२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

‘राजनीतिमा आकर्षण छ, भरोसा छैन’

सुर्खेतको भेरीगंगा नगरपालिका–७ मा सर्वसाधारणलाई मतदाता शिक्षा प्रदान गर्दै स्वयंसेविका। जिल्लाका सबै ठाउँमा कात्तिक १९ देखि मतदाता शिक्षा सुरु भएको हो। तस्बिर: रासस

‘राजनीति र राजनीतिक दलप्रति आम जनताको आशा र भरोसा टुटेको छ। वितृष्णा जागेको छ, अविश्वास बढेको छ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ हो यो। काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मत माग्दै जनताको घरदैलोमा पुग्दाको अर्को तितो यथार्थ सुनाउँदै भने, ‘मतदातालाई नमस्कार गर्‍यो, त्यो पनि फिर्ता गर्दैनन्। अझ उम्मेदवार भन्यो भने त मुन्टो बटारेर हिँड्छन्।’

यस्तो अवस्था काठमाडौं ५ मा मात्र होइन, देशभरि नै छ। राजनीतिक दल, दलका र स्वतन्त्र उम्मेदवार विभिन्न आश्वासन र नारासहित प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारमा जुटे पनि आम जनतालाई त्यसले छोएको छैन। आश्वासनका अनगिन्ती पोकाहरूलाई आकर्षक ढंगबाट दलहरूले आफ्ना उम्मेदवार र नेताकार्यकर्तामार्फत मात्र होइन, सञ्चारमाध्यमबाट पनि जनतामाझ पुर्‍याएका छन्। तर जनताले त्यसमा विश्वास गरेका छैनन्। दलहरूले निर्वाचनको मुखमा सार्वजनिक गरेका वाचा (घोषणापत्र) पूरा हुने विश्वास पनि जनताले गरेका छैनन्।  

राजनीतिक दल र तिनका उम्मेदवारले जनतामा भरोसा र आशा जगाउन नसक्दा चुनाव आउन केही दिन बाँकी रहँदा पनि रौनक आउन नसकेको बुटवल स्थायी घर भई हाल ललितपुर बस्ने नारायण पौडेल बताउँछन्। उम्मेदवार, दलका नेताकार्यकर्ता, उम्मेदवारका सहयोगी तथा निकटहरू र निर्वाचन आयोगबाहेक अरूलाई चुनावले अझै नछोएको उनको भनाइ छ। फार्मेसीमा कार्यरत पौडेलले भने, ‘उम्मेदवारलाई जितेर सांसद बन्नु छ, दलका नेताकार्यकर्तालाई आफ्ना मान्छे बनाउनु छ, निर्वाचन आयोगलाई चुनाव गराउनु छ र त्यसबापत केही कमाउनु पनि छ। अरूलाई चुनावको खास मतलब भएजस्तो अहिलेसम्म देखिँदैन।’

पाँच वर्षअघि पनि पूरा नहुने आश्वासन र सपनाहरू जनतामाझ राखेर विजयी भएका राजनीतिक दलका कतिपय नेताहरू फेरि त्यस्तै आश्वासनका पोका लिएर गाउँघर पुगेका छन्। हिजो गरेका वाचा मतदाताले मतपत्र बाकसमा खसाएसँगै दलहरूले भुलिदिएका छन्। नेताहरूले आफ्नो र दलीय स्वार्थमा मात्र समय बिताउँदा आम जनतामा राजनीति आफ्नो र मुलुकको विकासमा हुन्छ भन्ने भरोसा टुट्न पुगेको हो। ‘संविधान बनेपछि सबै अस्थिरता सकिन्छ र मुलुकको विकास हुन्छ भन्थे तर होइन रहेछ,’ गाईघाट स्थायी घर भएकी सुजाता सुवेदी भन्छिन्, ‘नेताहरूको जीवनस्तरमा त परिवर्तन आयो तर जनताको जीवनमा केही सुधार भएन।’ नेताहरूमा देश र जनताको पक्षमा काम गर्ने तत्परता नभएका कारण विकास हुन नसकेको काठमाडौंमा अध्यनरत सुवेदीको बुझाइ छ।  

मुलुकमा राणा शासन हुँदा त्यसको अन्त्यपछि देशको विकास हुन्छ भनियो। पञ्चायतका बेला प्रजातन्त्र आएपछि केही हुन्छ भनियो। प्रजातन्त्र आएपछि माओवादी हिंसा अन्त्य भएपछि स्थिरता हुन्छ भन्ने आशा देखाइयो। माओवादी शान्तिप्रक्रियामा आयो। त्यसपछि संविधानसभाबाट संविधान जारी गरेपछि देश र जनताको सबै अवस्था ठीक हुन्छ भनियो। संविधान पनि लेखियो। फेरि राजनीतिक स्थिरताका लागि बहुमत चाहिन्छ भनेर दलहरूले बहुमतका लागि भन्दै भोट मागे। टोखाका ७६ वर्षीय सानुबाबु महर्जनले भने, ‘अघिल्लोपटक जनताले बहुमत दिए तर आफूआफू झगडा गरेर सके, जनता र देशलाई के गरे त ?’ मंसिर ४ मा हुने चुनावमा भोट हाल्न जाने बताउँदै महर्जनले उम्मेदवारहरूले दिएका विभिन्न आश्वासनप्रति आफूलाई कुनै विश्वास नभएको सुनाए। उनले भने, ‘कसैले केही गर्ने त होइनन् तर भोट हाल्न भने जान्छु।’ भोट हाल्नु भनेको आफ्नो अधिकार प्रयोग गर्नु भएको उनले बताए। महर्जनजस्तो धेरैलाई राजनीतिक दल, तिनका उम्मेदवार मात्र होइन, स्वतन्त्र उम्मेदवारप्रति पनि विश्वास छैन। तर पनि मतदाता मताधिकार प्रयोग गर्ने पक्षमा देखिएका छन्। ‘चुनावमा गाउँ, टोलभरिका मान्छे नेतालाई जिताउन कति अघिपछि लाग्थे, अहिले कोही जनता अघिपछि लागेको देख्नुभएको छ ?’ उपचारका लागि वीर अस्पतालमा आएका दोलालघाटका सीताराम गौतमले भने, ‘उम्मेदवार र कार्यकर्ता मात्र हिँडेका छन्, जनता खेती लगाउन र थन्क्याउनमै लागिपरेका छन्। जनतालाई पहिलाजस्तो मतलब छैन अहिले।’

नेताहरूले राजनीतिलाई देश बनाउने र जनताको सेवा गर्नेभन्दा कमाइ खाने भाँडो बनाएको गौतमको बुझाइ छ। देशमा राणा, राजा फालेर गणतन्त्र आए पनि जनताको जीवनमा कुनै परिवर्तन नआएको गुनासो गर्दै गौतमले भने, ‘नेताको जीवन फेरियो जनताको उस्तै। हिजो पनि आफ्नो पैसा तिरेर औषधि किन्न लाइनमै बस्नुपथ्र्यो, अहिले पनि अवस्था त्यस्तै छ।’ हुने र गर्न सक्ने काम मात्र गर्छु भन्यो भने जनताले धेरै आशा र अपेक्षा गर्दैनन् भन्दै उनले भने, ‘भोटका लागि चन्द्रमा पनि यहीं ल्याइदिन्छु भन्छन्। नेताले पूरा नहुने कुरा गरेपछि कसरी विश्वास गर्ने ?’

मुलुकमा स्वतन्त्रता र प्रजातन्त्रका लागि मृत्युवरणका लागि तयार भएका नेताहरूले सत्तामा पुगेर जनताको पक्षमा केही काम गर्न नसकेको अनुभूति सुनाउँदै डिल्लीबजारमा व्यवसाय गर्दै आएका सिरहाका समीर यादव राजनीतिलाई पेसा बनाउनेबाट परिवर्तन र सुधारको अपेक्षा गर्न नसकिने बताउँछन्। राजनीति सामाजिक कामका लागि नभएर सत्ता, शक्ति र छिटो आर्थिक उपार्जनको माध्यम बन्न थालेको बताउँदै यादवले भने, ‘त्यसैले जनतामा राजनीतिक दलका नेताप्रति कुनै आशा नै छैन, नेता हाम्रा लागि हुन् भन्ने छैन।’ राजनीतिमा आशा र विश्वास नभए पनि सत्ता र शक्तिका लागि नयाँ दल खोल्ने र अन्य पेसा छाडेर त्यतै लाग्ने प्रचलन बढेको यादवको बुझाइ छ। ‘आफूलाई भने दिनभरि पसल गरेर साँझ एक हजार जोगाउन मुस्किल छ,’ उनले भने।

कांग्रेस महामन्त्री एवं काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापाले जनतामा निराशा रहेको स्विकारे। कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै थापाले भने, ‘बहुमत प्राप्त सरकार हामीले मुलुकको अर्थतन्त्रसहित जनताको जीवनस्तर सुधार गरी अघि बढ्न नसके जनतामा आक्रोश पैदा हुन्छ।’

प्रकाशित: २६ कार्तिक २०७९ ००:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App