१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर

हिमाली जिल्लामा मतदानपछि मतपत्रका बाकस सदरमुकामसम्म ल्याउन हेलिकोप्टर प्रयोग गरिने भएको छ। मतगणना काय सम्पन्न गर्न आयोगले यस्तो व्यवस्था गर्न लागेको हो।

हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएर मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मतपत्रसहित निर्वाचन सामग्री हेलिकोप्टरबाटै पुर्‍याइएका ती जिल्लामा मतदानपछि मतका बाकस सरदमुकाममा ढुवानी गर्न हेलिकोप्टर प्रयोग गरिने भएको हो। मतदान भएको १० दिनभित्रै परिणाम बाहिर ल्याउने आयोगको तयारी छ।

मतदानपछि बाकस सदरमुकाम पु¥याउन जिल्ला सुुरक्षा निकायले सिफारिस गरेका आधारमा हेलिकोप्टर प्रयोग गरिने आयोगका प्रवक्ता पौडेलले बताए। ‘बोकाएर ल्याउन असुविधा र सुरक्षा संवेदनशीलता देखिएका हिमाली क्षेत्र र विकट पहाडी स्थानमा आयोगले हेलिकोप्टरबाटै मत खसालिएका बाकस सदरमुकाम ल्याउने प्रबन्ध गरेको छ’, उनले भने।

सडक सञ्जाल नजोडिएका हुम्ला, डोल्पा, जुम्ला र मुगु जिल्लाका केही भागमा मतपत्र हेलिकोप्टरबाट पुर्‍याइएको छ। त्यस्तै मनाङ, मुस्ताङ, जाजरकोट, बाजुरामा पनि हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट ती जिल्लामा मतपत्र पुर्‍याउन आयोगसँग गृह मन्त्रालयमार्फत नेपाली सेनासँग सम्झौता भएको हो तर आयोगले मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोगका लागि कति खर्च भएको छ सार्वजनिक गर्न चाहेन।

उत्तरी गोरखाको सिंगो एउटा गाउँपालिका चुमनुब्रीमा मत खसालिएको बाकस बोक्न हेलिकोप्टर आवश्यक पर्ने भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयले गृह मन्त्रालयलाई अनुरोध गरेको छ।

उक्त गाउँपालिकामा सडक सञ्जाल पुगेको छैन। त्यहाँ अहिले पनि दैनिक उपभोग्य, निर्माण सामग्री बोकेर वा हेलिकोप्टरमा ढुवानी गरिन्छ। सदरमुकामबाट उत्तरी गोरखाको तिब्बत सिमाना जोडिएको सामागाउँ, छेकम्पार पाँच दिन पैदल हिँडेर मात्रै पुग्न सकिन्छ। ती ठाउँमा मंसिर ४ गते हुने निर्वाचनमा मतपेटिका लैजान र ल्याउन निकै कठिन भएपछि हेलिकोप्टरको प्रयोग गर्र्ने निर्णय जिल्ला निर्वाचन कार्यालयले गरेको हो।

यसअघि स्थानीय निर्वाचनमा पनि मतपेटिक बोकेर गाउँपालिकाको केन्द्र सिर्दिबाससम्म ल्याइएको थियो। मतपेटिका पालिकाको केन्द्रसम्म ल्याउन तीन दिन लागेपछि मतगणनामा ढिलाइ भएको थियो। मत पेटिकाको सबै सिल नभएको भन्दै विवाद हुँदा दुई दिन मतगणना रोकिएको थियो।  

गोरखा जिल्लामा २ लाख २० हजार ३७ जना मतदाता छन् भने तीन सय १७ मतदान केन्द्र तोकिएको छ।

प्रकाशित: २६ कार्तिक २०७९ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App