१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिस्पर्धामा पुरानै अनुहार

नवराज सिलवाल र उदयशमशेर राणा जनतामाझ परीक्षण भइसकेका छन्। २०७४ मा अनुभवी राणालाई परीक्षण हुन बाँकी सिलवालले हराएका थिए। 

मंसिर ४ मा हुने प्रतिनिधिासभा सदस्य निर्वाचनमा ललितपुर १ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्। निर्वाचनमा मुख्य प्रतिस्पर्धा भने एमालेका तर्फबाट नवराज सिलवाल र कांग्रेस नेतृत्वको गठबन्धनबाट उदयशमशेर राणाबीच हुँदैछ।

सिलवाल र राणा २०७४ सालको निर्वाचनका पनि प्रतिस्पर्धी हुन्। २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिलवाल २६ हजार ९५१ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राणाले २० हजार ७२९ मत पाएका थिए।

अहिले अघिल्लोपटक वाम गठबन्धनबाट चुनाव लडेका सिलवाल एमालेको मात्रै बलमा र कांग्रेसको बलमा मात्र चुनाव लडेका राणा पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन्। यी दुवै उम्मेदवार जनतामाझ परीक्षण भइसकेका उम्मेदवार हुन्। अघिल्लोपटक अनुभवी राणालाई परीक्षण हुन बाँकी सिलवालले हराएका थिए। यसपटक सिलवालमाथि जितको निरन्तरता दिने चुनौती छ। राणा हारको बदला लिने दाउमा छन्।

राणा स्थानीय तह निर्वाचन परिणाम आफ्नो जितको मुख्य आधार भएको बताउँछन्। त्यसको अतिरिक्त अघिल्लो पटक जितेर संसद्मा गएका सिलवालले पाँच वर्षको अवधिमा कुनै काम नगरेकाले जनताले यसपटक आफूलाई जिताउने उनको दाबी छ। उनी आफूले निर्वाचनमा पराजय भोगे पनि निरन्तर जनतामाझ गइरहेको र उनीहरूको हितमा काम गरिरहेको बताउँछन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमालेभन्दा गठबन्धन ११ हजार मतले अघि रहेको राणा बताउँछन्। अघिल्लो निर्वाचनमा विजयी भएका एमालेका सिलवालले त्यस क्षेत्रमा कुनै काम नगरेकाले पनि जनताले यसपटक आफूलाई मत दिने राणा बताउँछन्। ‘यसअघिको निर्वाचनमा एमालेका तर्फबाट संसद् जितेका नवराज सिलवालले सिन्को भाँचेनन्। पाँच वर्षको अवधिमा ललितपुर १ मा एउटा पनि राष्ट्रिय योजना परेन। गाउँमा सडक निर्माणलगायत योजना पनि अघि बढेनन्,’ राणाले भने।

कोरोनाका बेला पनि निर्वाचित सांसदबाट स्थानीयले कुनै सहयोग नपाएको राणा बताउँछन्। बरु आफूले हारे पनि फुड बैंक सञ्चालन गरेको तर कोरोना संक्रमण बढ्ने भन्दै सांसदकै निर्देशनमा प्रहरी लगाएर फुड बैंक बन्द गराउने काम भएको राणा बताउँछन्। त्यसको जवाफ जनताले भोटमार्फत दिने उनको विश्वास छ।

‘जनताले एक पटक काम हेर्नका लागि जनप्रतिनिधि छनोट गर्छन्। एक पटक परीक्षण भइसकेपछि काम नगर्नेलाई अर्काेपटक चुनेर पठाउँदैनन्,’ उनले भने। आफू सांसद हुँदा अधिकांश समय संविधान निर्माणमा केन्द्रित भए पनि सिलवालले भन्दा विकास निर्माणका धेरै काम गरेको राणाको दाबी छ। ‘म सांसद हुँदा र यसअघि सांसद भएका सिलवालबीच तुलना गर्दा पनि छोटो अवधिमा मैले धेरै काम गरेको छु, जसको जनता प्रत्यक्ष द्रष्टा छन्,’ राणाले भने।

एमालेका उम्मेदवार सिलवाले भने सांसद भएपछिको पाँच वर्षको अवधिमा आफूले हरेक व्यक्तिसँग जोडिएर काम गरेको दाबी गर्छन्। ‘म हरेक व्यक्तिको मनलाई छुन सफल भएको छु,’ सिलवाल भन्छन्। पाँच वर्षको अवधिमा आफूले खानेपानी, बाहिरी रिङरोडको योजनादेखि अन्य महत्त्वपूर्ण सडक तथा करिडोर निर्माणका लागि पहल गर्नेदेखि भूकम्पले भत्काएका विद्यालय भवन निर्माण, पर्यटन प्रवर्द्धन तथा रोजगारी प्रवर्द्धनमा समेत महत्त्वपूर्ण काम गरेको सिलवालको दाबी छ।

नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सभाहल निर्वाचन क्षेत्र नम्बर १ मै बनाउनेदेखि कोरोनाका बेला पनि आफ्नो पहलमा ५ सयभन्दा बढीलाई प्रत्यक्ष उपचार गरेको सिलवाल बताउँछन्। ‘म जनताको भावनासँग एकाकार भएको छु। जस्तोसुकै महागठबन्धन नै भए पनि मेरो जित सुनिश्चित छ,’ उनले भने, ‘निर्वाचनमा जनता निर्णायक हुन्छन्। उनीहरूको भरोसा मसँग छ। त्यसैले मैले चुनाव जित्ने आधार र भरोसा भनेकै जनता हुन्।’

सिलवाल आफूले जनताको आगन र पिँढीमा पुगेर सुखदुःखलाई नजिकबाट हेरिरहेको बताउँछन्। उनी एकातर्फ नेकपा एमाले जस्तो शक्तिशाली र सांगठनिक रूपमा व्यवस्थित दलको झन्डामुनि रहेर निर्वाचन लड्न गइरहेको र त्यसबाहेक निर्वाचन क्षेत्र नम्बर १ मा व्यक्तिगत रूपमा पनि जनता आफूसँग नजिक रहेको बताउँछन्। आफ्ना प्रतिस्पर्धी उदयशमशेर राणाले सांसद र मन्त्री हुँदा क्षेत्र नम्बर १ मा ५० लाख रूपैयाँको एउटा योजनासमेत ल्याउन नसकेको तर आफूले पाँच वर्षको अवधिमा कायापलट गरेको सिलवालले बताए।

सिलवाल आफूले दक्षिण ललितपुरमा विकास र समृद्धिको खाका कोरिसकेको र पुनः निर्वाचित भए त्यसमा थप काम गर्ने बताउँछन्। ‘जनताका लागि म सहारा बनेको छु। त्यसैले गठबन्धनले जतिसुकै प्रयास गरे पनि जनताका अगाडि उनीहरूको केही लाग्दैन। जनताको विवेकलाई खरिद गर्न सकिँदैन,’ सिलवालले भने। उनी गठबन्धनको ज्यादतीका कारण पनि जनताले आफूलाई मत दिने बताउँछन्। ‘जनता गठबन्धनबाट आजित भएका छन्। उनीहरू यसबाट मुक्ति चाहन्छन्। त्यसैले मेरो जित सुनिश्चित छ,’ उनले भने।

ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाहेक जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेस्नलिस्ट पिपुल पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा अन्य १० जना स्वतन्त्रले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २१ कार्तिक २०७९ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App