१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

त्रिपक्षीय प्रतिस्पर्धा

कमल थापा र महालक्ष्मी उपाध्याय डिना,दीपक सिंह।

चार दशकसम्म कमल थापाको राजनीतिक सहयोगी थिए, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक सिंह। तर २०७८ फागुनबाट सिंह र कमल थापाको बाटो अलग बन्न पुग्यो। राप्रपा अध्यक्षमा पराजित भएपछि थापा राप्रपा नेपाल ब्युँताउन लागे भने सिंह आफ्नै बाटोमा हिँडिरहे। पहिला एकअर्काका सहयोगी थापा र सिंह अहिले मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।  

थापा र सिंह मात्र होइन, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छिन्। राप्रपा नेपालका अध्यक्ष थापा एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उम्मेदवार बनेका छन्। यसैकारण उनलाई एमालेको साथ छ। कांग्रेसबाट उम्मेदवार बनेकी सहमहामन्त्री उपाध्यायलाई सत्ता गठबन्धन दलको साथ छ। सिंह राप्रपाबाट उम्मेदवार बनेका हुन्।

सत्ता राजनीतिमा चतुर थापाले एमालेले रामेश्वर रानालाई दिइसकेको टिकट फिर्ता गराएर उम्मेदवारी दिएका हुन्। यिनै थापा २०७४ सालको चुनावमा कांग्रेसका इन्द्रबहादुर बानियाँलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउन लगाएर कांग्रेसकै समर्थनमा चुनाव लडेका थिए। २०४८ सालदेखि २०७० बाहेकका सबै निर्वाचनमा थापाले प्रतिस्पर्धा गरेका छन्। २०४८ सालमा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी २०७० मा समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए।  

कांग्रेसकी उपाध्याय २०७४ सालमा प्रत्यक्षबाट चुनाव लडिन्। तर उनी वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका विरोध खतिवडासँग पराजित भइन्। २०६४ र २०७० सालमा समानुपातिक कोटामा संविधानसभा सदस्य बनेकी उनी २०५१ र २०५६ सालका निर्वाचनमा भने उम्मेदवार बनिनन्।  

निर्वाचन प्रतिस्पर्धामा उत्रिए पनि राप्रपाका सिंह अहिलेसम्म जनअनुमोदित हुन सकेका छैनन्। २०५४ सालमा पहिलोपटक हेटौंडाको मेयरका लागि उम्मेदवार बनेका सिंह एमालेका डोरमणि पौडेलसँग पराजित भए। उनी २०५६ सालमा एमालेका खतिवडा र २०७० सालमा एमालेकै अनन्तप्रसाद पौडेलसँग पराजित भए। गत वैशाख ३० गते भएको स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा पराजित सिंह अहिले प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। प्रतिनिधिसभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचनमा यिनै तीन नेताबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

सूर्य चिह्न लिएर चुनावमा उठेका थापालाई यसपटक पनि हारबाट जोगिन त्यति सहज भने देखिँदैन। थापाका ‘खास मान्छे’का रूपमा चिनिएका सिंहले उनको साथ छोड्दै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट प्रतिस्पर्धा गर्दैछन्। थापाकै मान्छे भएर वर्षौं काम गरेका मधु अधिकारी नेकपा एकीकृत समाजवादी (नेकपा एस) तर्फ र खिलप्रसाद चौलागाईं एमालेतर्फ लागेका छन्। पार्टीको आन्तरिक निर्वाचनमा हार्नेबित्तिकै पूर्वराजा र दरबारलाई दोष देखाउँदै थापाले राप्रपा नेपाल ब्युँताएका थिए। यो कदमबाट थापाका आफ्ना भनिएका मानिस पनि असन्तुष्ट छन्। सूर्य चिह्नमा उम्मेदवार बनेका थापालाई एमालेका नेताकार्यकर्ता रिझाउनुपर्ने र राप्रपा नेपालका नेताकार्यकर्तालाई सूर्य चिह्नमा मतदान गर्न फकाउनुपर्ने अवस्था आइलागेको छ।  

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणाम हेर्दा एमालेको समर्थनमा उम्मेदवार बनेका थापालाई चुनाव जित्न मुस्किल पर्ने देखिन्छ। स्थानीय तह निर्वाचनमा जिल्लाको कुनै पनि स्थानमा उम्मेदवार नउठाएर राप्रपा नेपालले एमालेलाई सहयोग गरेको थियो। थापाले स्थानीय चुनावमा एमालेलाई सहयोग गर्ने आश्वासन दिए पनि उनको पार्टीका कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई मत दिएको आरोप त्यतिबेलै लागेको थियो।  

स्थानीय तह निर्वाचनमा मकवानपुरका १० वटा पालिकामध्ये ८ वटाको नेतृत्वमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। स्थानीय तह निर्वाचनमा उम्मेदवारी नै नदिएको राप्रपा नेपालको पक्षमा कति मत छ भन्न सकिने अवस्था छैन। मकवानपुर १ मा चारवटा पालिकाका ४० वटा वडा पर्छन्। हेटौंडाका १५ वटा वडा, मकवानपुरगढीका चारवटा वडा, बकैया गाउँपालिकाका १२ वटा वडा र वाग्मतीका नौवटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन्। ४० वटा वडामध्ये १४ वटा वडामा एमालेका वडाध्यक्ष विजयी भएका छन्। यो क्षेत्रमा पर्ने चारवटै पालिकामा एमालेका प्रमुख उपप्रमुख विजयी भएका छैनन्। यस निर्वाचन क्षेत्रमा १ लाख ५० हजार १५५ मतदाता छन्।

उपाध्यायलाई कांग्रेसकै डर

पछिल्लो समय नेपाली कांग्रेस मकवानपुरमा संस्थापन पक्षबीच नै फाटो देखिन्छ। कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको बीचमा खटपट रहेको नेताहरूको भनाइ छ। मकवानपुर १ (ख) बाट प्रदेशसभा सदस्यका लागि कांग्रेसका आनन्दराम पराजुली उम्मेदवार छन्। उनलाई उपाध्यायकै जोडबलमा उम्मेदवार बनाइएको चर्चा छ। तर कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले भने कांग्रेस जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाउन चाहेका थिए। कांग्रेसको १४औं महाधिवेशनका क्रममा जिल्ला सभापतिमा कसैले पनि स्पष्ट बहुमत नल्याएपछि पराजुली र लामाबीच दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अवस्था आएको थियो। तर पराजुलीले दोस्रो चरणको चुनावमा लामालाई सभापतिमा सघाएका थिए। २०७४को स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदमा झिनो मतले पराजित पराजुली यस क्षेत्रका लोकप्रिय नेतामध्येमा पर्छन्।  

पछिल्लो स्थानीय तह निर्वाचनमा पराजुली हेटौंडा उपमहानगरपालिकाको मेयर पदको दाबेदार रहेका थिए। भागबन्डामा हेटौंडाको मेयर नेकपा एसको भागमा परेपछि पराजुलीले आफ्नो दाबी छाडेका थिए। त्यसपछि उनी गठबन्धनबाट नेकपा एसका उम्मेदवारलाई मेयरमा जिताउन लागेका थिए।

कांग्रेस हेटौंडा उपमहानगर समितिले शनिबार हेटौंडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रदेश सभापति बानियाँ विशिष्ट अतिथि रहने भनिएको थियो। तर उनी कार्यक्रममा उपस्थित भएनन्। उनी मात्रै होइन, जिल्ला सभापति लामा, उपसभापति, सचिव, सहसचिवलगायतका नेताहरू कार्यक्रममा नआउनुले कांग्रेसमा असन्तुष्टि रहेको चर्चा सुरु भएको छ।  

धेरै नेताकार्यकर्ताले आन्तरिक लडाइँ र प्रतिशोधका कारण नेताहरू कार्यक्रममा सहभागी नभएको आंकलन गरेका छन्। तर प्रदेश सभापति बानियाँले भने अर्को कार्यक्रममा व्यस्त भएकाले उपस्थित हुन नसकेको प्रतिक्रिया दिएका छन्। पार्टीको आन्तरिक निर्वाचनको विषयलाई लिएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसकै केही नेताले आफ्नै उम्मेदवारलाई धोका दिनसक्ने अड्कलबाजी पनि भैरहेको छ। एमालेका उम्मेदवारले समेत कांग्रेसमा आन्तरिक विवाद रहेकाले आफूहरूको जित सुनिश्चित रहेको भाषण गर्दै आएका छन्।

एमाले नेताकार्यकर्ता फकाउँदै थापा

जिल्लामा बलियो शक्तिका रुपमा रहेकोे एमालेको समर्थन र चिह्नमा उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले निर्वाचन जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ। वर्षांैदेखि एमालेसँग चुनावमा पराजित हुँदै आएका उनलाई अहिले एमाले नेतृत्वले समर्थन गरे पनि कार्यकर्ता भने असन्तुष्ट छन्। थापाको चुनावी अभियानमा एमालेका कार्यकर्ता खुलेर हिँडेको देखिँदैन। थापालाई एमालेका रुष्ट कार्यकर्तालाई फकाउनुपर्ने र आफ्नै दलका कार्यकर्तालाई एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न लगाउनुपर्ने बाध्यता छ। थापाका धेरै नेताकार्यकर्ता राप्रपामा गएका छन्।

थापाले हेटौंडामा भएका हरेक कार्यक्रममा सूर्य चिह्नमा निर्वाचन लड्न पाउनु गर्वको विषय भएको बताउँदै आएका छन्। यसपटक जित्नैपर्ने भएकाले एमालेको चुनाव चिह्न लिएर चुनावमा उठेको उनले बताउने गरेका छन्। थापाले सूर्य चिह्नबाट निर्वाचित भएपछि एमाले संसदीय दलको ह्विप स्विकार्नुपर्ने भएकाले राप्रपा नेपालका कार्यकर्तामा पनि उत्साह देखिएको छैन।

आआफ्नै दाबी

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उपाध्याय र एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाबीचमै मुख्य प्रतिस्पर्धा हुने आकलन छ। दुवै नेताले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन्। ‘बाहिर विरोधीले हल्ला गरेजस्तो कांग्रेस मकवानपुरमा कुनै विवाद छैन। गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छ। मकवानपुरलाई नै भूगोल बनाएर यहाँको जनताको सुखदुःखमा वर्षौंदेखि साथ रहँदै आएको र गठबन्धनप्रति इमानदार भएकाले मेरो जित सुनिश्चित छ’, उपाध्ययाले भनिन्, ‘मकवानपुरको पूर्वी भेगमा माओवादीको पनि राम्रो स्थान छ, कांग्रेसको पनि राम्रो छ, गठबन्धनमा रहेका दलका नेताकार्यकर्ता पनि इमानदार भएर चुनावमा लागेका छन्।’ समानुपातिकतर्फ १ नम्बरमै पाएको टिकट छोडेर प्रत्यक्ष निर्वाचन लड्न आएको बताउँदै उनले यसपटक आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन्।

राप्रपा नेपाल अध्यक्ष थापाले गाउँसम्म बलियो संगठन रहेको एमालेको समर्थन रहेको र पूर्वी क्षेत्रमा आफ्नो पार्टीको पनि राम्रो अवस्था रहेकाले जित्नेमा ढुक्क रहेको बताएका छन्। ‘प्रदेशको राजधानी हेटौंडा बनाउन मैलै भूमिका खेलेको छु। मकवानपुरको समग्र विकासमा वर्षाैंदेखि योगदान दिँदै आएको छु। यसर्थ यसपटक जित्नेमा म विश्वस्त छु’, थापा भन्छन्, ‘जिल्लावासीले एकपटक जिताएर मकवानपुरसहित मुलुककै विकासका लागि काम गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास छ।’ असन्तुष्टि जनाउँदै आएका एमालेका नेताकार्यकर्तासँग पनि छलफल भैरहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्।

राप्रपाका उम्मेदवार सिंहले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले जित्ने दाबी गरेका छन्। स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका प्रत्यासी सिंहले राम्रो मत पाएका थिए। स्थानीय निर्वाचनमा हार भए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित्ने उनको दाबी छ।

प्रकाशित: २४ कार्तिक २०७९ ००:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App