४ वैशाख २०८१ मंगलबार
राजनीति

मतदाता लोभ्याउन उम्मेदवारको भोजभतेर

मतदाता प्रभावित पार्न धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र  नं. ३ का उम्मेदवार जुली महतो भोज भतेर गर्न थालेकी छन्। उनले जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरामा मतदातालाई प्रभावित गर्न भोजको आयोजना गरेको पाइएको हाे।

नेकपा एमाले–जसपाका साझा उम्मेदवार रहेकी महतो जटही–जनकपुरधाम ६ लेन सडक खण्डमा सडक अवरुद्ध गरी भोजको आयोजना गरेकी थिइन। मतदातालाई भोज खुवाउन सडककै छेउमा पण्डाल बनाइएको थियो। पण्डालमा महतो र प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र यादवको फोटोसहितको ब्यानर पनि लगाइएको थियो।

महतो र यादव चढ्ने सवारीसहित कयौं सवारी त्यही पार्किङ गरिएको थियो। सवारी र पण्डालमा एमाले–जसपाको झण्डा र चुनाव चिह्न अंकित सामग्रीहरु पनि राखिएको थियो। सोही दिन उनी सो गाउँको मुस्लिम टोलमा घरदैलो कार्यक्रम पनि गरेकी थिइन्।

आचारसंहिता विपरीत प्रचारप्रसार गरेको भन्दै निर्वाचन आयोगले केही दिनअघि महतोलाई स्पष्टीकरण सोधेको थियो भने निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कयौं सवारी साधन नियन्त्रणमा पनि लिएको थियो। यद्यपि सचेत गराएर सवारीसाधनहरु छोडिएको छ।

यस विषयमा मुख्य निर्वाचन अधिकृत श्रीधर पन्थीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग छलफल गरी अन्य प्रकृया अगाडि बढाइने बताए। 'मतदातालाई प्रलोभनमा पार्ने हिसाबले कुनै पनि गतिविधि उम्मेदवारले गर्न पाउँदैनन्,' उनले भने,'यदि त्यस्तो गरेको छ भने सिडियो साहेवलाई जानकारी गराइदिनुस् हामी छलफल गर्छौं।'

कार्तिक १५ नेकपा एमालेको कार्याकर्ताबीच भोजभतेरको विषयमा विवाद समेत भएको थियो। गत स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको-१५ वटा वडामा वडाध्यक्ष पदमा उम्मेदवारहरु भेला भएको थियो। सो चुनावी छलफलमा खानपिनको समेत व्यवस्था थियो।

खानेक्रममा मासु कम दिएको विषयमा विवाद हुँदा वडा नम्बर-८ का वडाध्यक्ष दिनेश सिंह र वडा नम्बर-१ का एमालेका वडाध्यक्ष पदका उम्मेदवार रहेका लव अधिकारीले एमालेबाटै निर्वाचित वडानम्बर ५ का वडाध्यक्ष बेचन साहलाई कुटपिट गरेका थिए।

प्रकाशित: २२ कार्तिक २०७९ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App