१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा भुसाललाई गठबन्धनको बल, रायमाझीलाई ‘पपुलर’ भोटको आश

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहँदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका हुन्।

२०७४ सालको निर्वाचनमा एमालेसँगको तालमेलमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रायमाझी र काँग्रेसबाट समानुपातिक सांसद बनेकी भुसाल पहिलो पटक संघको निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट रायमाझी र क्षेत्र नम्बर २ बाट भुसाल निर्वाचित भएका थिए।

रायमाझीले त्यस यताका सबै निर्वाचन जित्दै आएका छन् भने भुसालले २०७० सालको निर्वाचनमा नेकपा एमालेका दुमन थापासँग हार व्यहोरेकी थिइन्। २०७४ सालमा भुसाल प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिकमा बसेकी थिइन्। संघ र प्रदेश निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेकी भुसाल र एमालेका उम्मेदवार रायमाझीबीच प्रतिस्पर्धा हुने देखिएको छ।

गठबन्धनकी उम्मेदवार भुसालले हालसम्म प्राप्त उपलब्धीको रक्षा गर्न सकेमात्र आगामी भविष्य निर्धारण हुने भएकोले संविधान जोगाउँदै देशलाई आर्थिक रुपान्तरणको बाटोमा लैजान सकिने बताइन्। उपसभामुख सम्म बनेकी भुसालका सन्दर्भमा संविधान बनाउन भूमिका खेलेको भएपनि विकासमा खासै चाँसो नदिएको आरोप लाग्दै आएको छ।

तीन पटकसम्म प्रतिनिधिसभामा निर्वाचित रायमाझी नेकपा (माओवादी केन्द्र) बाट २०६४, २०७० र २०७४ सालको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा गठबन्धनबाट निर्वाचित भएका थिए। नेकपा विघटन हुँदा माओवादी छोडेर ओली कित्तामा उभिएका रायमाझी अहिले नेकपा एमालेमा छन्।

रायमाझीले पुराना अधुरा काम पूरा गर्न तथा एमालेसँग मात्र राष्ट्र बनाउने भिजन भएकाले आफ्नो जित आवश्यक भएको बताउँदै आएका छन्। नेतृत्वमा रहँदा चार पटक मन्त्री तथा उपप्रधानमन्त्री समेत भइसकेका रायमाझीले उल्लेख्य काम गर्न नसकेको गुनासो छ। भुसाल र रायमाझीका अलावा अन्य ९ जना पनि प्रतिस्पर्धामा छन्। तर, उनीहरुको प्रभाव न्यून रहेको अनुमान गरिएको छ।

संघीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खलिल मियाँ, जनता समाजवादी पार्टी नेपालका नेत्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका होम नारायण बेल्बासे, हाम्रो नेपाली पार्टीका दुर्गा बन्जाडे लगायत प्रतिस्पर्धामा छन्। अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जना, प्रदेश सभा (क) का लागि ७ र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार रहेका छन्।

मुख्य प्रतिस्पर्धी मानिएका भुसाल र रायमाझीको चुनाव लक्षित कार्यक्रमले तिव्रता पाउँदै जाँदा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ। लगातार तिन पटक निर्वाचन आफ्नो पक्षमा पारिसकेका रायमाझी चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने कसरतमा छन् भने अर्घाखाँचीबाट एक मात्र महिला उम्मेदवार रहेकी भुसाल गठबन्धनको साख जोगाउँदै रायमाझीको अपराजित यात्रालाई पूर्णविराम लगाउने दाउमा छिन्।

गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन करिब पाँच हजार ५ सय मतले अगाडि छ। तर, निर्वाचनमा चार हजार बढी मत बदर भएकोमा त्यसलाई आधा–आधा गर्दा पनि गठबन्धन सात हजार ५ सयले अघि रहेको नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले दाबी गरे।

रायमाझीले आफूलाई दश हजार भन्दा बढी ‘पपुलर’ मत खस्ने दाबी गरेका छन्। गठबन्धन मतमा अगाडि भएपनि स्थानीय तहमा आफूहरुको बहुमत रहेकाले संघीय तथा प्रदेश निर्वाचन नेकपा एमालेले जित्ने दाबी गरे।

गठबन्धनभित्र असन्तुष्टी जनाउँदै राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले उम्मेद्वारी दर्ता गराएका थिए। छलफल पछि उम्मेदवारी फिर्ता लिएर भुसाललाई समर्थन गरेपछी अहिले गठबन्धन एकजुट छ। यस अवस्थामा गठबन्धनको अवस्था बलियो देखिएको छ।

प्रकाशित: २१ कार्तिक २०७९ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App