२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशलाई उल्टो गतितर्फ लैजान ओलीले थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्ः महत

नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ को चुनावपछि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

नेपाली काँग्रेस खेलकुद समन्वय प्रचारप्रसार उपसमितिको कार्यक्रममा सहभागी हुन हेटौंडा आएको सन्दर्भमा नेपाल प्रेस युनियन मकवानपुरले गरेको पत्रकार सम्मेलनमा उनले चुनावपछिको सरकारको विषयमा कतै निर्णय नभएको तर कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्।  

‘यही संविधान मान्नेहरुलाई रोज्नेकी संविधान मास्न खोज्नेहरुलाई मान्ने भन्ने विषयमा जनतामा स्पष्ट रोजाइ हुनेछ’, महतले भने, ‘सु स्पष्ट फराकिलो बहुमतका साथ जित्छौं। ज्यादा ठाउँमा पार्टी र गठबन्धनको पक्षमा परिणाम ल्याउने गरी लागेका छौं। कतै निर्णय त भएको छैन, तर सरकारमा नेतृत्व काँग्रेसकै हुनेछ।’

अन्य दललाई समेत जोडेर संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन बनेको उल्लेख गर्दै उनले केपी शर्मा ओलीको नेतृत्वमा पनि गठबन्धन बनेको तर त्यो सहिष्णुताको नभएको उनले बताए।

‘पाँच वर्षको लागि पाएको म्यान्डेट पूरा गर्न नसक्ने, एउटै दल तीन टुक्रा बनाउने, संविधान र लोकतन्त्रमाथि प्रहार गर्नेहरुले पनि अहिले गठबन्धन गरेका छन्। त्यो केबल सत्ता हत्याउनका लागि मात्रै हो’, प्रवक्ता महतले थपे, ‘देशलाई उल्टो गतितर्फ लैजान ओलीले पनि थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्। एमालेका उम्मेदवारलाई रेल, पानी जहाज, घरघरमा ग्याँस लगायतको कुरा सोध्न मतदातालाई अनुरोध गर्दछु।’

सत्तारुढ गठबन्धनको विजयले संविधानको बाटोमा अघि बढ्दै स्थिरता, विकास एवम् समृद्धिको नयाँ अभियान सुरु हुने उनले दाबी गरे। समृद्धिको नयाँ पहुँचमा जनतालाई पुर्‍याउने महतका भनाइ थियो। मुलुक मिश्रित निर्वाचन प्रणालीमा रहेकोले पनि लय मिल्ने दलसँग गठबन्धन गरेको उनले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०७९ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App