५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीहरुमाथि डोजर चलाउँछौंः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन्।

शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका हुन्।

उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताए। उनले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने बताए।

अध्यक्ष लिङदेनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे। उनले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे। आफूले पाँच वर्ष संसदमा खेलेको भुमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उनले आग्रह गरे।

उनले भने ‘बालेनले काठमाडौंको अवैध संरचनाहरुमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिहरुमाथि डोजर चलाउने इच्छा छ। हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर। फागुनसम्म अस्तिका सबै सांसदहरुले तलवभत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए। 

एउटा राजेन्द्र लिङदेन मैले भने अनुचित मात्रै होइन घोर अनैतिक काम भयो। यो भन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन। म आज संसदमा एक्लै छु मैले तपाईहरुलाई रोक्न सक्दिनँ। तर मलाई यो भत्ता, तलव खाने मन छैन। आजबाट यो सांसद पद पनि मैले त्यागे। 

आजबाट मेरो नाममा कुनै प्रकारको तलव, भत्ता नहाल्दिनु। मैले तपाईहरुलाई एक्लो भएकाले रोक्न सक्दिनँ। चुनाव आउँदैछ। म जनताको बीचमा गएर आगामी दिनमा यस प्रकारका अनुचित, अनैतिक र देश बिरोधी क्रियाकलापहरु रोक्नसक्ने तागतका साथ साथीहरु लिएर आउँछु भनेर हिडेको छु। फिर्ता लिएछन् पछि। राज्यकोषको २ अर्ब पैसा बच्यो भनेर पत्रकार साथीहरुले भनिराख्नुभएको छ। आज म देशभर आम मतदातासँग यही कुरा भन्न आएको छु यो संसदमा मलाई साथीहरु चाहियो। म एक्लै भएँ। म साथी माग्न आएको छु। तपाईहरुले मलाई पाँच वर्ष हेर्नुभयो। मैले पाँच वर्ष गरेको काम, त्यहाँ मैले उठाएको आवाजहरु तपाईलाई ठिक लागेको छ कि छैन ? मैले ठिक गरेको छु भन्ने तपाईले ठान्नुभएको छ भने मैले देशलाई भनिराखेको छु, म एक्लो भएँ। म साथीहरु मागिरहेको छु साथीहरु दिनुस्।’

अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरीपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे। उनले काँग्रेस र कम्युनिष्ट मतदाताहरुलाई आफ्नो पार्टी नछाडेपनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे। उनले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताए। उनले बाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

उनले भने ‘कतिचोटी तपाईले उसलाई भोट दियो भने, कति वर्ष मौका दियो भने यो देश बन्छ ? बन्नेवाला छैन। गर्नेवाला छैन भन्ने कुरा तपाईहरुलाई थाहा छ, थाहा पाइ पाइकन देशको भविष्य, देशको समय बर्बाद गर्ने काममा सहभागि नहुनुहोस्। सक्नुहुन्छ, सोझै राप्रपामा आउनुहोस्। राप्रपामा अहिले आउन सक्नुहुन्न, कोही बात छैन। काँग्रेस, कम्युनिष्ट नै भइराख्नुस्। तर यो चोटी हलोमा भोट हाल्नुस्। धरान र काठमाडौं नेपालको राजनीतिमा एक कदम अगाडी बढिसकेको छ। यहाँको चेतनास्तर उठेको छ भन्ने देखिएको छ। नेताहरु, ठूला पार्टीहरु हामीबाहेक यहाँ कसले जित्छ भन्दैथिए। तर जब बाकस खोलियो, जनताको अभिमत के रहेछ भन्नेकुरा देखियो। योचोटी राप्रपाको पक्षमा त्यही परिणाम आउनुपर्छ। बाकस खोल्दामात्रै थाहा पाउनेगरी यो चोटी हलोमा मतदान गरिदिनुस्।’

उनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताए। ठूला राजनीतिक दलहरुको विकल्पको रुपमा राप्रपा रहेको उनको भनाई छ।

प्रकाशित: २५ कार्तिक २०७९ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App