय संसद् सदस्यका लागि प्रतिस्पर्धा गर्दा पनि हारको कुनै सम्भावना नभएको बताउँछन्। पहिलो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष दाहालसँग आधा मतको फरकमा पराजित भएका राजनले दोस्रो संविधानसभा निर्वाचनमा दाहाललाई पराजित गरे भने २०७४ को संसदीय निर्वाचनमा वाम गठबन्धनका बाबजुद काठमाडांै १० मा जित हासिल गरेकाले उनी अहिले पनि त्यहाँ लोकप्रिय छन्।

एउटा निर्वाचनमा माओवादीकै अध्यक्षलाई पराजित गरेको र अर्को निर्वाचनमा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनका बाबजुद जित हासिल गरेका कारण उच्च मनोबल बनाइसकेका राजनलाई अहिले आफ्नो क्षेत्रमा सत्तारूढ गठबन्धन भत्किए पनि एमाले विभाजन भएर बनेको नेकपा एसको साथले धेरथोर हौसला बढाएको छ। त्यसैले उनी आफू जित्नेमा ढुक्कजस्तै देखिन्छन्। राजनका प्रतिस्पर्धी अन्जना र हिमेश पनि उनलाई रोक्न जोडबल लगाएर चुनाव प्रचार गरिरहेका छन्। चुनावको मिति नजिकिएसँगै तीनै दलका उम्मेदवार घरदैलोमा व्यस्त छन्।

माओवादी केन्द्रकी उम्मेदवार अन्जनाले विकास निर्माणका काम नभएकाले आफूले यसतर्फ ध्यानदिने अजेन्डा अघि बढाएकी छन्। दक्षिणकालीमा गयो भने सडकको उस्तै हालत छ। कीर्तिपुरवासीले १० वर्षदेखि सहज तरिकाले पानी पिउन नपाएको भन्दै उनले घरदैलोमा भोग माग्ने गरेकी छन्। कांग्रेस उम्मेदवार राजनले विगत ३० वर्षदेखि आफू मतदातासँगै भएकाले आफ्नो क्षेत्रका बासिन्दाको दुःखसुख बुझ्ने गरेको बताउँदै आएका छन्। एमाले उम्मेदवार हिमेश राजनका भान्जा पर्ने भए पनि पार्टी नीतिबमोजिम ‘राजन केसी हराउ अभियान’ चलाइरहेका छन्। पानीको अभाव पूर्ति गर्ने, विकास निर्माण गर्ने आश्वासन दिएर यसअघि जितेका केसीले आफ्नै प्रतिबद्धता पूरा नगरेका कारण जनताले विकल्प खोजेको हिमेशको भनाइ छ। मतदाताले परिवर्तन खोजेको र त्यसको मुख्य विकल्पका रूपमा एमाले अघि बढेको उनी बताउँछन्।

गत स्थानीय निर्वाचनको नतिजालाई आधार मान्दा कांग्रेसका वडाध्यक्षहरूले २४ हजार ६७५ मत प्राप्त गर्दा एमालका वडाध्यक्षका पोल्टामा १८ हजार ८३८ मत परेको छ। त्यसैगरी माओवादी केन्द्रले ४ हजार ९४२ मत ल्याएको छ। राष्ट्रिय प्र्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ४९६ र नेकपा एसले १ हजार ३४२ मत पाएका छन्।  

काठमाडौं १० मा प्रदेशसभातर्फ पनि सत्तारूढ गठबन्धन भत्किएको छ। प्रदेशसभा ‘क’ मा पनि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। त्यहाँ कांग्रेसका पुकार महर्जन, एमालेका शिवभक्ति बलामी र माओवादी केन्द्रका दिलीप महर्जन उम्मेदवार छन्। यस्तै प्रदेशसभा ‘ख’ मा सत्तारूढ गठबन्धनबाट नेकपा एसकी रमा आलेमगर उम्मेदवार बन्दा माओवादी केन्द्रबाट गणेशबहादुर कुँवर र एमालेबाट रामशरण आलेमगरले उम्मेदवारी दिएका छन्। सो क्षेत्रमा दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि गरी तीन नगरपालिका पर्छन्। दक्षिणकाली नगरपालिका आफैंमा धार्मिक रूपमा परिचित छ। कृषिका लागि पनि सम्भावना बोकेको कीर्तिपुर नगरपालिका नेवार समुदायको बाहुल्य रहेको पुरानो बस्ती हो।

प्रकाशित: २७ कार्तिक २०७९ ००:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App