नेपालमा अहिले पनि सुत्केरीपछि धेरै आमाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखाले जनाएको छ। प्रति एक लाख जीवित जन्ममध्ये औसतमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पछिल्लो तथ्यांक छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०७८ को तथ्यांकअनुसार कुल आमाको मृत्युमध्येमा ६१ प्रतिशतको प्रसूतिपछि ज्यान जाने गरेको छ। त्यसमध्येमा ९२ प्रतिशतको सुत्केरीपछिको रक्तश्रावका कारणले, दुई प्रतिशतको सुत्केरीकै क्रममा र ६ प्रतिशतको सुत्केरीपछि आत्महत्याका कारणले ज्यान गएको तथ्यांक छ।
परिवार कल्याण कल्याण महाशाखाको आमा सुरक्षा शाखाका अनुसार सुत्केरीपछि हेरचाहको कमीका कारण रक्तश्राव भई मृत्यु हुने दर बढी भएको हो। प्रसूतिपछिको ४२ दिनभित्र सुत्केरीको राम्रो हेरचाह नहुँदा र विभिन्न स्वास्थ्य समस्या आउँदा समयमै व्यवस्थापन नभएका कारण रक्तश्राव हुन गई धेरैको मृत्यु हुने गरेको आमा सुरक्षा शाखाकी प्रमुख डा. गौरी प्रधान श्रेष्ठले बताइन्।
डा. श्रेष्ठका अनुसार सुत्केरीपछि ४८ घण्टा स्वास्थ्य संस्थामा नराखी घर लैजानु, संक्रमण हुनु, हेरचाह नपुग्नुजस्ता कारणले रक्तश्राव बढी हुन्छ। ‘सुत्केरीपछि कम्तीमा २४ घण्टा स्वास्थ्य संस्थामै राख्नुपर्छ, कतिले त्योभन्दा पहिला नै घर लैजान्छन्’, उनले भनिन्। सुत्केरी भएको ४२ दिनभित्र कुनै पनि बेला रक्तश्राव हुने सम्भावना भएकाले यो अवधिमा विशेष हेरचाह आवश्यक हुन्छ। यो अवधिमा कुनै कारणवश रक्तश्राव भइहालेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। रक्तश्राव भएपछि बेलैमा स्वास्थ्य संस्थामा नपुग्ने चलनले पनि मृत्यु हुने गरेको उनी बताउँछिन्।
कतिपय समुदायमा सुत्केरीलाई अरुले छुन नहुने र अलग्गै राख्ने चलनका कारण पनि सुत्केरीमा संक्रमण भई रक्तश्राव हुने गरेको डा. श्रेष्ठ बताउँछिन्। कसैले नछुँदा सुत्केरीले आफू र बच्चाको हेरचाह गर्न नसक्दा फोहोरले संक्रमण निम्त्याउँछ। ‘संक्रमणले सुत्केरीको पाठेघरमा घाउ हुन गई रक्तश्राव हुन्छ’, उनले भनिन्, ‘पश्चिम र तराईका कतिपय समुदायमा अहिले पनि सुत्केरीलाई छुनु हुँदैन भन्ने मान्यताले संक्रमण भएको छ ।’ तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी प्रति एक लाखमा दुई सय सात ९२५ प्रतिशत० जना सुत्केरी आमाको मृत्यु हुने गरेको छ। त्यस्तै कर्णालीमा एक सय ७२ ९९ प्रतिशत० जना र गण्डकी प्रदेशमा एक सय ६१ जना सुत्केरी आमाको मृत्यु हुने गरेको तथ्यांक छ। शिक्षितको तुलनामा अशिक्षित र शिक्षाको तहअनुसार प्रसूतिपछि आमाको मृत्यु हुने अनुपात फरक रहेको डा. श्रेष्ठ बताउँछिन्। तथ्यांकअनुसार मृत्यु हुने ३८ प्रतिशत सुत्केरी आमा नपढेको समूहका छन्।
स्नातक तह माथिको शिक्षा लिएका गर्भवतीमा एक सय प्रतिशतले नै स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउने र प्रसूति सेवा लिने गरेको पाइएको छ। नपढेका महिलामा यो दर न्यून रहेको डा. श्रेष्ठ बताउँछिन्। नेपालले दिगो विकास लक्ष्य अर्थात् सन् २०३० सम्म मातृ मृत्युदर प्रतिलाखमा ७० मा झार्ने लक्ष्य लिएको भए पनि पछिल्लो तथ्यांकले यसमा चुनौती थपिएको उनले बताइन्। ‘अहिलेको स्थितिमा सुधार हुन सकेन भने हामी लक्ष्यमा पुग्न सक्दैनौं’, उनले भनिन्।
सुत्केरी आमाको मृत्युमा कमी ल्याउन स्वास्थ्य संस्था र सेवा सुधारमामा थप कार्यक्रम सुरु गरेको आमा सुरक्षा शाखाले जानकारी दिएको छ। प्रसूतिपछि हुने रक्तश्रावको जटिलताबाट सुत्केरीलाई बचाउन प्रसूति केन्द्रमा ‘एन्टिसक गार्मेन्ट डिभाइस’ राखिएको छ। जुन डिभाइस प्रसूतिपछि पाठेघरमा राख्दा त्यसले रक्तश्राव हुन दिँदैन। यो डिभाइस राखेर प्राथमिक स्वास्थ्य केन्द्रबाट माथिल्लो तहको स्वास्थ्य संस्थामा पुग्ने अवधिभर सहज हुन्छ। त्यसपछि माथिल्लो तहमा रक्तश्रावको कारण पत्ता लगाई सोहीअनुसार उपचार गर्न सकिन्छ। प्रसूतिपछि मानसिक समस्याका कारण हुने आत्महत्याका घटनामा कमी ल्याउन यसै वर्षदेखि प्रसूति गराउने अस्पतालमा मानसिक स्वास्थ्य सेवा पनि सुरु गरिएको शाखाले जनाएको छ। यो कार्यक्रम विस्तारै देशभरि विस्तार गर्ने लक्ष्य रहेको डा. श्रेष्ठले जानकारी दिइन्। प्रसूतिपछि आमा र शिशुको सफाइ, आराम र पौस्टिक खानामा ध्यान दिनुपर्ने श्रेष्ठले बताइन्।
प्रकाशित: ५ पुस २०८१ ०६:४५ शुक्रबार